तिलोत्तमा चक्रपथ: काम शून्य तर गृहमन्त्री खाँणद्वारा दुई पटक शिलान्यास

तिलोत्तमा चक्रपथ: काम शून्य तर गृहमन्त्री खाँणद्वारा दुई पटक शिलान्यास

बुटवलः गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले एउटै सडक दोस्रो पटक शिलान्यास गरेका छन्। तिलोत्तमा चक्रपथको सडक निर्माणको काम उनी आफैँले दोस्रो पटक शिलान्यास गरेका हुन्।

खाँणले ५ वर्षअघि अथार्त ०७३ साल असोज ८ गते तिलोत्तमा र बुटवल उपमहानगरपालिकाको सिमाना योगिकुटीलाई जिरो किलोमिटर (सुरु विन्दु) राखेर शिलान्यास गरेका थिए। तर शिलान्यासपछि काम शून्य थियो।

खाँणले त्यही सडक गत शनिबार पुनः शिलान्यास गरेका छन्। ५ वर्षअघि सडक शिलान्यास गर्दा उनी रक्षामन्त्री थिए। ५ वर्षसम्म काम केही नभएपछि खाँणले यसपटक चक्रपथका लागि बजेट परेको भन्दै ओमसतिया गाउँपालिकाको लखन थापा चोकमा पुनः शिलान्यास गरेका हुन्।

उनले यसपटक शिलान्यास गरेको सडक आगामी ८ महिनाभित्र लखन थापा चोकदेखि पश्चिम ८ सय मिटर निर्माण सम्पन्न गर्नेगरी ठेक्का भएको छ। तिलोत्तमा चक्रपथ नाम दिइएको उक्त चक्रपथ बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाको सिमाना समेत समेटेर निर्माण हुनेछ।

यता नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले भने निर्वाचनको तयारीको बेला एउटै सडक पटकपटक शिलान्यास गर्नु गृहमन्त्री खाँणको शिलान्यास मोह बाहेक केही नभएको बताए।

डिभिजन सडक कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर जयलाल मरासिनीका अनुसार दुई लेन र दायाँ–बायाँ नालीसहितको सडक निर्माणका लागि काष्ठमण्डप तिरुपती जेभी सुनवलले ठेक्का लिएको छ।

करिब एक अर्ब ८० करोड लागतमा निर्माण हुने ४९ किलोमिटर लम्बाईको उक्त सडक निर्माणका लागि यस वर्ष ६ करोड रुपैयाँ विनियोजन भएको छ। गएको माघ २७ गते ठेक्का सम्झौता भएको सडकको ८ सय मिटर मात्रै निर्माण गर्ने गरी तीन करोड ५७ लाख हाराहारीको रकम यस वर्ष खर्च हुनेछ।

बाँकी रकमबाट काम गर्नेगरी पुनः ठेक्का प्रक्रिया अगाडि बढेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।

फागुन २२, २०७८ आइतबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।