निर्देशक समाजकी अध्यक्ष रक्षाको प्रसव पीडा र खुसी : कुरा गर्दागर्दै बच्चा रोयो, कसको बच्चा भनेर सोध्दा तपाईँको पो भन्छन्
रक्षासिंह राणा फिल्म निर्देशक समाजकी अध्यक्ष हुन्। लामो समयसम्म फिल्म एडिटिङ गरेकी रक्षाले नेपाली फिल्म निर्देशनको अनुभव समेत सँगालेकी छिन्।
नेपाल प्रहरीका डिएसपी बालनरसिंह राणासँग २८ वर्षको उमेरमा विवाह गरेकी उनी दुई सन्तानकी आमा हुन्। रक्षाले आफ्ना प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गरिन् :
जन्म, विहे र मृत्यु, यी तिनै कुरा मानिसको बसमा नहुने रहेछ। त्यसैले त नचाहँदा-नचाहँदै मेरो विहे भयो।
म अलि टमब्वाई टाइपको थिएँ, फिल्म एडिटिङमा लागेको थिएँ। अहिले त केटी मान्छे फिल्म एडिटिङमा खासै छैनन्, त्यो समयमा झन् कोही थिएनन्। आफूलाई च्यालेन्ज लिन मनपर्ने। केटीले फिल्म एडिट गर्न सक्दैन भन्नेहरुका अगाडि दिनको १८ घण्टा काम गरेरै बिताइदिन्थें म।
मेरी बहिनीको विहे भइसकेको थियो। उसको प्रेम विवाह हो। उसलाई माग्न आउँदा सबैले अब्जेक्सन जनाएका थिए तर मैले ओके, विहे गर भनें।
बहिनीको दुई सन्तान जन्मेपछि मात्रै मेरो विहे भयो। केटो खोज्ने काम पनि बहिनीले नै गरेकी हुन्। केटो हेरेको एक हप्तामा नै मेरो विहे भयो।
मेरो श्रीमान प्रहरी हुनुहुन्छ। तर हाम्रो विहे हुनुभन्दा अगाडि नै उहाँले फिल्ममा अभिनय पनि गर्नुभएको थियो। शिव रेग्मीसँग नजिकको सम्बन्ध भएकाले फिल्म प्रोडक्सन हुँदै खलनायकको भूमिकामा अभिनय गर्नुभएको थियो उहाँले।
मुग्लान भन्ने फिल्मको एडिटिङ मैले नै गरेको थिएँ। त्यसको मुख्य भिलेन मेरा श्रीमान् नै हुनुहुन्थ्यो। हाम्रो सामान्य चिनजान मात्रै थियो। शिव रेग्मी दाइले डबिङको समयमा स्टुडियो आउँदा उहाँ हाम्रो भिलेन, उहाँ एडिटर भनेर हामीबीच चिनजान गराइदिनुभएको थियो। विहे गर्ने भनेर फर्मल्ली भेट भएको थिएन।
एक्कासि केटा हेर्न जाँदा मात्रै उहाँलाई चिनेको हुँ मैले। फिल्मको सिन जस्तो भयो त्यो बेला। अहिले उहाँ डिएसपी हुनुहुन्छ।
०००
विहे गरेको दुई वर्षपछि हामीले बच्चाको योजना बनायौं। श्रीमानको पोस्टिङ हेटौंडा थियो। मेरा दिज्यु र घर-परिवारले तिमी महिनावारी नभएको तीन महिना भयो हैन र? भनेर सोध्नुभयो। म त काममा व्यस्त थिएँ, महिनावारी भयो/भएन पनि याद थिएन। उहाँहरुले त्यसो भनेपछि पो हो त भन्ने भयो। अनि मेडिकलमा गएर चेक गराएँ। नभन्दै म त गर्भवती भएछु। यो कुरा श्रीमानलाई म्यासेज गरेर बताएँ।
मलाई बच्चा पेटमा आएपछि वाकवाक लाग्ने, टाउको दुख्ने, रिंगाटा लाग्ने केही भएन। त्यही भएर त महिनावारी नहुँदा समेत मैले आफू गर्भवती भएको कुरा तीन महिनापछि मात्रै थाहा पाएँ।
त्यो समयमा म त दौडेको दौड्यै। तीन ठाउँमा एडिटिङ पढाउँथे। बच्चा पेटमा आएपछि पनि दौडधुप छाडिनँ।
०००
डेलिभरीका लागि थापाथलीस्थित प्रसूति गृह जाने भइयो। अस्पताल गएपछि लगातार तीन दिनसम्म लेबर पेन भयो। नर्मल डेलिभरी गरें।
सबै जनाले अपरेसन गर्दा निको हुन गाह्रो हुन्छ. तर बच्चा निकाल्न सजिलो हुन्छ, नर्मल भयो भने बच्चा जन्माउन गाह्रो हुन्छ, जन्मने बित्तिकै नर्मल हुन्छ भनेका थिए। त्यही भएर पनि मलाई बच्चा जन्माउनुअघि नै पीडा झेलेर जन्मेपछि ज्यान सजिलो बनाउनु थियो।
तीन दिन ब्यथा लागेर जब छोरी जन्माएँ, खुसीको सीमा नै रहेन। हातमा आमाको नाम लेखेको ट्याग बाँधिदिने रहेछन् अस्पतालका नर्सहरुले। छोरीको अनुहार देख्ने बित्तिकै ज्यान चंगा भइहाल्यो। एक दिनमै अस्पतालबाट डिस्चार्ज भएँ। ह्विल चियरमा बाहिर निस्कँदा के खान्छेस् भनेर सोध्नुभएको थियो। पिज्जा र म:म खान्छु समेत भन्न भ्याएँ।
अहिले जेठी छोरी अनुवेशिका १२ वर्षकी भइन्। कान्छी छोरी अनुसुया भने अहिले १४ महिनाकी भइन्।
जेठी छोरी जन्मँदा भर्खरै मैले फिल्म निर्देशनको काम सुरु गरेको थिएँ। त्यसको केही समयमा मैले आफ्नै प्रोडक्सन हाउस खोलें। विभिन्न एनजिओ/आइएनजिओका काममा व्यस्त हुन थालें। मैले मेरो पहिलो सन्तानलाई खासै समय दिन सकिनँ। जन्मिएकी छोरीलाई त समय दिन सकेको थिइनँ भने अर्को जन्माउने योजना हुने कुरै भएन।
०००
२०१९ को अन्त्यतिर कोभिड सुरु भयो। काम केही थिएन। मेरो गर्भ बसेछ।
त्यो समयमा मैले स्किनको एउटा औषधि प्रयोग गररहेको थिएँ। त्यसले महिनावारी गडबड भइरहन्थ्यो। लामो समयसम्म महिनावारी नहुँदा मलाई लाग्यो कि, यो त्यही औषधिको असर हो। पेटलाई असहज भएको समयमा पनि ग्यास्ट्रिक होला भन्ने ठानेर त्यसैको औषधि खाएँ।
बिहान योग गर्दै थिएँ। सूर्य नमस्कार गर्दा पेट बढेको महसुस भयो। म मोटी भए पनि पेट भने कहिल्यै लागेको थिएन। मेरो मासु लाग्ने भनेकै शरीरका अन्य भागमा हो, पेटमा हैन। पेट बढ्न थालेपछि भने शंका लाग्यो।
कोभिडको समय थियो। नजिकैको अस्पतालमा प्रेग्नेन्सी किट किनेर परीक्षण गरें। पोजेटिभ देखायो। विश्वासै लागेन। तीन वटा अस्पतालमा देखाएँ। सबैले गर्भवती भएको हो, २४ हप्ताभन्दा धेरै भइसक्यो भनेपछि मात्रै स्वीकार गरें।
४० वर्ष कटेपछि, पहिलो सन्तान जन्मेको १२ वर्षपछि मैले कान्छी छोरी जन्माएँ। उमेरका कारण शरीरमा डाइबिटिजको समस्या देखियो। इन्सुलिन लिनुपर्ने भयो। यसले बच्चाको टाउको ड्यामेज हुने भन्दै चिकित्सकले डर देखाए।
मेरो तौल ९२ केजीको थियो। बच्चा जन्मिँदा पनि मेरो तौल ९२ केजी नै थियो। कोभिडको समयमा राहत बाँड्नेदेखि हरेक काममा म हिँडे। कसैले म गर्भवती भएको थाहै पाएनन्।
कान्छी छोरी भने मैले अपरेसन गरेर जन्माएँ। चिकित्सकले कुरा गर्दागर्दै बच्चा रोयो। कसको बच्चा भनेर सोधेको त तपाईँको पो भन्छन्। म त दंग परें। केही नभइकनै हातमा बच्चा आयो। बेडमा चढ्ने समयमा पनि म आफैं चढ्छु भनेर गफ दिएँ। २४ घण्टा बितेपछि भने मर्नु गरेर दुख्यो। दुई दिनसम्म पीडा भयो। नर्मल र अपरेसन जे गरे पनि पीडाको हिसाब-किताब आमालाई बराबर हुने रहेछ।
२०२० को नोबेम्बरमा कान्छी जन्मिएकी हुन्। उनी अहिले भर्खरै १४ महिना भएकी भइन्।
मेरा दुवै छोरीको अनुहार बाउको जस्तै छ। उनीहरु जन्मने बित्तिकै यत्रो मान्छे पेटमा बोकेर हिँडेको रहेछु भन्ने फिल भएको थियो। आफैंले पेटमा बोकेर हिँडेकाले होला, पहिलो भेट पनि आफ्ना सन्तानसँग पहिलो नलाग्ने रहेछ। धेरै अगाडिदेखि चिनजान भएको जस्तो अनुभव हुने रहेछ।
पहिले काम काम भनेर दौडिए पनि बच्चा भएपछि पहिलो प्राथमिकतामा बच्चा नै आउने रहेछ। मैले भनेजति समय जेठी छोरीलाई दिन सकिनँ कि जस्तो लाग्छ।
कान्छी छोरी पेटमा आएपछि मेरो परिवारमा सबैभन्दा खुसी जेठी छोरी भएकी थिइन्। पहिले भाइ चाहियो भन्थिन्, पछि भाइ त छुच्चो हुँदो रहेछ, बहिनी चाहियो भन्न थालिन्।
सानी छोरी पेटमा हुँदा बहिनीलाई चाहिने सामान सबै जेठीले नै किनेकी हुन्। अहिले पनि नचाहिने कुराहरु बहिनीका लागि भनेर किनिरहन्छिन्।
बच्चा जन्मेपछि दुई दिन मलाई निकै गाह्रो भयो। जेठी छोरीले फर्मुला दुध बनाउने, खुवाउने गरेकी हुन्। रातभर जागेर बहिनी हेर्थिन्। स्कुल जाने समयमा दिनभर बहिनी छाडेर कसरी बस्ने होला भन्थिन्।
तर, बालबालिकाको मनोविज्ञान अर्के हुने रहेछ। उनले जति बहिनीलाई माया गरे पनि न्वारनको दिन भने रोइन्। उनले 'ममा, हजुरको लाइफमा म एक्जिस्ट नै हुन छाडें' भनेर रोएको सम्झँदा अहिले पनि कस्तो-कस्तो लाग्छ।
जेठी छोरीलाई हप्ताको एक दिन माइतीमा लगेर छाड्थें। त्यहाँ उसले एक दिन सानी आमालाई 'म त बहिनीलाई कहिल्यै एक्लो छाड्दिन नि। मलाई कस्तो लोन्ली फिल हुन्थ्यो, खेलौनासँग गफ गरेर बस्नुपर्थ्यो' भनिछ। त्यस्ता कुराले चाहिनेजति समय उनLहरुलाई दिन सकिनँ कि भन्ने लाग्छ।
यो पनि
फागुन २२, २०७८ आइतबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।