के हो जेलेन्स्कीले माग गरिरहेको 'नो फ्लाइ जोन' ? 'एक्ट अफ वार' हुने चेतावनी किन दिइरहेका छन् पुटिन ?
एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः एक पटक युक्रेनी आकाशमा 'नो फ्लाइ जोन'को माग गरेका छन्। अमेरिका, बेलायतसहित नेटोलाई जेलेन्स्कीले नो फ्लाइ जोनको माग गरेका हुन्।
यता नेटोले भने जेलेन्स्कीको मागप्रति खासै चासो दिएको छैन। यसअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको आकाशमा नो फ्लाइ जोन लागू गरिए त्यो 'एक्ट अफ वार' अर्थात् युद्ध छेडेको मानिने बताइसकेका छन्।
त्यसैकारण नेटो नो फ्लाइ जोन लागू गर्न अनकनाइरहेको छ।
के हो नो फ्लाइ जोन ?
नो फ्लाइ जोन भनेको युद्ध वा द्वन्द्वको अवस्थामा कुनै पनि विशेष क्षेत्रआसपास एयरक्राफ्टलाई प्रतिबन्धित गर्नु हो। रुस र युक्रेनको सम्बन्धमा भने यदि युक्रेनी आकाशमा नेटोले नो फ्लाइ जोन लागू गरेमा नेटोले सम्पूर्ण रुसी एयरक्राफ्टलाई निष्क्रिय पार्नुपर्नेछ।
नो फ्लाइ जोन लागू गर्नुको अर्थ सैन्य विधि प्रयोग गरेर एयरक्राफ्ट रोक्नु हो। यसको सिधा अर्थ हो- रुस र युक्रेन युद्धमा नेटोको प्रत्यक्ष संलग्नता।
यसो भएमा पुटिनले भने जस्तै रुस-युक्रेन युद्धमा पश्चिममा मुलुक र विशेषतः नेटो पनि संलग्न हुनेछ। र यो 'एक्ट अफ वार' नै हुनेछ।
फागुन २२, २०७८ आइतबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।