महोत्तरी कांग्रेस सभापतिमा नागेश्वर यादव
महोत्तरीः नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव विजयी भएका छन्। शनिबार सार्वजनिक मतपरिणामअनुसार नागेश्वरले कूल खसेको दुई हजार एक सय ३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
उनका निकट प्रतिद्वन्द्वी सुशीलकुमार यादवले सात सय ७९ र अर्का उम्मेदवार बजरङ्ग नेपालीले तीन सय ६ मत प्राप्त गरेका थिए।
कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्ने यादवले पहिलो मत प्राप्त गर्नेलाई समर्थन जनाएपछि विजेता घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत ईन्द्र अधिकारीले जानकारी दिए।
कांग्रेसको १४औं महाधिवेशनक्रममा यसअघि विभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो। मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले बताए।
फागुन २२, २०७८ आइतबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।