सुर्खेत घटना : प्रहरीलाई अश्लील गाली नगर्नुस् बरु कारबाही गर्नुस् भन्दा गयो ३२ वर्षीय कृष्णको 'ज्यान'
सुर्खेत : कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल ‘मिनी’ तीन दिन अगाडी पसलको सामान हाल्न कालिकोटबाट नेपालगन्ज गएका थिए। तिलागुफा नगरपालिका वडा नम्बर ३ मा उनको कपडा पसल छ।
उनको नाम कृष्ण भए पनि उनलाई गाउँलेले माया गरेर ‘मिनी’ नामले बोलाउँथे। उनले नेपालगन्जबाट आफूले चिनेका साथीको भे १ क ९२२ नम्बरको ट्रकमा पसलको सामान राखेर कालिकोट आउँदै थिए।
सुर्खेतको सुब्बाकुना प्रहरी पोस्टमा पुग्नै लाग्दा शुक्रवार राती साढे १० बजिसकेको थियो। प्रहरी पोस्टमा गाडी इन्ट्री गर्नेक्रममा चालकले रक्सी खाएको प्रहरीले थाहा पायो। गाडी रोकियो।
प्रहरी र चालकबिच विवाद चलिरहेकै बेला सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेर सिं धामी आएर चालकलाई अश्लील गाली गर्न थाले। कृष्णले 'बरु कानुन अनुसार कारबाही गर्नुस्। किन आमा गाली गर्नुभएको' भन।
जवाफ फर्काएको भनेर धामी रिसाए। उनले 'मापसे पनि गर्ने अझै ठुलो कुरा गर्ने' भन्दै गाडीमा सवार कृष्णका साथी चालक, सहचालक र गाडीसहित तीनै जनालाई चौकीमा लगे।
यही विषयमा असई धामी र कृष्णबिच झगडा भएपछि उनलाई अलग्गै कोठामा लिएर कुटपिट गरेको चालकले बताएको कृष्णका भतिजा यादव पाण्डेले बताए।
‘मेरो अङ्कल नाता पर्ने कृष्ण हमाल पसलको सामान ल्याएर कालिकोट आउँदै गर्दा चालकले मापसे गरेको विषयमा झगडा भएछ। उहाँ असई सापले आमा गाली गरेपछि अङ्कलले बरु कानुन अनुसार कारबाही गर्नुस् किन गाली गरेको भन्दै जवाफ फर्काउनुभएछ,’पाण्डेले भने, ‘मापसे गर्ने अझै बढी बोल्ने भन्दै गाडीसहित तीनै जनालाई लिएर थुनेछन्। बिहान अङ्कललाई मारिसकेका रहेछन्। चेक गराउन लैजाऊ भनेर चालकसँग अस्पताल पढाएका रहेछन्।’
उनका अनुसार मृतक हमालको तल्लो पेट र अण्डकोषमा चोट लागेको र अन्य शरीरमा पनि नीलडाम छन्। आफूहरूले न्याय पाउनुपर्ने र दोषीलाई कारबाही नभए सशक्त आन्दोलन गर्ने उनको भनाई छ।
कृष्णले कपडा पसल खोलेको एक वर्ष भयो। उनी घरको जेठो सन्तान हुन्। उनको घरमा बुवा आमासहित तीन भाइ छन्। उनले विवाह गरेको दुई महिना मात्र भयो।
उनलाई उपचार गर्न ल्याइएको सुर्खेत अस्पताल प्रालिले अस्पताल ल्याउनु अगाडि नै हमालको मृत्यु भइसकेको विज्ञप्ति मार्फत जनाइसकेको छ।
अहिले शवलाई सुर्खेत अस्पतालमै राखिएको छ। कालिकोटबाट उनका बुवा आमा र आफन्त पनि केही बेरमै पुगेपछि आवश्यक प्रक्रिया अगाडी बढाइनेछ।
दोषीलाई कारबाही हुन्छ : डिएसपी घर्ती
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले दोषीलाई कारबाही गरिने बताए।
उनले आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको र प्रशासनले पनि छानबिन समिति गठन गरिसकिएकोले अनुसन्धानमा सघाउन आफन्त र शुभचिन्तकलाई अनुरोध गरे।
‘घटनाको विषयमा खासै धेरै जानकारी भएको छैन। आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ,’डिएसपी घर्तीले भने, ‘हामी दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौँ। अनुसन्धानमा सबैले सहयोग गर्न म अनुरोध गर्दछु।’
प्रशासनले घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न व्यापक मात्रामा प्रहरी समेत परिचालन गरेको छ।
घटनाको छानबिन समिति गठन
कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरण बारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले समिति गठन गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायहरूको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो।
छानबिन समितिले तिन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेस गर्ने, छानबिन समितिले पेस गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारबाही अगाडी बढाउने र छानबिनको कामलाई सहज बनाउनका लागि विरोधका कार्यक्रम नगर्ने र पोस्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ।
समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
फागुन २१, २०७८ शनिबार २२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।