लागु औषध नल्याएको झोँकमा बाँसले हानेर हत्या
काठमाडौँ : मान बहादुर रावतको हत्याको आरोपमा २ जना पक्राउ परेका छन्। बुढानीलकण्ठ नगरपालिका-४ चण्डेश्वरी वनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय रावतको हत्या आरोपमा बुढानीलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर पक्राउ परेका हुन्।
बुढानीलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मङ्गलवार रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानीलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागू औषध खरिद गर्न ३५ हजार रुपैयाँ दिएको र मान बहादुरले लागू औषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लट्ठी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका थिए।
प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लट्ठी समेत बरामद गरेको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
फागुन २१, २०७८ शनिबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।