हमाल मृत्यु घटनाको छानबिन गर्न समिति गठन
सुर्खेत : सुर्खेतमा प्रहरीको कुटाइबाट मृत्यु भएको भनिएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ।
कालिकोट तिलागुफाका ३२ वर्षीय कृष्ण हमाल ‘मिनी’ को मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले समिति गठन गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायहरूको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।
छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेस गर्ने, छानबिन समितिले पेस गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारबाही अगाडी बढाउने र छानबिनको कामलाई सहज बनाउन विरोधका कार्यक्रम नगर्ने र पोस्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ।
समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन समेत दिइएको छ।
शुक्रवार राती नेपालगन्जबाट सुर्खेत ट्रकमा सवार हमाललाई सुब्बाकुनामा प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको आरोप छ।
प्रशासनले घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरेको छ। प्रशासनले आफन्तहरूलाई पनि छानबिनको वातावरण बनाउन आग्रह गरेको छ।
शुक्रवार राती नेपालगन्जबाट भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरेपछि उपचारका लागि सुर्खेत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताउँदै आएका छन्।
फागुन २१, २०७८ शनिबार २०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।