स्थानीय तहको निर्वाचन एक दिन पनि नसर्ने गगन को दाबी

स्थानीय तहको निर्वाचन एक दिन पनि नसर्ने गगन को दाबी

इटहरी : वैशाख ३० गते निर्धारण भएको स्थानीय तहको निर्वाचन १ दिन पनि नसर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाबी गरेका छन्। स्थानीय तहलाई जनप्रतिनिधिविहिन बनाउन नमिल्ने भएकाले तोकिएकै समयमा निर्वाचन हुने उनको दाबी थियो।

कांग्रेसले चैत मसान्तसम्ममा उम्मेदवार तय गर्ने भएकाले अब निर्वाचनको तयारीमा लाग्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। विराटनगर महानगरसमितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमामा बोल्दै उनले टोल टोलमा पुगेर जनतालाई भेट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

कांग्रेस नेतृत्वबाट विगतमा भएजस्तो गल्ती नदोहोर्याउन लागि परेको उनको भनाइ छ। कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी नेतृत्व कांग्रेस भित्रको एकता ल्याउन लागि परेको  बताए।

'डाक्टर कोइरालाले सभापति उम्मेदवार हुँदाको पूर्व सङ्कल्प अनुसार विचलित नभई काम गर्दै हुनुहुन्छ म त्यसको प्रशंसा गर्छु। पार्टी सभापतिले पनि त्यसलाई पनि स्वीकार गर्नु भएको छ,' उनले भने।

आगामी निर्वाचनमा कांग्रेस र जनता बिचमा मात्र गठबन्धन हुने उनले बताए। लामो समय चल्न नसकेको अदालत चलाएको स्मरण गराउँदै थापाले अब संसद् चल्ने वातावरण सृजना गराउने गरी कांग्रेस लागिपरेको बताए।

उनले कांग्रेस नेतृत्वको सरकार आए पनि आम जनताको जीवनमा बदलाव आएन भने जनताले प्रश्न गर्ने संशय व्यक्त गरे। उनले अब वर्तमान सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए।

'यो वर्ष किसानले समयमा मल पाउँछन् कि पाउँदैनन् ? कोभिडको पिडाले रोजगारी गुमाएकाहरूले रोजगारी कहिले पाउँछन्? उनले सरकारलाई प्रश्न गरे।

फागुन २१, २०७८ शनिबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।