तीन वटै निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने शेखरको दाबी
इटहरी : अमेरिकी सहयोग परियोजना सम्बन्धी सम्झौता पारित भएपछि आगामी तीनै चरणको निर्वाचनमा गठबन्धन कायम रहने माओवादी केन्द्र र एकीकृत समाजवादीको नेतृत्वको दाबी छ। तर नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नहुने बताएका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा देखिएका छन्। तर उनका निकटतम प्रतिद्वन्द्वी रहेका कोइरालाले वर्तमान सरकार कांग्रेसको बाध्यात्मक गठबन्धन भएको बताउँदै उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा सहभागी हुने दाबी गरे।
उनले चुनाव विचारको लडाइ भएको बताउँदै कम्युनिस्टसँग बिचार नमिल्ने भएपछि गठबन्धनको आवश्यकै नभएको दाबी गरे।
नेपाली कांग्रेस विराटनगर महानगरसमितिले आयोजना गरेको विचार गोष्ठीको प्रमुख अतिथि रहेका कोइरालाले कार्यकर्ताले गठबन्धन नचाहेको समेत बताए। आसन्न निर्वाचनको विषयलाई लिएर फरक गुटको भन्दै पोल लगाउन नआउन उनले आग्रह गरे। अधिवेशनको समयमा मात्र टिम रहेकाले अब गुटबन्दीको कुरा नगर्न उनले कार्यकर्तालाई आग्रह समेत गरेका थिए।
१४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका कोइरालाले प्रधानमन्त्री समेत रहेका देउवालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
'कांग्रेस जे बोल्छ त्यो गर्छ। प्रतिपक्ष र सत्ता जेमा हुँदा पनि एउटै भाषा बोल्छ। एमसिसिको विषयमा कांग्रेसको एउटै धारणा रह्यो,' उनले भने।
उनी मात्रै हैन उपसभापति धनराज गुरुङ अनि महामन्त्री गगनकुमार थापा पनि गठबन्धनको पक्षमा छैनन्। उनीहरूले सार्वजनिक कार्यक्रममा स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा कुनै दलसँग गठबन्धन नबनाई एक्लै निर्वाचनमा सहभागी हुनुपर्ने बताउँदै आएका छन्।
फागुन २१, २०७८ शनिबार १८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।