अवैध टेस्ट ट्युब बेबी सेन्टर नियन्त्रणमा मन्त्रालय सक्रिय, १५ दिनभित्र स्वीकृति नलिए कारबाही
काठमाडौँ : अवैध टेस्ट ट्युब बेबी सेन्टर रोक्न स्वास्थ्य मन्त्रालय सक्रिय भएको छ। मन्त्रालयबाट स्वीकृति नै नलिई मनलाग्दी आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) केन्द्रहरू सञ्चालनमा रहेको देखिएपछि मन्त्रालय सक्रिय भएको हो।
मन्त्रालयले सूचना निकालेर १५ दिनभित्र अनुमति लिन भनेको छ। अनुमति नलिए कारबाही गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ। विभिन्न अस्पतालले सेन्टर खोले पनि कतै अनुमति लिएका छैनन्। जम्मा २ अस्पतालले मात्र अनुमति लिएको खुलेको छ। जबकि त्यस्तो सेवा दिने अस्पताल र सेवा केन्द्र दर्जन बढी छन्।
मन्त्रालयले शनिवार जारी गरेको सूचनामा त्यस्तो सेवा सञ्चालकहरूलाई अनुमति लिनका लागि १५ दिनभित्रै सम्पर्क गर्न भनिएको छ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सो नियमावलीको अनुसूची-९ बमोजिमका निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ। सूचनामा भनिएको छ- टेस्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिनुपर्छ।
अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरूले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ।
फागुन २१, २०७८ शनिबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।