मल्टिनेशनल कम्पनीसँगको युद्ध हार्दै रुस: सामसुङले रुसमा फोन नबेच्ने

मल्टिनेशनल कम्पनीसँगको युद्ध हार्दै रुस: सामसुङले रुसमा फोन नबेच्ने

एजेन्सीः विश्वप्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्नो फोन नबेच्ने भएको छ। रुस-युक्रेनबीच जारी युद्धलाई कारण देखाउँदै सामसुङले तत्कालका लागि आफ्नो कम्पनीको फोन र चिप्सहरू रुसमा नबेच्ने भएको हो।

कम्पनीका अनुसार आगामी कदमबारे प्रत्यक्ष निगरानी गरेर निर्णय लिइनेछ। 

रुसमा सामसुङको एप्पल र साओमीभन्दा पनि ठूलो बजार छ। दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसुङले रुसमा तत्काल बिक्री रोकेसँगसँगै करिब ६० लाख अमेरिकी डलर बराबरको विद्युतीय सामग्री र अन्य सहयोग पनि युक्रेनलाई उपलब्ध गराउने भएको छ।

शुक्रबार सामसुङले यस्तो निर्णय लिनुअगावै माइक्रोसफ्टले पनि रुसमा आफ्ना सामग्रीको बिक्री नगर्ने घोषणा गरिसकेको छ। यस्तै फेसन ब्राण्डहरू लुई भुटँ, हमिज्, केरिङ, शनेल लगायतले पनि रुसमा रहेको आफ्नो स्टोर बन्द गर्ने घोषणा गरिसकेका छन्।

यस्तै डेनिश बियर कम्पनी कार्ल्जबर्गले पनि रुसमा निर्यात ठप्प पारेको छ।

यता फेसबुक र गुगल प्ले स्टोरलाई रुसमा प्रतिबन्धित गरिएको छ। युक्रेनलाई करिब-करिब आफ्नो पकडमा ल्याइरहेको रुस मल्टिनेशनल कम्पनीसँगको युद्धमा भने पराजित हुँदैछ।

फागुन २१, २०७८ शनिबार ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।