पार्टी बैठकमा नारायणकाजीको चित्त दुखाई : '२०५३ सालदेखि सम्बन्ध रहेको अध्यक्षले पार्टी छोड भन्नुभयो’
काठमाडौँ : त्यस्तै परे पार्टी नै विभाजन गर्ने रणनीतिमा लागेको नारायणकाजी श्रेष्ठ समूह शुक्रवार बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आक्रामक देखियो। आठौँ महाधिवेशनको म्यान्डेट विरुद्ध अध्यक्षले अमेरिकी सहयोग परियोजना सम्बन्धी सम्झौता पारित गराउन भूमिका खेलेको भन्दै उनीहरू आलोचनमा उत्रिए।
श्रेष्ठ समूह उग्र भए पनि पुष्पकमल दाहाल प्रचण्ड समूह भने नरम थियो। बैठकको सुरुमै आफ्नो प्रस्टीकरण दिएका प्रचण्डले संसद्बाट एमसीसी सम्झौता अनुमोदन भए पनि सत्ता गठबन्धनमा देखिएको सबै समस्याहरू समाधान भई नसकेको बताएका थिए।
बैठकमा बोल्दै प्रचण्डले एमसीसी अनुमोदनका लागि गरिएको ‘व्याख्यात्मक घोषणा’ उपयुक्त कदम भएको बताए पनि श्रेष्ठ समूह त्यो स्वीकार गर्न तयार देखिएन। बैठकपछि अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै सचेतक देव गुरुङले ‘व्याख्यात्मक घोषणा’ले सबै चुनौतीहरू समाधान गर्न नसक्ने बताएका थिए।
‘चुनौतीहरू छन्, सबै हल भइसक्यो भन्ने हैन। तत्कालका लागि एकस्टेप अघि बढेको हो। समस्याहरू फेरि पनि छन्’, प्रचण्डलाई उद्धृत गर्दै उनले भने, ‘निर्वाचनसम्म यो गठबन्धनबाटै अघि जानुपर्छ। पार्टी ठिक ठाउँमा आइपुगेको र पार्टीले गरेको निर्णयहरू ठिक हुँदै आएका छन्।’
प्रचण्डले एमसीसी पास गर्नुको औचित्य पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ सांसदको पद धरापमा पर्ने बताएका थिए। उनले बैठकमा एमसीसी पास भएकाले अब यो सत्ता गठबन्धन आगामी चुनावमा समेत कायम हुने अवस्था निर्माण भएको दाबी गरेका थिए।
‘एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ सांसदको पद बच्यो। गठबन्धन पनि जोगियो’ प्रचण्डले ब्रिफिङमा भनेका छन्, ‘एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो। त्यो भत्कियो।’
अध्यक्ष प्रचण्डपछि लिखित मन्तव्य राखेका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको दाबी गरे।
उनले पार्टीमा ’दलाल तथा नोकरशाही पुँजीवादीहरूको साँठगाँठ बढेको’ आरोप लगाए।
पार्टीको मुख्य समस्याका रूपमा वैचारिक संस्कृति अभाव रहेको औँल्याएका उनले भने ‘विवेक प्रयोग गरी वस्तुनिष्ठ अनुसार अघि बढ्नुपर्यो। ऐतिहासिक मोडमा कसैले गम्भीर गल्ती नगरौँ। हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिको भयो। हाम्रो पार्टीमा व्यक्तिवादी हाबी भयो। दलाल तथा नोकर पुँजीवादीहरूको साँठगाँठ बढ्यो।'
उनले एमसिसीमा असहमत हुँदा पार्टी अध्यक्षले पत्रकार सम्मेलनमा पार्टी छाडेर जान भनेको भन्दै चित्त दुखाएका थिए। '२०५३ सालदेखिको सम्बन्ध हो हाम्रो। तर अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गरेर पार्टी छोड भन्नुभयो,’ उनले बैठकमा भने।
केन्द्रीय समिति बैठकमा श्रेष्ठ बाहेक अन्य तीन नेताले पनि एमसीसीका विषयमा लिखित रूपमै फरक मत राखे। पार्टी प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महरा, माओवादी संसदीय दलका सचेतक देव गुरुङ र नेता लीलामणि पोखरेलले एमसीसीबारेमा लिखित रूपमै फरक मत राखेका थिए।
चुनावी चपेटाले पार्टी विभाजन सकस
श्रेष्ठ समूह यस्तै भए पार्टी विभाजन गर्ने मनस्थितिमा छ। तर स्थानीय तहको निर्वाचन मुखैमा आइसकेको र लगत्तै प्रदेश र केन्द्रको निर्वाचन हुने भएकाले त्यो बेलासम्म नयाँ पार्टीको संरचना तल्लो तहसम्म पुर्याउन नसकिने भएकाले उनीहरू केही नरम बनेका छन्।
श्रेष्ठ समूह प्रचण्डप्रति खुसी छैनन्। उनीहरू पास गर्नै नहुने एमसिसी पास गरेर पार्टीले गल्ती गरेको भन्दै आएका छन्। उनीहरूले यसमा पार्टी अध्यक्षले आत्मालोचना गर्नुपर्ने पक्षमा समेत देखिएका छन्।
प्रचण्डलाई तर्साउन श्रेष्ठले नेत्र विक्रम चन्द विप्लवसँग समेत भेट गरेका थिए। तर निकट आएको चुनावका कारण उनीहरू न पार्टी विभाजन गर्ने जोखिम उठाउन सक्ने अवस्थामा छन् न असहमति पार्टीको तल्लो तहसम्म लगेर बहस चलाउने अवस्थामै छन्। यी दुवै गतिविधिले निर्वाचन प्रभावित हुने भएकाले उनीहरू तत्काल यो जोखिम उठाउन मानसिक रूपमा तयार देखिएका छैनन्। तर पार्टी अध्यक्ष प्रचण्डलाई गलाउने उनीहरूको रणनीति भने कायम छ।
जसरी महाकाली र सुगौली सन्धिको बहस अझैँ भइरहेको छ त्यसरी नै एमसिसीको विषय नेपाली राजनीतिको दीर्घकालीन बहसको विषय बन्ने श्रेष्ठ पक्षधरको बुझाई छ। तर पनि चुनावको मुखमा पार्टी एक ढिक्का रहेको सन्देश दिनुपर्ने बाध्यतामा छन् दुवै समूह।
‘तत्कालीन कार्यनीतिको प्रश्न भयो। राष्ट्रियताको सवाल हो। समग्र पार्टीको कुरा त होइन यो। एउटा अजेण्डा हो। यसलाई हामीले फरक ढङ्गले बहसको विषय बनाएर लानुपर्छ,’ माओवादी सांसद तथा नेतृ अञ्जना विशंखेले भनिन्‘चुनाव पनि आउन लागेको छ। त्यसतर्फ पनि ध्यान केन्द्रित गर्नुपर्छ। यो विषय दीर्घकालीन भयो। बहस भइरहन्छ।'
पार्टीमा एमसिसी पास गर्नै हुन्न र यथास्थितिमा पास गर्नुहुन्न भन्ने मत रहेको र अहिले पासै गर्नहुन्न भन्ने पक्षमा रहेका नेताहरूले असन्तुष्टि राखेको उनले बताइन्। व्याख्यात्मक प्रस्तावसहित पास नगर्ला तत्काल नयाँ खालको राजनीतिक सङ्कट देखिएपछि पास गरिएको उनको मत छ
'अध्यक्षले भन्नुभएको तत्कालीन राजनीतिमा सङ्कट देखा पर्यो। सङ्कटलाई हल गर्न झिनो आशाको रूपमा व्याख्यात्मक रूपमा पास गरियो। यसले देशप्रति गद्दार हुन नदिन नैतिक आधार र मुम्मेन्ट खडा गरेको छ।'
यो अहिले कम्युनिस्ट पार्टीकोमात्र विषय नभएर राष्ट्रिय मुद्दा भएको र विकासको आवरणमा सैन्य रणनीति रहेको बुझाइ माओवादीमा अहिले पनि देखिन्छ। एमसिसी अनुमोदनमा पार्टीका स्वीकारोक्तिको विषयले पार्टी नै फुटाइहाल्नु पर्ने अवस्था भने नआएको केन्द्रीय सदस्यहरू बताउँछन्।
‘छलफल हुने बित्तिकै पार्टी फुटाइहाल्नु पर्ने भन्ने लाग्दैन। पछि अन्य अजेण्डा पनि आउला। यसरी टुक्रँदै गए हामी कहाँ पुग्छौँ ? पहिलेबाट पनि शिक्षा लिँदै आएका छौँ,’ कल्पना धमलाले भनिन्।
अर्का केन्द्रीय सदस्य लक्ष्मीराज आचार्य माओवादीकै सङ्घर्षको कारण १२ बुँदे व्याख्यात्मक टिप्पणी भएको बताउँछन्।
‘संशोधन सहित एमसिसी पास गर्नुपर्छ भन्ने हो। सङ्घर्ष र बहसको परिणाममा हामी व्याख्यात्मक टिप्पणीसम्म पुग्यौँ। राजनीतिक रूपमा कति विषय बाहिर आएको छ, कति आएको छैन' आचार्यले भने''कम्युनिस्ट पार्टी भनेकै दुई थरी मतभेदको पार्टी हो। विषय उठान गरिसकेपछि हामी छलफलबाट हल गर्छौ। बाहिर आएको हल्ला जस्तो अवस्था होइन। आफ्नो तर्फबाट भएको कमीकमजोरीलाई स्वीकार गर्नुपर्छ र गएका छौँ।’
अर्का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल एमसिसीकै कारणले पार्टी नफुट्ने बताउँछन्। ‘एमसिसीबाट माओवादी फुट्छ भन्ने हल्ला छ त्यो होइन। राजनीतिमा मानवीय स्वभावले पनि काम गर्छ। कम्युनिस्ट आन्दोलन जुट्दै र जोडिँदै आएको छ,' उनले भने।
फागुन २०, २०७८ शुक्रबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।