पीडितलाई सान्त्वना दिँदा नाम खुलाएर दीपकराजले गरे कानुन उलङ्घन

पीडितलाई सान्त्वना दिँदा नाम खुलाएर दीपकराजले गरे कानुन उलङ्घन

काठमाडौँ : कानुनतः कुनै अपराध गरेका या अपराधमा परेका १८ वर्ष मुनीका नाबालिगको पहिचान खुलाउनु अपराधजन्य काम हो। तर कलाकार दीपकराज गिरीले पीडित नाबालिगको नाम उल्लेख गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। नाबालिग गायिका परिचित हुन्। तर जाहेरी दर्ता भइसकेपछि नाम खुलाउनु गैर कानुनी हो।

'छक्कापञ्जा' फिल्म टोलीले एक स्कुले विद्यार्थी खोज्दा फेला परेकी ती बालिकाको स्वर सुनेर एक प्राविधिकले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि उनलाई सङ्गीतकारहरूले चासो राखेर काठमाडौँ ल्याएर साङ्गीतिक क्षेत्रमा प्रवेश गराएका थिए।

उनले त्यही विषय उल्लेख गर्दै लेखेको स्ट्याटसमा केही विरोधभाष कुरा उल्लेख गरेका छन्।  'यो बालिकालाई हामीले यहाँ पुर्यायौ भनेर गर्व चाहिँ गर्ने , तर उक्त बालिकाले सिकेको नराम्रो बानीको ठेक्का चाहिँ लिने कि नलिने?' उनले बालिकाको चरित्रमाथि प्रश्न उठाएका छन्।

'मिडिया सामु बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को सँग कसरी प्रस्तुत हुने यो सबै कसले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो , हामीले नै सिकाएको हो यसमा प्रशस्तै गौरव छ! एउटा सामान्य बालिकालाई प्रोफेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाई एकमुष्ट बधाई र धन्यवाद छ!' उनले लेखेका छन्।

उनले अन्तमा 'मलाइ यहाँ यो दोषी र यो निर्दोषी भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हुद्दै होइन! मेरो चाहना ===लाई सराप्न बन्द गरौँ भन्ने मात्रै हो ….म ===को प्रगति मा गर्व गर्छु भने उनले भोगिरहेको आजको नियतिमा आफूलाई पनि दोषी देखिरहेको छु!' भन्दै पीडितको समर्थन गरेका छन्। तर उनले पीडितको समर्थन गर्दागर्दै नामै उल्लेख गरेकाले यो कानुन विपरीत हो। 

फागुन २०, २०७८ शुक्रबार १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।