नेपालमा प्रत्येक वर्ष १५ सय औषधि प्राविधिक र पाँच सय फर्मासिस्ट उत्पादन : संघ

नेपालमा प्रत्येक वर्ष १५ सय औषधि प्राविधिक र पाँच सय फर्मासिस्ट उत्पादन : संघ

काठमाडौं : नेपालमा प्रत्येक वर्ष करिब १५ सय जना औषधि प्राविधिक र करिब पाँच सय फर्मासिस्ट उत्पादन हुँदै आएको नेपाल औषधि उत्पादक संघले जनाएको छ। ३५ वटा प्राविधिक कलेजबाट सो जनशक्ति उत्पादन हुँदै संघको भनाइ छ।

संघले वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनमा ‘नेपाल फर्मा एक्स्पो २०२२’ आयोजनाको जानकारी दिने उद्देश्यले राजधानीमा गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएको हो।

औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान दिने, नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने लगायतको एक्स्पोको उद्देश्य रहेको संघले जनाएको छ।

एक्स्पोमा एक सय ६० वटा स्टल रहने संघले जनाएको छ। औषधिका नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न एक सय २० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाल औषधि उद्योगहरु समेतले एक्स्पोमा भाग लिने संघले जानकारी दियो।

नेपाल औषधि उत्पादक संघको आयोजनामा हुने ‘नेपाल फर्मा एक्स्पो’मा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्यिुटिकल एसोसिएसन र नेपाल फार्मेसी संघ आवद्ध हुने छन्।  

फागुन २०, २०७८ शुक्रबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।