फिल्म चलाउन निर्देशक सुदर्शनले दर्शकलाई दिए पलको नक्कली सन्देश

फिल्म चलाउन निर्देशक सुदर्शनले दर्शकलाई दिए पलको नक्कली सन्देश

काठमाडौँ : हिरासतमा रहेका आरोपीसँग कानुनी सहयोगी बाहेक अन्यले एक्लै भेट्ने अनुमति पाउँदैनन्। कानुनी सहयोगीका हकमा पनि प्रहरीको अवलोकन हुन्छ नै। हिरासतमा रहेका व्यक्तिको सुरक्षाका लागि भेट्न जानेले प्रतिबन्धित केही बोकेको त छैन भनेर चेकजाँच हुन्छ अनि प्रहरीको रोहवरमा मात्र भेट्न पाइन्छ।

भेटमा सामान्य हालचाल सोध्ने बाहेक थप कुरा भएका छैनन्। उनका कानुनी सल्लाहकारले बेलाबेलामा भेटेर कानुनी सल्लाह दिइरहेका छन्। बयान कस्तो दिने बताइरहेका छन्। फिल्मकर्मीको त कुरै छाडौँ परिवारका सदस्यले समेत राम्रोसँग कुरा गर्न पाएका छैनन्।

पल भेट्न श्रीमती सहित मङ्गलवार जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेका सुदर्शनले पनि टाढैबाट सन्चो-बिसन्चो बाहेक धेरै कुरा गर्न पाएनन्। दुवै पललाई भेटेर बाहिरिएपछि उनको श्रीमतीले सामान्य कुरा मात्र भएको बताएकी थिइन्। बुधवार शोभित बस्नेतसहित प्रहरी हिरासतमा रहेका पललाई भेट्न गएकी अभिनेत्री पूजा शर्माले पनि सामान्य कुराकानी मात्रै गर्न पाइन् टाढैबाट। उनैले हात छुन पाएको र टाढैबाट हग गरेको खुुलाइन्। तर दर्शकलाई भने पलको शन्देस भन्दै फिल्म हेर्न आउन भने।

'पल अहिले परिवारका सदस्यबाहेक अन्यसँग भेट्न समेत चाहँदैनन्। साथीभाइ भेट्दा सामान्य हाई हेल्लो मात्र हुने हो। बुधवार पनि त्यही भयो,' पूजा र पलको भेटमा सँगै रहेका तनहुँका एक प्रहरीले उकेरालाई बताए।

केही समयपछि टोली बाहिरियो। पूजा बाहिर आए लगत्तै यूट्युवरले घेरा हालेर 'बलात्कार गर्न खोजेको हो भने नाबालिगले नै नाइँ भन्नुपर्ने' अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ। केही यूट्युवरले यसबारे सोध्दा उनले हलमा पत्रकार सम्मेलन गरेर बोल्ने भनेर गाडीमा चढेर हिँडिन्।

उनीहरू दमौलीको क्युएफएक्स हलमा फिल्म हेर्न आएका दर्शकहरूमाझ आएका थिए। कार्यक्रम शोभित बस्नेतले चलाएका थिए। पहिला फिल्म' म यस्तो गीत गाउँछु-२' का निर्देशक सुदर्शन थापाले पलले दर्शकहरूलाई हलमा भेट्न नपाए पनि फिल्ममा भेट हुन्छ नै भनेर सबै दर्शकलाई साथीभाइ अनि परिवारका सदस्यलाई ल्याएर फिल्म हेर्न आग्रह गरेको दाबी गरे।

'पल यहाँ नभए पनि पूजा यहाँ छिन्। प्रत्यक्ष भेट्न नपाए पनि फिल्ममा भेट हुन्छ नै। साथी र परिवारलाई फिल्म देखाउनुहोला भन्ने पलको सन्देश छ' भन्दा हलमा रहेका दर्शकहरू चिच्याएका थिए।

प्रहरीको दाबी पत्याउने हो भने अहिले पल फिल्म कस्तो भइरहेको छ भनेर कुरा गर्ने मुडमै छैनन्। उनी अधिकांश समय झोक्राइरहन्छन्। भेट्न आउनेहरूसँग कुरा गर्न झिँजो मान्न थालेका छन्। उनले बुधवार त वकिल र बहिनीसँग मात्रै भेट्ने बताए पनि पूजा आउने भनेपछि मात्र भेट्न मानेका थिए।

'प्रहरी हिरासतमा पाँच दिन देखी रहेको व्यक्तिले मेरो फिल्म कस्तो चलिरहेको छ, दर्शकले मलाई के भनिरहेका छन् भनेर सोध्लान् र' तनहुँका एक प्रहरी अधिकारीले भने' अभिनय गरेझैं हैन नि साच्चिकै हिरासतमा बस्नु।'

प्रेस मिटमा पूजाले भने त्यस्तो केही भनिनन्। उनले दर्शकहरूलाई फिल्म हेरिदिएकोमा धन्यवाद दिँदै पल र पूजालाई मनमा राखिदिन आग्रह गरेकी थिइन्। पललाई भेटेर बाहिरिँदा बलात्कारबारे उनले बोलेको विवादित कुराबारे बोल्ने दाबी गरेकी थिइन् तर उनले केही बोलिनन्।

बरु फिल्म निर्माता र निर्देशक शोभित बस्नेतले प्रहरी कार्यालय अगाडि बसेका यूट्युवरहरुलाई न्यायाधीश बनेको भन्दै आलोचना गरे। सामाजिक सञ्जालमा आइरहेको प्रतिक्रियाप्रति असन्तुष्ट बनेका उनले कानुनी प्रक्रियालाई अगाडि बढाउन दिन र आफैँ न्यायाधीश नबन्न आग्रह गरे।

फागुन १८, २०७८ बुधबार २३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।