विप्लवसँग नारायणकाजीको अङ्कमाल, प्रचण्डलाई धक्का

काठमाडौँ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विपक्षमा उत्रेका सांसद तथा नेताहरुलाई पार्टीबाट बाहिर जाने विकल्प रहेको अभिव्यक्ति दिएपछि माओवादी केन्द्र विभाजितको जोखिममा परेको छ। एमसिसी सम्झौता संसदबाट पारित भएपछि रिसाएका नारायणकाजी श्रेष्ठ पार्टी विभाजनको नाफा-घाटातिर लागेका छन्। प्रचण्ड फकाउनतिर।
पार्टी विभाजनका लागि आफ्नो समूहमा छलफल गरेर उनी नेत्र विक्रम चन्दसम्म पुगिसकेका छन्। पहिला बामदेव गौतमको बाटोमा जाने भए जाउन् भनेका प्रचण्ड अहिले श्रेष्ठलाई मतभेद पार्टीभित्रै छलफल गरौँ भनेर थामथुम पार्नतिर लागेका छन्।
श्रेष्ठलाई लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, अञ्जना विशिखेको साथ देखिन्छ। श्रेष्ठ कृष्णबहादुर महरा, राम कार्की र लेखनाथ न्यौपानेको सहयोग लिएर नयाँ पार्टी बनाउने रणनीतिमा देखिन्छन्। यी सबै एमसिसी सम्झौताको विपक्षमा छन्।
एमसिसी विवाद चर्किदा न्यौपानेले ‘प्रचण्डले एमसिसी पास गरे भने वा पास गर्ने पक्षमा गए भने जुत्ताले हानिन्छ, त्यो कम्युनिस्ट हुन सक्दैन’ भनेका थिए। पास भए पनि भौतिक रूपमा जुत्ता हान्न सक्ने अवस्थामा छैनन् उनी। नैतिक रूपमा पार्टीमा बस्ने मुडमा उनी छैनन्।
निर्वाचनको मुखैमा पार्टी विभाजन गर्दाको जोखिमबारे उनीहरू छलफलमा देखिएका छन्। मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायतकाहरु एकै ठाउँमा हुन सके माओवादी केन्द्र भन्दा प्रभावशाली पार्टी बन्ने नारायणकाजी समूहको विश्लेषण देखिन्छ।
श्रेष्ठले माओवादीमा एकता केन्द्र मसाल समूहको प्रतिनिधित्व गर्छन्। उनी माओवादी केन्द्रबाट बाहिरिँदा मसालका समर्थकले नयाँ पार्टीलाई समर्थन गर्ने उनको विश्वास देखिन्छ। १२ बुँदेको बहानामा एमसिसी पास गर्न माओवादी तयार भएकोमा नेता श्रेष्ठ मात्र बिच्किएका छैनन्। उनका कोर टिम नै असन्तुष्ट छ। यसले मसालका नेताहरू समेत माओवादीमा नबस्नेमा उनको समूह विश्वस्त देखिन्छ।
यसका लागि उनीहरू प्रचण्डलाई नैतिक दबा लिने नसिकिए अलग हुने लाइनमा रहेको देखिन्छ।
‘विमति हुँदा–हुँदै निर्णय गर्नु ठिक थिएन। तपाईँहरू सूक्ष्म ढङ्गले बुझ्नुहोस् धेरै ठुलो असन्तुष्टि छ। जुनसुकै बेला विस्फोट हुन सक्छ। यो केन्द्रमा मात्रै होइन देशव्यापी छ। उहाँको गलत निर्णयको नारायणकाजीलगायत हामी पाँच जनाले साथ दिएनौँ। कृष्णबहादुर महराजी संसद् बैठकमै भाग लिनुभएन’ नेता गिरिराजमणि पोखरेलले भने।
विप्लवसँगको अङ्कमालको अर्थ
बुधवार नारायणकाजीले नेत्रविक्रम चन्द विप्लवसँग ४५ मिनेट कुरा गरे। खुल्ला राजनीतिमा आएका विप्लव बलियो मोर्चा बनाएर निर्वाचनमा जान श्रेष्ठसँग सहकार्य गर्न तयार देखिएको श्रेष्ठ निकट एक नेताले बताए।
‘राष्ट्रियताको मुद्दा अगाडि बढाउन अब प्रचण्डजीबाट सम्भव छैन। उहाँले एमसीसीमा अमेरिकीहरूसँग लम्पसार पर्नुभयो। माओवादीसँग अब राष्ट्रियताको एजेन्डा पनि बाँकी रहेन। प्रचण्डजीले सत्ताभन्दा अरू देख्दै देखेनन्,' श्रेष्ठ निकट एक नेताले भने' उनी पुरै संसदीय भासमा मात्र डुब्न थाले. अब यसरी हुँदैन, सहकार्य गरौँ भन्ने भयो।'
दुवै नेताको छलफलबारे जानकार नेताका अनुसार यसरी नै चले माओवादी झन् सकिँदै जाने भन्दै विप्लवले 'आउनुस्, तपाई-हामी सके पार्टी एकता नै गरौँ, होइन भने तत्कालका लागि सहकार्य गरौँ' भनेका थिए।
जवाफमा श्रेष्ठले प्रचण्डबाट अब आफूले पनि देशको हित हुने देख्न छोडेको र यस विषयमा के गर्ने भन्नेमा आफू बिचार विमर्शमै रहेको जवाफ दिएका थिए। प्रचण्डसँग अन्तरसंर्घष चर्किएको भन्दै अन्तर्संघर्षकै बिचमा पार्टीमा बस्न कठिन हुने भए पनि आफू अहिले गहिरो छलफलमा रहेको जवाफ दिएका थिए।
माओवादी नेता राम कार्की भने तत्काल पार्टीमा दुर्घटना भइहाल्ने अवस्था नरहेको दाबी गर्छन्। ‘पार्टीभित्रको मिस अण्डरस्टयाण्डिङ हो, त्यो समाधान हुन्छ। चर्काचर्की केही हुँदैन। पर्सिको केन्द्रीय समितिमा घनिभूत छलफल हुन्छ,’ नेता कार्कीले उकेरासँग भने।
कार्की हतारमा एमसिसी पास गर्दा पार्टीमा समस्या आएको बताउँछन्। सहयोग लिने, अनुदान कुन-कुन क्षेत्रमा लिने भन्नेमा प्रस्ट हुनुपर्ने, भोलि अरू देशबाट फरक खालको प्रस्ताव आउँदा के गर्ने भन्नेमा प्रस्ट हुनुपर्ने बताउँछन्।
‘लेखेर राख्नुस् पार्टीमा कहीँ कतै केही हुँदैन। कार्यदिशा मुख्य कुरा हो। अस्ति कार्यदिशामा एकै ठाउँमा गइसक्यो अब फरक हुन्छ भन्ने हुँदैन,’ उनले भने।
माओवादीका अर्का नेता दिनानाथ शर्मा पनि पार्टी विभाजित भई नहाल्ने बताउँछन्। केन्द्रीय समितिमा सबै विषयमा छलफल हुने र समाधान निस्कने उनले बताए।
'एकसरी नेताहरू त विभाजन भए हुन्थ्यो भन्नेमा लागेका छन्। तर पार्टीका जिम्मेवार नेताहरू हुनुहुन्छ, नेपालमा त्यस्तो खालको कम्युनिस्ट पार्टीको खाँचो छैन। विभाजनले राम्रो नहुने हाम्रो हित भएको इतिहास छैन,’ नेता शर्माले भने।
एमसिसीको विषयमा चर्को टिप्पणी गरेका नेता लेखनाथ न्यौपानेले केन्द्रीय समिति बैठकअघि सार्वजनिक अभिव्यक्ति नदिने बताए।
‘बैठक छ, बैठकको विषय के हुने भन्ने नै थाहा छैन। केन्द्रीय समितिको मुखमा बाहिर कुनै टिप्पणी गरेको छैन, बाहिरबाट भन्दा पनि जे हुन्छ भित्रबाटै हुन्छ,’ नेता न्यौपानेले भने।
श्रेष्ठ समूहमा पार्टी विभाजनको बहस चलिरहेकोमा नेता न्यौपानेले भने, ‘एमसिसी सामान्य मुद्दा त होइन, पार्टी विभाजन गरेर एमसिसी संशोधन हुने पनि होइन। पार्टीभित्रका सङ्घर्षको विषय बनाएर जाँदा राम्रो हुन्छ।’
फागुन १८, २०७८ बुधबार २२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।