तुवाचुङ नगरपालिकामा विद्यालय कर्मचारीको तलब २० हजार ५ सय
प्रारम्भिक बाल विकास केन्द्रका ५४ जना सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयमा कार्यरत ८९ कार्यालय सहयोगी र १२ जना विद्यालय कर्मचारीको तलव बढाएको नगरपालिकाले जनाएको छ।
प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको मासिक तलव १५ हजार, सामुदायीक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको मासिक तलव १५ हजार र विद्यालय कर्मचारीको तलव २० हजार ५०० पुर्याइएको नगरपालिकाले जनाएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेट भाषणमा प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याए अनुसार तलव बढाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए। नगरपालिकाले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको प्रोत्साहनका लागि मासिक एक हजार खाजा भत्ता दिँदैआएको थियो। तलव बढ्दा सहयोगी कार्यकर्ता, कार्यालय सहयोगी र विद्यालय कर्मचारी उत्साहित छन्।
बजेट भाषण कार्यान्वयनका लागि अर्थमन्त्रालयले २० जेठ २०७८ मा स्थानीय तहलाई परिपत्र गरेको भएपनि कतिपय स्थानीय तहमा नेपाल सरकारको बजेट भाषण र अर्थमन्त्रालयको परिपत्र अनुसार सामुदायीक विद्यालयमा कार्यरत लेखापाल, परिचर तथा बालबिकास सहयोगी कार्यकर्ताको तलव वृद्धि कार्यान्वयनमा दुविधा देखिएको छ। कुनै स्थानीय तहले प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीको तलव वृद्धि गर्दा र कतिपयले नगर्दा एउटै कामको सेवासुविधामा असमानता सिर्जना भएको देखिएको छ।
फागुन १८, २०७८ बुधबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।