यी तीन नायक जसले मर्न लागेको अस्पताललाई जीवन दिए

यी तीन नायक जसले मर्न लागेको अस्पताललाई जीवन दिए

कुनै बेला ‘रिफर सेन्टर’ र सरकारी जागिर खाने थलो बनेको प्रादेशिक अस्पताल अहिले प्रदेशकै गौरव बनेको छ। कुनै समय तीन बेडको आइसियु उद्घाटन भए पनि चार वर्षसम्म सञ्चालन गर्न नसकिएको त्यही अस्पतालमा अहिले ५० बेडको आइसियु बनेको छ।

छोटो समयमा अस्पताललाई सुधार गर्नेहरु हुन्, डा.राजेन्द्र खनाल, तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष सूर्य भट्टराई र कार्यान्वयन चरणमा नियुक्त भएका डा. इन्द्र ढकाल।

खनाल, भट्टराई र ढकालकै कारण अस्पतालले अहिले मुहार फेरेको छ। त्यसो त यसअघिका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल विकास समितिका अध्यक्ष पनि यो सफलताका केही हिस्सेदार रहेका छन्।

तत्कालीन ५ को २०७६ मंसिर २ को निर्णय अनुसार प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका डा. राजेन्द्र खनाललाई करिब साढे २१ महिनापछि प्रदेश सरकार (मन्त्री परिषद्) को २०७८ असोज १४ को निर्णयबाट अस्पताल प्रमुखबाट हटाइयो।

अस्पतालको अध्यक्षमा सरकारले सूर्य भट्टराईलाई नियुक्त गरेपछि खनाल र भट्टराई मिलेर अस्पताललाई साँच्चै अस्पताल बनाउन एउटा दिशा दिएका थिए। परिणामत: अहिले अस्पताल सुधार भएको छ। 

आउनासाथ अस्पतालको सुधार कसरी गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको अस्पताल विकास समितिका अध्यक्ष सूर्य भट्टराईले बताए। कोभिडको समेत पर्वाह  नगरी दृढ संकल्पका साथ काम गर्दै अगाडि बढेकाले इच्छाशक्ति भएपछि केही गर्न सकिँदोरहेछ भन्ने अनुभूति भएको उनको भनाइ छ।

सामूहिक रुपमा दृढ संकल्पका साथ अस्पताल सुधारमा लाग्ने अठोट गरेकाले आज अस्पताल साँच्चै अस्पताल जस्तै बनेको उनले बताए।

मिहिनेतले मुहार फेरियो

गत असोजमा मेडिकल सुपरिटेन्डनबाट बिदा भएका डा. राजेन्द्र खनाल प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट (एघारौं तह) थिए। त्यसअघि पनि दशौं तहमा हुँदा २०७२ जेठको निर्णय अनुसार पनि उनि तत्कालीन अञ्चल (हाल–प्रादेशिक) अस्पतालको प्रमुख भएर १० महिना जिम्मेवारी पनि सम्हालेका थिए।

त्यो बेला उनकै कार्यकालमा १ सय बेडको अस्पताललाई ७१ बेड थप गरेका थिए भने अस्पतालमा ६ बेडको आइसियु शुभारम्भ भएको थियो।

पछिल्लो करिब दुई वर्षको कार्यकालमा ४५ बेडको क्याबिन सञ्चालनमा आएको डा. खनालले बताए। निर्माणको काम डा. कृष्णप्रसाद खनाल (पूर्व मेसु) को कार्यकालमा भएको भए पनि आफ्नो कार्यकालमा सञ्चालनमा आएको उनको भनाइ छ।

उनले दुई वर्षको अवधिमा नवनिर्मित भवनमा प्रसूति तथा स्त्री रोग उपचारतर्फ ९५ बेडको व्यवस्था र बाल रोग उपचारतर्फ ७० वेड गरी कुल जम्मा १६५ बेडसहित अन्य विभागहरु समेत व्यवस्था भएको बताए। त्यस्तै अत्याधुनिक प्रयोगशाला, ३५ वेडको आइसियु, २० बेडको कोभिड आइसियु र ६० बेडको एचडियु समेत सञ्चालनको अन्तिम तयारीमा रहँदा आफू बिदा हुनु परेको उनको भनाइ छ।

अहिले त्यही ४० बेडको आइसियु अस्पतालको १ सय १२औं वार्षिक उत्सवको अवसरमा उद्घाटन गरिएको छ। त्यस बोहक ५० बेडको मेडिकल वार्ड पनि उद्घाटन गरिएको छ। 

त्यस्तै उनले अस्पतालको गुरुयोजनापछि डिपिआरका लागि मन्त्रालयमा पनि पठाएको र बनाएको डिपिआर अनुसार १० तले भवनमा हुने ७ सय बेड बन्ने बताए। प्रदेश सरकारको निर्णय अनुसार अस्पताल कम्पाउण्ड वरिपरि रहेका बाहिरी व्यक्तिका सटरहरु भत्काउने काम पनि चुनौतीका साथ गरेको उनको भनाइ छ।

अस्पतालमा कोभिडको महामारीमा बुटवलका संघ-संस्थाको सहयोगमा बुटवल- १० धागो कारखानाको ब्लकमा ३६ बेडको एचडियु र १६ बेडको आइसियु निर्माण गरी सञ्चालन समेत भएको थियो। त्यो बाहेक न्युरो तथा युरोको अप्रेसन सेवा, पोष्ट अपरेटिभ वार्डको स्थापना, नयाँ सर्जरी वार्डको शुभारम्भ, डाइलाइसिस सेवाको सुरुवात र विस्तार, १४ बेड थपी ३८ बेडको सुविधा सम्पन्न नयाँ इमेर्जेन्सी सेवाको सुरुवात, इन्डोर फार्मेसी सञ्चालन, बिमा कार्यक्रमको विस्तार, अस्पतालको आफ्नै लाउन्ड्री सेवा स्थापना लगायतका काम भएका छन्।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष सूर्य भट्टराईले आफूहरुको कार्यकालमा अस्पताललाई नमुना बनाउन सकिएको बताएका छन्। कोभिडको पहिलो र दोस्रो लहरमा पनि सक्दो काम गरिएको र त्यो बेला प्रदेश सरकार, बुटवलका संघसंस्था सबैको सहयोग समेत मिलेको उनको भनाइ छ।

ढकालको पनि सक्रियता

काम गरेर मात्र होइन, कार्यान्वयन भए/नभएको पनि महत्वपूर्ण हुन्छ। अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट खनाल हटेपछि उनको स्थानमा डा. इन्द्र ढकाल नियुक्त भए। गत असोज १८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर कार्याभार ग्रहण उनी यसअघि भएका कामको कार्यान्वयनमा दृढ भएर लागेका छन् भने केही नयाँ कार्यको थालनी पनि उनी आएपछि भएको छ।

उनी आएपछि मुटु रोग विभाग स्थापनाको प्रक्रिया अगाडि बढाएका छन्। एमआरइको सेवा यहो वर्षमा सुरु गर्ने गरी प्रक्रिया अघि बढेको छ। उनले आफू आएपछि ट्रमा रूम स्थापना, न्यूरो सर्जरी विभागलाई व्यवस्थित गर्दै चार श्ययाको न्युरो एचडुयु सेवा विस्तार गरिएको बताए।

बिरामीले आपतकालीन उपचारमा सहज उपलब्धता र गुणस्तरीय सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ एमडिजिपी विशेषज्ञ डाक्टरलाई परिचालन गरि २२ बेडमा सीमित रहेको इमरजेन्सी वार्डमा १३ बेड थप गरी ३५ बेडमा विस्तार समेत गरिएकोले अस्पताल अझै सुधार हुँदै गएको छ।

पाँच बेडमा सञ्चालनमा रहेको डायलाइसिस सेवालाई १२ बेड थप गरी १७ बेडमा सेवा विस्तार भएको उनको भनाइ छ। उनका अनुसार एचआइभी र हेपाटाइटिस सम्बन्धी बिरामीको डायलाइसिसका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न २ बेड सेरो पोजिटिभ डायलाइसिस सेवा स्थापना गरिएको छ।

कोभिड महामारीमा अक्सिजन व्यवस्थापन सहज गराउनका लागि अक्सिजन प्लान्ट स्थापना गरी पाइपलाइन विस्तार गर्ने काम सकिएको र दाँत तथा मुख स्वास्थ्यको अति आवश्यक जाँच सिबिआरटी सञ्चालन गरिएको छ।

हाल अस्पतालमा हप्तामा दुई पटक इन्डोस्कोपी हुने सेवा हप्ताको चार पटक हुने व्यवस्था गरिएको छ। एक दिन बिराएर उपलब्ध भइरहेको गर्भवती जाँच र स्त्री रोग जाँचलाई नियमित हरेक दिन हुने व्यवस्था समेत गरिएको छ।

फागुन १८, २०७८ बुधबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।