राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सनको भौतिक प्रगति ४० प्रतिशत

राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सनको भौतिक प्रगति ४० प्रतिशत

भौतिक र वित्तीय गरी हालसम्म कुल ५३ प्रतिशत प्रगति हासिल भएको आयोजनाका सूचना अधिकारी एवं डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए।

बाँध र विद्युतगृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद सम्झौता सम्पन्न भई डिजाइनको काम थालिएको सुवेदीले बताए। 

‘अहिले कुल आयोजनाको प्रगति ५३ प्रतिशत काम भएको छ। दोस्रो चरणको सिभिल निर्माणका काम पनि ४० प्रतिशत सम्पन्न भएको अवस्था छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘तोकिएको समय-सीमाभित्रै सम्पन्न गर्न दोस्रो र तेस्रो चरणका कार्यहरु अघि बढाइएको छ।’

सुवेदीका अनुसार सिभिल निर्माणअन्तर्गत बबई हात्तीखालमा विद्युतगृह निर्माणको जग खन्ने काम भइरहेको छ।

आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ। चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक)ले टनेल बोरिङ मेसिन (टिबिएम)का सहायताले सुरुङ निर्माण गरेको थियो।

आयोजनाले दोस्रो चरणमा सिभिल संरचना अन्तर्गत हेडवक्स, पावर हाउस (विद्युतगृह), बाँध (कफर ड्याम), सर्ज साफ्ट तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल सम्बन्धी कामलाई तेस्रो चरणमा रुपमा काम अघि बढाएको हो। पहिलो चरणमा सुरुङको निर्माण कार्य तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न भइसकेको थियो। 

हाल बाँध (हेडवर्क्स) र विद्युतगृह (पावरहाउस) निर्माण, हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी डिजाइनका कामहरु भइरहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँमध्ये हालसम्म १४ अर्ब बढी रकम खर्च भइसकेको छ। सरकारले आयोजनाका लागि चालु आर्थिक वर्षमा ३ खर्ब ४ करोड ६ लाख रुपैयाँ बजेट पूँजीगततर्फ विनियोजन गरेको छ।

दोस्रो चरणका मुख्य कामहरु बाँध र विद्युतगृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो। कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ। 
संघीय सरकारको स्वामित्वमा रहने गरी भेरी-बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ। यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका-५, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज पनि बन्न लागेको छ।

त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका- ११, हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिने छ। जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ।

फागुन १८, २०७८ बुधबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।