सफलताको कथा : कर्मचारीदेखि ‘फोर स्टार’ होटलका मालिकसम्म, कृषिकर्म पनि सँगसँगै
लुम्बिनी सांस्कृतिक नगरपालिकाको पर्सा चोक नजिकै होटल बुद्धमाया प्रालि सञ्चालन गरेका आचार्य व्यवसायमा मात्र हैन, कृषि कर्ममा समेत रमाउन मन पराउँछन्। त्यसैले त आफ्नो ‘फोर स्टार’ होटल पछाडिको खाली जग्गामा माछा पोखरी, तरकारी खेती र गाईपालन गरेका छन्। होटलको व्यवस्थापनमा भन्दा बढी आनन्द उनले गाई, तरकारी खेती र माछाको स्याहारबाट पाउँछन्।
त्यसो त आचार्य मत्स्य विकास केन्द्रमा प्राविधिक सहायक पदमा कार्यरत थिए। त्यसैले पनि उनलाई अझ बढी कृषि क्षेत्र मन पर्छ। ‘१५ वर्ष जागिरे जीवन बिताइयो। होटल सञ्चालनमा ल्याए पनि आफूलाई आवश्यक तरकारी, गाई पाल्नमा औधी खुसी मिल्छ। त्यसैले यही रमाएको छु,’ उनले भने।
अर्घाखाँचीको पाणिनी गाउँपालिका २०१६ सालमा जन्मिएका मेघनाथले होटल सञ्चालनपूर्व हार्डवेयर र पेट्रोल पम्प सञ्चालन गरेका थिए। जागिरे जीवनमै थाइल्यान्ड (बैंकक) पुगेका बेला बनेको योजनाले सार्थकता पाएको स्वरुप हो, होटल बुद्धमाया प्रालि।
‘कामको सिलसिलामा थाइल्याण्ड पुगेको थिएँ। लुम्बिनीबाट आएको भनेपछि त्यहाँ धेरै सत्कार पाएँ। त्यसपछि लुम्बिनीमा केही उद्यम गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि नेपाल फर्केपछि यो होटल सञ्चालनमा ल्याएको हुँ,’ उनले भने।
२०५२ सालमा हार्डवेयर व्यवसाय र त्यसपछि पेट्रोल पम्प सञ्चालन गरेका मेघनाथ आचार्यले २०६५ सालमा होटल सञ्चालनमा ल्याएका हुन्। ‘लुम्बिनी आउने विश्वका बौद्ध धर्मालम्बीहरुलाई आतिथ्यता गर्न मैले हार्डवेयर, पेट्रोल पम्पबाट सक्ने थिएन। त्यसपछि पर्यटकसँग जोडिने र आतिथ्यता पनि दिन सकिने भएकाले ऋ–णधन गरेर होटल सञ्चालनमा ल्याएको हुँ,’ उनले भने।
२०६५ सालमा २५ वटा रुमबाट सुरू गरेको आचार्यको होटल अहिले ‘फोर स्टार’ लेबलको बनेको छ। होटलमा मात्र उनले ३० जनालाई रोजगारी दिएका छन्।
होटल सञ्चालनको १३ वर्षमा आइपुग्दा मेघनाथसँग यस बीचमा धेरै यादगर अवस्मरणीय क्षण छन्। मधेस आन्दोलनदेखि कोभिडको ‘शून्य समय’ यादगरमध्येकै अझ बढी अविस्मरणीय क्षण भएको उनी बताउँछन्।
‘पहाडबाट तराईमा आएर व्यवसाय गर्न सजिलो थिएन। त्यसै त लुम्बिनीमा पहाडीबासी थिएनन्। त्यसपछि मधेस आन्दोलनमा पहाडी मुल भएकै कारण तारो बनियो,’ विगतका दिन सम्झँदै मेघनाथले भने, ‘होटल तोडफोड भए, तर पनि हिम्मत हारिनँ।’
६० वर्ष पुगेका मेघनाथसँग अझै पनि हिम्मत र साहस छ। त्यति मात्र हैन, केही नयाँ काम गर्ने उठोट र आँट पनि छ। समयक्रमसँगै उनी बदलिन पनि चाहन्छन्। ‘सानो होटल थियो, पुगेकै थियो। फेरि फोर स्टार लेबल किन चाहिन्थ्यो होटल?,’ उनले आफैं प्रश्न गरी उत्तर दिए, ‘यही त हो समयक्रमसँगै परिर्वतन। अहिलेको आवश्यकता सामान्य होटल होइन, ठूला र स्तरीय होटल हो। मैले त्यसैले यसलाई स्तरउन्नति गरें।’
मेघनाथ अब केही ढुक्क छन्। नजिकै २० किलोमिटरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीमा छ। ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न थालेपछि सिधै पर्यटक लुम्बिनी आउन सक्छन्। त्यसैलाई लक्षित गरेर होटलको स्तरवृद्धि गरेको हुँ,’ उनले भने।
सानो पूँजीबाट सुरूआत गरेको उनको व्यवसाय अहिले २०औं करोड लगानीमा पुगेको छ। होटल बुद्धमायाका एक्लो सञ्चालक मेघनाथ कोभिडको २ वर्ष शून्य रहेको पर्यटक गतिविधि पछिल्लो समय उकासिन लागेकोमा खुसी छन्।
‘दुई वर्ष प्रायः शून्य भयो। अब पर्यटकको चहलपहल हुँदैछ। यता विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने मिति नजिकिँदै छ। दिनपछि रात, रातपछि दिन आउँछ भने जस्तै अब दिन फर्केलान् भन्ने आशा छ,’ उनले भने।
लुम्बिनीप्रति चिन्तित
लुम्बिनी क्षेत्रमा पर्यटनसँग जोडेर व्यवसाय सुरु गरेका मेघनाथ लुम्बिनीको विकास र सरकारी निकायको बेवास्ताले चिन्तित छन्। लुम्बिनी नेपालका लागि ‘हिरा’ भए पनि सरकारले यसलाई नचिनेको गुनासो उनको छ।
‘विश्वका धेरै मुलुकले मरुभूमिलाई पर्यटकीय व्यवसायमा विस्तार गरे। हाम्रो लुम्बिनी सधैं राजनितिक खिचातानीको सिकार बन्यो। एउटा गुरुयोजनाको काम समेत ४३ वर्ष पुग्दा सकिएको छैन्,’ उनले भने।
बाल्यकाल र अध्ययन
अर्घाखाँचीबाट २०२१ सालमा कपिलवस्तुको कोपुवा (हाल वाणगंगा नगरपालिका) मा मेघनाथ आचार्य परिवार बसाइँ सरेर गरेर झरेको थियो। मेघनाथका बुबा तिलकराम कोपुवामा झरेपछि कृषि पेसा गर्थे। विद्यालय तह कोपुवामै पढेका उनले तत्कालीन समयमा एसएलसी दिन भने अर्घाखाँची फर्किनुर्पयो। कोपुवामा नजिकै मावि तहको विद्यालय नहुँदा उनले अर्घाखाँचीको शारदा माविबाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरे।
एसएलसी पास भएपछि उनले चितवनको रामपुरमा विज्ञान संकाय लिएर पढे। आइएस्सी उत्तीर्ण गरेपछि मेघनाथले जागिर सुरू गरेका थिए। जागिरपछि मात्र उनी व्यवसायमा जोडिए। मेघनाथका २ छोरा पनि व्यवसायमै जोडिएका छन्।
फागुन १८, २०७८ बुधबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।