पलबारे तनहुँबाट यूट्युवरको पिप्ली लाइभ : शाहकै वकिल भए पीडित

पलबारे तनहुँबाट यूट्युवरको पिप्ली लाइभ : शाहकै वकिल भए पीडित

आइतबारदेखि उनको बास तनहुँमै छ। आफ्नै युट्युब च्यानलबाट पलको पलपलको खबर दिन पुगेका उनका हेडलाइनहरू छन्' हिरासतमा पल सुत्ने ओछ्यान यस्तो', 'पूर्ण गौतमसँग सनसनीपूर्ण अन्तर्वार्ता, 'पल शाह चाहियो भन्दै नाराबाजी।'

उनको प्रस्तुतीले देखाउँछ उनको उदेश्य यो घटनाको चिरफार भन्दा पनि सनसनी मच्चाउने मात्रै हो। 'पलले  शाहले के खानेछन् आज अनि दिउस के खाए हामी अपडेट दिनेछौँ' भन्दै बुममा कराइरहेका उनी जतिसकिन्छ पल प्रकरणमा यूट्युव भ्युज बढाउन चाहन्छन्। त्यसैले उनको ध्यान यस्तैतिर छ। कानुनबारे उनलाई मतलव छैन। त्यसैले घटना अनुसन्धानकोक्रममा रहे पनि उनी पल पक्षका वकिलसँग केस जितिन्छ त भनेर सोध्छन्। जवकी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्याएपछि जाहेरीमा गरिएको दाबी पुष्टी हुने प्रमाण नभए मुद्धा नचल्न पनि सक्छ।

नाबालिगको बलात्कार गरेको आरोपमा आइतबारबाट शाह प्रहरी हिरासतमा पुगेपछि भट्टराई झैँ धेरै युट्युबहरूको जात्रा लागेको छ तनहुँ प्रहरी कार्यालय अगाडि। बालबालिकाहरूलाई कार्यालय अगाडि भेला पारेर पलको पक्षमा नाराबाजी गराउन लगाउने, पललाई भेट्न आउने कलाकार अनि परिवारका सदस्यसँग' तपाईँलाई कस्तो लागिरहेको छ भनेर सोध्ने अनि भाइरलको लोभमा हरेक विषयमा विज्ञ बनेर बोल्ने पुण्य गौतम र जयकिशन बस्नेत जस्तासँग अन्तर्वार्ता लिने उद्देश्य देखिन्छ।

'न्युज फिल्मी', 'आर्टिस्ट खबर', 'रातो पर्दा' लगायतका युट्युब च्यानलका सञ्चालक पिप्ली लाइभमा अगाडि देखिएका छन् तनहुँमा। राम्रै सब्रस्क्राइबर बनाइसकेकाहरू भ्युज बढाएर रेभिन्युज बढाउने ध्याउन्नमा देखिन्छन् भने नयाँ युट्युब च्यानलहरू नाबालिगमाथि बलात्कारको घटनालाई सब्सक्राइबर बढाउने कन्टेन्ट बनाउन दौडिरहेका छन्। 

जो तनहुँ गएका छैनन् उनीहरू काठमाडौँमा बसेर सनसनीखेज हेडलाइनको खोजीमा घटनासँग नजोडिएका पात्रलाई विज्ञझैँ देखाएर भ्रमको खेती गर्न ब्यस्त छन्। जे भन्यो त्यही बोल्ने पात्रहरु खोजी गरिगरी भाइरल कन्टेन्ट बनाउन लागेका छन्। 'अनलाइन टिभी नेपाल', 'केछ नेपाल' लगायतका यूट्युवर यसमा सक्रिय देखिन्छन्।

घटना के हो ?, यसका कानुनी पाटो के हो कुनै मतलब छैन। एकपक्षीय कन्टेन्ट राख्दै सनसनीखेज हेडलाइनकै बोलवाला देखिन्छ। प्रहरी कार्यालय अगाडि भरिएको भिडले प्रहरीको दैनिक गतिविधि प्रभावित भएको छ। भेटघाट गर्न आएकाहरू दिक्क छन्। तर उनीहरूले छाडे पो !

उजुरी परेपछि प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर पललाई हिरासतमा राखेको छ। यो सात दिनमा अनुसन्धानको प्रक्रिया पुरा नभए शाहको हिरासतको म्याद थपिनेछ। तर भेट्न आउनेको भिडका कारण प्रहरीले शाहको बयान लिने क्रम समेत सुरु गर्न पाएको छैन।

हिरासतमा रहेकासँग परिवारका सदस्य र कानुनी सहयोगीले भेट्न पाउँछन्। तर उनीसँग सरोकारै नराख्नेहरू जो चर्चाको भोकमा काठमाडौँबाटै यूट्युवरसँगै बोकेर हिँडेका छन् उनीहरूले समेत पललाई भेट्न दिन दवाब दिँदै आएका छन्।

प्रहरीको रोहबरमा भेट्नेहरूले हिरासतमा रहेकासँग सन्चोविसन्चो बाहेक थप कुराकानी गर्न पाउँदैनन्। कानुनी सहयोगीले भने उनीसँग सबै पक्षबारे छलफल गर्न समय पाउँछन्। पल शाहले अधिवक्ता बिबी विष्टलाई जिम्मेवारी दिएका छन्। तर चर्चाका लागि आएको भिडले शाहका वकिलले समेत उनीसँग विस्तृत छलफल गर्न पाएका छैनन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्का अनुसन्धानका लागि म्याद थप गरेर कारबाही प्रक्रिया अगाडी बढाएको बताउँछन्। जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी आवश्यक प्रक्रिया अगाडी बढाएको उनले उकेरासँग बताए।

शाह पक्राउ परेदेखि स्थानीय युवायुवतीले उनका पक्षमा नाराबाजी गर्दै आएको डिएसपी खड्का बताउँछन्। उनी भन्छन्शा'शाह पक्राउ परेपछि केही भिडभाड बढिरहेको छ। स्थानीय युवाहरूले कार्यालय बाहिर नाराबाजी गर्दै आएका थिए। भिड बिस्तारै कम हुँदै छ। हामीले शाहविरुद्धको अनुसन्धान लाई अगाडी बढाएका छौँ। नाराबाजी र होहल्लाले प्रहरीको अनुसन्धानको काम रोकिँदैन।’

युटुवरका कारण शाहकै बकिललाई हैरानी

यूटुवरका कारण पल शाहको तर्फबाट बहस गर्ने कानुन व्यवसायी बिबी विष्ट समेत पीडित भएका छन्। न्युज फिल्मी च्यानलले ‘पल शाहका वकिल सार्वजनिक : जिताई छाड्ने दाबी’ शीर्षक राखेर भिडियो हालेको छ। कानुन विष्टले आफूले बोल्दै नबोलेको शीर्षक बनाएर बदनाम बनाएको प्रतिक्रिया दिए।

उनले कुनै पनि कानुन व्यवसायीले मुद्दा नै जिताई दिन्छु भनेर भन्न नसक्ने बताउँदै प्रचलित कानुन बमोजिम आफ्नो पक्षको प्रतिरक्षा गर्नु प्रत्येक कानुन व्यवसायीको कर्तव्य र जिम्मेवारी मात्र भएको बताए। 

कानुन व्यवसायी विष्ट फेसबुकमा लेख्छन्,‘आफ्नो कर्तव्य र जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने कुरामा म प्रतिबद्ध छु। मैले मेरो पक्षलाई भेटेको र उहाँको स्वास्थ्य स्थिति बुझेको हुँ। उहाँले नेपालको कानुनलाई पूर्णपुरमा पालना गरेको र सम्मानित अदालतबाट न्याय पाउने कुरामा कुनै शङ्का नभएकाले शुभचिन्तकलाई कुनै भीड र कानुन वर्जित कार्य नगर्न आग्रह गरेको हुँ।  आफ्नो बिचार राख्दा सभ्य र शालीन तरिकाले प्रस्तुत हुन् बाहेकका अन्य कुनै पनि कुरा गरेको छैन। त्यसैले, कुनै पनि भ्रमपूर्ण समाचारमाथि विश्वास नगर्नु।’

शाहको पक्षका कानुन व्यवसायी विष्टले उकेरासँगको कुराकानीमा यूटुवरहरुले आफूले नबोलेको कुरालाई हेडलाइन बनाएर बदनाम गर्न खोजेको बताए। उनले भने,‘कुनै पनि यूटुवरले बोल्दै नबोलेको कुरा अफवाह फैलाउने उद्देश्यले प्रसारण गर्न मिल्दैन। भ्युअर बढाउने नाममा बोल्दै नबोलेको कुरालाई अतिरञ्जित गरेर समाचार बनाउनु अपराध हो। यस्तो हर्कत गर्नेलाई कानुनले दण्ड सजायको व्यवस्था छ।

कानुन व्यवसायी विष्टले कुनै पनि प्रसारित समाचार वा सामाग्री प्रति गालीगलौजपूर्ण प्रतिक्रिया दिनेहरूलाई समेत कानुनी कारबाहीको व्यवस्था रहेकाले सबै सचेत हुन जरुरी रहेको बताए। 

फागुन १७, २०७८ मंगलबार १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।