नाबालिगकै करमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार होः ॠचा शर्मा
काठमाडौंः नायिका ॠचा शर्माले नाबालिग बलात्कार प्रकरणमा मुख खोलेकी छन्। एक नाबालिगको बलात्कारको अभियोगमा कलाकार पल शाह पक्राउ परेपछि कलाकारहरू पलको बचाउमा लागिरहेका बेला शर्माले १८ वर्षमुनिका नाबालिगसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै नायिका शर्माले मुलुकी अपराध संहिताका अनुसार १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार भएको ठहर्ने बताएकी छन्। नाबालिगको संरक्षण गर्नु नै कानुनको सम्मान भएको समेत बताउँदै उनले समाजले नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर नाबालिगको चरित्र हत्या गर्न पनि नसक्ने विश्वास व्यक्त गरेकी छन्।
कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको उनको भनाइ छ।
"मुलुकी अपराध संहिताले भन्छ '१८ वर्षमुनिका सँग यौन सम्बन्ध राख्नु बलात्कार हो।' कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौँ नि। हैन र?", ऋचाले प्रश्न गरेकी छिन्।
यस्तो छ ऋचाको स्टेटस
फागुन १७, २०७८ मंगलबार १२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।