सुर्खेत कांग्रेस पार्टी कार्यालयमा ढुंगामुढा, १० जना पक्राउ
सुर्खेत : एमसिसी विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर बन्दकर्ताले ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार ढुंगामुढाबाट कार्यालयको झ्यालका सिसा फुटेका छन्।
आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आधा दर्जन बढी प्रहरी घाइते भएका छन्। यस्तै आन्दोलन गर्दै तोडफोड र प्रहरीमाथि ढंगामुढा गर्ने १० जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।
‘शान्तिपूर्ण ढंगले तपाईंको कार्यक्रम गर्नूस् भन्दाभन्दै पनि सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको छ। पार्टी कार्यालय र अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड गरिएको छ,’ प्रवक्ता घर्तीले भने, ‘अहिलेसम्म पनि आन्दोलन चर्किरहेको छ।’
विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको छ।
प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस हानेको थियो।
बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। राजधानीबाट बाहिरिने तथा भित्रने कुनै पनि सवारी नचलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
फागुन १६, २०७८ सोमबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।