आज १० वर्ष पूरा भयो तर प्रश्नको जवाफ भेटिएन- छोरीमैयाँ खै?
काठमाडौं : जैसिदेवल नजिकै रहेको आफ्नो घरबाट रातो ठूलो बुट्टे सारी लगाएर, एउटा हाते झोला बोकेर बिहान ८ बजेतिर निस्किएकी थिइन् ५१ वर्षीया छोरीमैयाँ महर्जन।
आज फागुन १६ गते ठ्याक्कै १० वर्ष पूरा भएको छ, तर अझै पनि उनको अवस्था पत्ता लागेको छैन।
आज बिहान साढे चार नबज्दै पोस्ट गरिएको एउटा फेसबुक स्टाटसमा मलाई ट्याग गरिएको रहेछ। बिहान मोबाइल हातमा परेपछि सबैभन्दा पहिला त्यसैमा आँखा गयो।
छोरीमैयाँकै कान्छी छोरी सुधाले लेखेको त्यो स्टाटसमा भनिएको छ, ‘सबै जना भन्छन्, पीडित भएर आवाज उठाइराख्नुपर्छ न्याय नपाउन्जेल। हामी बोली पनि रहेका छौं। तर हामीलाई मानसिक तनावको कारणले कति पीडा हुन्छ भनेर कसैले बुझ्न सक्नुहुन्छ?’
यो ‘पीडा’ शब्द हेर्दा दुई अक्षरको मात्र हो। उकेरामा #ChhoriMaiyaKhai सिरिजका लागि विस्तृत रिपोर्टिङ नगरेको भए मलाई पनि यो दुई अक्षरको एउटा शब्द जस्तै मात्र लाग्थ्यो होला पक्कै। किनभने, १० वर्षअघि नागरिक दैनिकको अनलाइन नागरिकन्युजमा काम गर्दा मैले यो सम्बन्धी समाचारलाई खासै प्राथमिकता दिएको थिइनँ। सन् २००५ देखि चलाएको ब्लगमा एउटा ब्लग पनि छोरीमैयाँको विषयमा रहेनछ।
सिरिज सुरु गर्नुअघि मलाई जम्मा यत्ति थाहा थियो- राजधानीबाट ढुकुटी-सुकुटी पनि खेल्ने-खेलाउने एक महिला लामो समयदेखि हराइरहेकी छिन्।
नायिका प्रियंका कार्कीको बेबी सावरपछि एक्कासि यो इस्यु सोसल मिडियामा फेरि उठ्यो। छोरीमैयाँको परिवारसँगै निकट रहेका एक साथीले यो विषयमा रिपोर्टिङ गर्न सुझाए। उनले मैले निर्मला प्रकरणमा पहिलोपोस्टमा हुँदा लेखेको #WhoKilledNirmala सिरिज पढेका रहेछन्।
यस्तो किसिमको विस्तृत अनुसन्धानमुलक रिपोर्टिङ एक्लै गर्न सम्भव हुन्न। त्यसैले हाल उकेराका सम्पादक तथा मेरा पुराना मित्र केपी ढुंगानालाई सम्झिएँ। उनले आफू र आफ्नो टिमले सहयोग गर्ने वचन दिएपछि हामीले संयुक्त रुपमा तयारी थाल्यौँ र विभिन्न कागजातका विस्तृत अध्ययन र सम्वद्ध थुप्रै मानिससित कुरा गर्यौँ। र, सिरिजका रुपमा यसलाई प्रस्तुत गर्न थाल्यौँ।
यस्तो खालको रिपोर्टिङमा एकै व्यक्तिसँग धेरै पटक धेरै समय कुरा गरिरहनुपर्ने हुन्छ। एउटै विषयलाई धेरै ठाउँबाट भेरिफाइ गरिरहनु पर्ने हुन्छ।
यही क्रममा घटनाबारे जानकारी लिन सबभन्दा बढी सुधासँग नै कुरा हुन्थ्यो। कान्छी छोरी भए पनि उनी परिवारमा सबभन्दा ‘स्ट्रङ’ देखिन्छिन्।
कुरा हुँदा बारम्बार उनी भन्ने गर्छिन्- दाइ, यो सब सम्झँदा हामीलाई निकै पीडा हुन्छ।
तर, आफूलाई चाहिएको जानकारी लिन उनीसँग कुरा गरिरहनुपर्ने बाध्यता थियो। आफूले पाएको नयाँ जानकारी भेरिफाइ गर्न उनीसँग मेसेन्जरमा कुरा गरिरहनुपर्ने हुन्थ्यो।
हाम्रो सिरिजका क्रममा परिवार र आफन्तजनले त्यतिबेला नखुलेका धेरै कुराहरु पनि थाहा पाए। कतिपय अवस्थामा उनीहरु ‘सक्ड’ समेत भए। यसले उनीहरुलाई अझै पीडामा पारिरहेको सुधाका भनाइहरुले प्रष्ट्याउँथ्यो।
एक दिन उनले मेसेन्जरमा लेखिन्, ‘मेरी आमालाई ती पापीहरुले के गरे होलान् भनेर सोचेर रातभर निद्रै लागेन।’
मलाई ज्यादै नरमाइलो लाग्यो। बल्ल-बल्ल पुरानो कुरालाई थाती राखेर सामान्य जीवन जिउने प्रयासमा रहेको यो परिवारलाई हामीले झन् पीडामा त पारिरहेका छैनौँ?
आज उनले लेखेको स्टाटसमा पनि त्यही पीडा पोखिएको हो, ‘सबै जना भन्छन्, पीडित भएर आवाज उठाइराख्नुपर्छ न्याय नपाउन्जेल।’
पछिल्लो समय सामाजिक सञ्जालमा यो विषय फेरि उठेपछि धेरैले उनीहरुलाई सोध्ने एउटै प्रश्न हो- तपाईँहरु किन बोल्नुहुन्न? हामीसँग बोल्नूस्।
धेरैलाई अचम्म लाग्छ, किन उनीहरु बोल्न मान्दैनन्?
जवाफ उनकै स्टाटसमा लुकेको छ, ‘हामी बोली पनि रहेका छौं। तर हामीलाई मानसिक तनावको कारणले कति पीडा हुन्छ भनेर कसैले बुझ्न सक्नुहुन्छ?’
अहँ, हामीसँग त्यो बुझ्ने सामर्थ्य छैन। हामीले गर्न सक्ने भनेको अनुमान मात्र हो, तर त्यो पनि वास्तविकतासँग नजिक नहुन सक्छ।
तपाईँकी आमा एक दिन घरमा नआए तपाईँलाई कस्तो महसुस हुन्छ? यो परिवारले त त्यस्ता दिन हैन, वर्ष नै १० वटा पूरा गरिसकेको छ।
तपाईँकी आमालाई एउटा शक्तिशाली परिवारका सदस्यले बेपत्ता पारेको शंका हुन्छ तर उसका विरुद्ध राज्यले कुनै दरिलो प्रमाण बिना मुद्दा चलाएर अदालतमा हराइन्छ भने तपाईँलाई कस्तो लाग्छ ?
तपाईँ आमा खोज्न वर्षौँ सडकमा संघर्ष गर्नुहुन्छ। भोक-प्यास केही नभनी जुट्नुहुन्छ, तर एउटा सामान्य प्रश्न ‘हाम्री आमा खै’ को जवाफ कहिले पनि पाउन सक्नुहुन्न भने तपाईँलाई कस्तो लाग्छ?
त्यो सब मानसिक पीडालाई बिर्सेर हामी युट्युबमा उनीहरुलाई बोलाउन खोज्छौँ। उनीहरु बोल्न चाहँदैनन्। अनि दोष उनीहरुलाई थोपर्न पछि पर्दैनौँ।
उनीहरु बोल्न त बोलिरहेका छन्। आजै पनि उनले लेखेकी छिन्- यो देशमा पीडितले न्याय थोरैले मात्र पाउँछन्, त्यो पनि ठूला-बडाले मात्र। अनि न्याय कसले पाउँदैनन् भन्ने कुरा कुनै केसमा ठूला-बडा भनाउँदाहरु मुछिए भने। यही हो वास्तविकता।
आजै पनि उनीसँग रिपोर्टिङकै क्रममा भेट्ने सल्लाह थियो। तर चार/पाँच रिङमा पनि फोन नउठेपछि डिस्टर्ब पो गरिएछ कि भन्ने भएर काटेँ।
सिरिजका क्रममा अर्को नरमाइलो घटना १०औँ शृङ्खला प्रकाशनपछि भयो। छोरीमैयाँ जुन भारतीयसँग पोइल गइन् भनेर हल्ला चलाइएको थियो, त्योसित प्रहरीले उहिल्यै बयान लिएर भेरिफाइ गरिसकेको थियो। तर त्यस्तो हल्ला अझै पनि छ।
यो हल्लालाई आफ्नोतर्फबाट भेरिफाइ गर्न मैले छोरीमैयाँको घर नजिकैको सटरमा काम गरिरहेका भारतीय रुस्तमसित कुरा गरेको थिएँ। र, उनको फोटोसहित शृङ्खला प्रकाशन गरेका थियौँ।
भोलिपल्ट उनलाई पसल वरपरका मान्छेहरुले के भनेर तर्साइदिए कुन्नि, आत्तिएर फोन गरे। उनलाई प्रहरीले फेरि लगेर दुःख देला भन्ने निकै डर रहेछ। बिचरालाई फेरि नेपाली पढ्न पनि नआउने रहेछ। के लेखिएको छ भनी थाहा छैन, फोटो छापिएको छ, अनि अरुले के-के भनेर तर्साइदिइरहेका छन्, कस्तो होला मनस्थिति उनको?
२१ अङ्कको हाम्रो सिरिजले धेरै कुरा प्रष्ट पारिसकेको छ। यो क्रममा हामीलाई सहयोग गर्ने र नगर्ने वर्तमान तथा पूर्व सबै अनुसन्धानकर्मीहरुलाई धन्यवाद।
हामीसँग अझै पनि केही सूचना छन्, जसको भेरिफाइ गर्न बाँकी छ। केही सूचना यस्ता छन्, जसको नागरिक स्तरमा भेरिफाइ गर्न कठिन छ तर राज्य लागिपर्यो भने सम्भव हुन पनि सक्छ। हामीले सूचना पनि पाएका छौँ कि जटिल प्रकृतिको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छोरीमैयाँ केसको फाइल बन्द गरिसकेको छैन, खुलै राखेको छ। जसले यो प्रश्नको जवाफ आउने आशा झिनो भए पनि कायमै राखेको छ- छोरीमैयाँ खै?
सुधाले आज सोधेकी छिन्, ‘अझै कति समय लाग्ने हो उहाँको स्थितिबारे हामीले थाहा पाउनु लागि?? कसले दिने यसको जवाफ??’
अन्तिम भागहरुसहित शृङ्खला चाँडै नै सुरु हुनेछ।
अघिल्ला शृंखला
फागुन १६, २०७८ सोमबार १९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।