प्रदेश १ मा आफ्नै समर्थनमा बनेको सरकारविरुद्ध उभिए कांग्रेस सांसद
इटहरी : प्रदेश १ मा नेपाली कांग्रेसको समर्थनसहित ५ दलीय गठबन्धनमा बनेको सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै सत्तारुढ दल कांग्रेसले सरकारको विरोध गरेको छ।
अघिल्ला सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएर सत्तामा सम्हाल्दा पनि कुनै उपलब्धि दिन नसकेको कांग्रेसको ठहर छ।
गत कात्तिक १६ मा एमालेको सरकार अल्पमतमा परेपछि ५ दलीय गठबन्धनको सरकार गठन भएको थियो। प्रदेशको नाम समेत राख्न नसकेको भन्दै कांग्रेस सहित, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सरकार गठन भएको थियो।
केन्द्रीय समीकरण अनुसार प्रदेशसभाको चौथो ठुलो दल एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वका सरकार गठन भएको थियो।
सरकार गठन भएको लामो समयसम्म पनि उपलब्धि दिन नसकेको भन्दै प्रतिपक्षी दलसँगै सत्तारुढ दलबाटै सरकारको आलोचना हुन थालेको छ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको प्रभावकारिता चित्तबुझ्दो र परिणाममुखी नदेखिएको निष्कर्ष निकाल्यो। संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन सरकार प्रभावकारी बन्न नसकेको ठहर गरेको हो।
सरकारको कामकारबाहीले गठबन्धनको संस्कृति र मूल आत्मालाई विमुख बनाएको कांग्रेस सचेतक सुर्यमाराज राईले बताए। दलहरूको बिचमा सहमतिको अभ्यास नभएको भन्दै उनले मन्त्रालय र नेताहरू बिचमा समन्वय नभएको बताए।
प्रदेशको नाम समेत राख्न नसकेको आरोप लागेको बेला सरकार अलमलमा परेको निष्कर्ष निकालिएको उनको भनाई छ।
बैठकमा अधिकांश कांग्रेस सांसदहरूले सरकारको काम चित्तबुझ्दो नभएको धारणा राखेका थिए। गठबन्धन सरकार गठनको समयमा कांग्रेस संसदीय दलका नेता कोइरालालाई उच्चस्तरीय संयन्त्रको संयोजक तोकिए थियो।
तर सरकार सञ्चालनदेखि मन्त्रालय विभाजनमा समेत कुनै पनि समन्वय र सरसल्लाह नगरेको कांग्रेसको आरोप छ। बैठकले तीन महिनाको अवधिमा जनतासामु जान नसकेको र खासै उपलब्धिपूर्ण काम गर्न नसकेको कांग्रेस ठहर समेत गरेको छ।
सोही निर्णय अनुसार कांग्रेस सांसद ज्योति सुब्बाले गठबन्धन सरकार भित्र कांग्रेसलाई कमजोर पार्न खोजिएको बताएकी थिइन्। सोमबार प्रदेशसभामा बोल्दै सांसद सुब्बाले सरकार एकपक्षीय रूपमा सञ्चालन भएको असन्तुष्टि जनाइन्।
गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई मुख्यमन्त्रीले बुख्याँचा बनाउन खोजेको उनको आरोप थियो। मुख्यमन्त्रीले आफ्नो शैली नसुधारे कांग्रेसलाई गठबन्धन नचाहिने उनले चेतावनी दिइन्।
संसद्को दोस्रो ठुलो दल काँग्रेस सरकारमा रहे पनि मुख्यमन्त्री र अर्थमन्त्रीले आफ्नो खुसीले मन्त्रीमण्डल गठन गरेको उनको भनाई छ।
'गठबन्धनमा नेपाली कांग्रेस झोले हो ? गठबन्धनको झोला बोक्ने हो हामी माओवादी र एकीकृत समाजवादीको ? हामी नोकर होइन, हामी झोले होइन,' उनले भनिन् 'यदि दुई जनाले मात्रै निर्णय गर्ने हो भने हामी गठबन्धन सरकारमा बस्न चाहँदैनौँ, हामीलाई यस्तो गठबन्धन चाहिँदैन।'
फागुन १६, २०७८ सोमबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।