आज रुस र युक्रेनबीच वार्ता हुँदै, आणविक हतियार उच्च सतर्कतामा राख्न पुटिनको निर्देशन
एजेन्सीः रुस र युक्रेनबीच जारी युद्ध रोक्नका लागि आज दुई देशबीच वार्ता हुँदैछ। वार्ता युक्रेन-बेलारुस सीमामा हुँदैछ।
यसअघि बेलारुसको भूमि प्रयोग गर्दै रुसले युक्रेनमाथि धावा बोलेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुसले मध्यस्त गर्न नहुने बताउँदै आएका थिए। तर बेलारुसले युक्रेनी अधिकारीको सुरक्षाको प्रत्याभूति गरेका कारण आज सो क्षेत्रमा वार्ता हुन लागेको हो।
यता यहीबीच जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जनसनसँग पनि फोन सम्पर्क गरेका छन्। त्यसक्रममा उनले आगामी २४ घण्टा अति महत्त्वपूर्ण हुने बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विभिन्न आणविकसहितका घातक हतियारहरू उच्च सतर्कतामा राख्न निर्देशन दिएसँगै जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो।
हालसम्म अपुष्ट सूचनाका अनुसार करिब चार हजार पाँच सय रुसी सेना यो युद्धमा मारिएको युक्रेनले बताएको छ।
फागुन १६, २०७८ सोमबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।