पोखरा अर्मलामा ३ करोडको लागतमा मोटरेवल पुल निर्माण
पोखरा : पोखराको अर्मलामा ३ करोडको लागतमा मोटरेलव पुल निर्माण सम्पन्न भएको छ। स्थानीयलाई आवत जावतमा समस्या भएपछि पोखरा महानगरपालिकाले ३ करोड २ लाख रुपैयाँ खर्चेर पुल निर्माण गरेको हो। आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुलको उद्घाटन गरेका छन्।
पुल उद्घाटनका क्रममा मेयर जिसीले स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गरेर महानगरले मोटरेवल पुल निर्माण गरेको बताए । उनले भने,‘बर्खा याममा स्थानीय जनतालाई आवत जावतमा समस्या देखिएपछि महानगरले मोटरेवल पुल निर्माण थालेको हो।
पुल निर्माण भएकाले अब, महानगरले अगामी सारेको कनेक्टिङ रोडको अवधारलाई सहज बनाएको छ। यही ठाउँ हुँदै सङ्घ सरकारले निर्माण गरिरहेको छोटो मार्ग अन्तरगत निर्माण गरिएको मध्य पहाडी राजमार्ग यहीँबाट लैजान पहल भइरहेको छ । यो पुलकै बाटो भएर मध्य पहाडी राजमार्ग जाओस् भन्ने हाम्रो चाहना छ।’
मेयर जिसीले स्थानीय जनताले यहीँबाट मध्य पहाडी राजमार्ग बनाउन संस्कृति दिएको खण्डमा महानगरले कामलाई अघि बढाउन अगुवाइ गर्ने उल्लेख गरे।
पोखरा महानगरले ‘विकटलाई निकट’ल्याउने योजनाअनुसार २०७६-०७७ को आर्थिक वर्षबाट कनेक्टिङ रोडको अवधारणा ल्याएर कार्यान्वयन सुरु गरिएको थियो । सोही योजना अनुसार पुल निर्माण गरिएको हो।
भौगोलिक क्षेत्रफलका हिसाबले पोखरालाई देशकै ठुलो महानगर बनाउन सरकारले नजिकका गाविसहरू गाभेर बनाएको थियो। महानगरले ती गाविसहरूमा महानगरका लागि न्यूनतम सेवा सुविधा विस्तार गर्दै ग्रामीण वडासँग मुख्य सहरलाई जोड्ने गरी ‘कनेक्टिङ सडक’ र पुल निर्माणलाई प्राथमिकतामा राखेको थियो।
तोकिएकै समयमा पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको छ। स्थानीय विनोद आचार्यले वर्षायाममा खोला बढेर आवतजावत बन्द हुँदा बर्षौंदेखि समस्या झेल्दै आएका जनतामा पुल निर्माण भएसँगै खुसीयाली छाएको बताए।
उनले अर्मलामा पुल निर्माण सम्पन्न भएपछि मौजा, तुम्के, घोर कुना, दादरे, अर्मलाकोट, मादी र लमजुङको दूध पोखरीका जनतालाई आवत जावत गर्न सहज भएको बताए।
फागुन १५, २०७८ आइतबार २२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।