स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीले गरे अंगदानको घोषणा

स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीले गरे अंगदानको घोषणा

काठमाडौंः स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदानको घोषणा गरेका छन्। स्वास्थ्य सेवा दिवस–२०७८ को उपलक्ष्यमा आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले अंगदानको घोषणा गरेका हुन्।

कार्यक्रममा मन्त्री खतिवडाले भने, ‘मैले आज अंगदान गर्ने घोषणा गरें।' मुख्यसचिव बैरागीले अंगदान गर्ने आफ्नो पनि चाहना भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन आग्रह गरे। 

घोषणपछि मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले अंगदान गर्ने कागजातमा हस्ताक्षर गर्नुका साथै ल्याप्चे लगाएका थिए।

स्वास्थ्यकर्मी सम्मानित
स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा म्याग्दीको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जीतेन्द्र कँडेलले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार पाएका छन्। उनले नगद एक लाखसहित पुरस्कार पाएका हुन्। 

त्यसैगरी चार जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा पुरस्कार पाएका छन्। पुरस्कार पाउनेमा बाजुरा अस्पतालकी अनमी धनकला थापा, सुर्खेतस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन ओमराज आचार्य, रौतहटको प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सीअहेब योगन्द्र कट्टेल छन्।

चारै जनाले प्रमाणपत्रसहित जनही नगद ५० हजार पाए।

त्यसैगरी कोभिड–१९ विरुद्धको अभियानमा योगदान पुर्याएका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारी पनि पुरस्कृत भएका छन्।
पुरस्कृत हुनेमा फार्मेसी अधिकृत सञ्जीव कट्टेल, कविराज रुद्रनारायण महतो, वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापा, अनमी प्रेमकुमारी केसी, मेडिकल अधिकृत डा. शरदचन्द्र बराल, स्वास्थ्य स्वयंसेविका लीला थापा छन्।  

यस्तै वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी, अस्पताल नर्सिङ निरीक्षक सञ्जु रिजाल, हेल्थ असिस्टेन्ट लालबहादुर रोक्का र हलुका सवारी चालक गगन विक कोभिड–१९ विरुद्धको अभियानमा योगदान पुर्याएवापत पुरस्कृत भएका हुन्। पुरस्कृत हुने दश जनाले सम्मान पत्र पाएका छन्।

‘गुणस्तरिय स्वास्थ्य सेवाः हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस–२०७८ मनाइएको हो। सो दिवसको अवसरमा मन्त्रालयमा अंगदान शिविर, निशुल्क मिर्गौला परीक्षण शिविर, योग जस्ता कार्यक्रम गरिएको थियो।

फागुन १५, २०७८ आइतबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।