देवदहमा ७ दलीय गठबन्धनसामु एमालेको प्यानलै विजयी, अध्यक्षमा गुमानसिंह कुँवर
रुपन्देहीः जिल्लाको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। ७ दलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा भिडेको एमालेको प्यानलै विजयी भएको हो।
७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, स्वतन्त्र र नेकपा क्रान्तिकारी माओवादी रहेका थिए।
निर्वाचनको परिणामअनुसार अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले एक हजार सात सय आठ मत ल्याएर विजयी भएका छन्। अध्यक्षका प्रत्यासी मोतीलाल ढकालले एक हजार तीन सय ६७ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा अनिसा पौडेलले एक हजार पाँच सय नौ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रत्यासी मीनादेवी रिमालले एक हजार तीन सय ९८ मत प्राप्त गरिन्।
सचिवका उम्मेदवार हरिप्रसाद पाण्डेले एक हजार पाँच सय ६१ मत ल्याएर विजयी भए। त्यसैगरी कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवालीले एक हजार ६ सय २६ मत ल्याएर विजयी भए।
सदस्यहरूको लागि भएको निर्वाचनमा देवदह–५ बाट चक्रपानी न्यौपाने र अनिता कुँवर विजयी भए। यसैगरी देवदह–७ मा गौमति बुढाथोकी र उपेन्द्र पाण्डे विजयी भए। देवदह–८ को सदस्यमा रिमबहादुर ढेंगा विजयी हुँदा देवदह–६ को सदस्यमा संयुक्त गठबन्धनका उम्मेदवार रुक्माङ्गत भारती विजयी भए। देवदह–९ को सदस्यमा विष्णु भट्टराई विजयी भए।
निर्वाचनमा चार हजार चार सय ३८ मतदातामध्ये तीन हजार एक सय एक जनाले मतदान गरेका थिए। यसमध्ये ४८ मत बदर भएको निर्वाचन मण्डलका सञ्योजक डासीराम पाण्डेले जानकारी दिएका छन्।
फागुन १५, २०७८ आइतबार ०८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।