पुष्पाको रेकर्ड तोड्दै साउथको मुभी 'भलीमाई'

पुष्पाको रेकर्ड तोड्दै साउथको मुभी 'भलीमाई'

काठमाडौँ : हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म 'भलीमाई' ले भारतको फिल्म हलमा हङ्गामा मच्याइरहेको छ।

यस अगाडि पुष्पाले बनाएको रेकर्डहरू यो फिल्मले तोड्ने भारतीय फिल्म समीक्षकहरूको बलिउडहंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको यो फिल्मले रिलिज अगाडि नै लगानी उठाइसकेको थियो।

पहिलो दिन ग्रस कलेक्सन एक अर्ब पार गरेको फिल्मको दोस्रो दिनको व्यापार ६० करोड आसपास भयो। अजितको फिल्म हिन्दीमा समेत डब गरिएको छ।

हिन्दी फिल्म निर्माण गर्दै आएका बोनी कपुर निर्माता रहेको फिल्ममा बलिउड नायिका हुमाका कारण हिन्दी भाषीमाझ समेत राम्रो व्यापार गरिरहेको छ।

यो फिल्मले एक्लै तामिलनाडु बक्स अफिसबाट मात्रै पहिलो दिन ३७ करोड १७ लाखको व्यापार गरेको थियो। दोस्रो दिन फिल्मले तामिलनाडुमा मात्रै २४ करोड ६२ लाखको व्यापार गरेको छ।

हिन्दी र तेलगु भाषामा समेत डब भएको यसको गति हेर्दा साढे तीन अर्बको व्यापार गरेको पुष्पालाई जित्ने फिल्म व्यापारका जानकारहरूको आङ्कलन छ।

फिल्म समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएको यो फिल्म नेपालमा पल शाह र पूजा शर्माको ' म यस्तो गीत गाउँछु' र भारतीय फिल्म गंगुबाईसँगै प्रदर्शन भइरहेको छ। नेपालमा 'म यस्तो गीत गाउँछु' पछि 'भलीमाई'लाई दर्शकले रुचाएको देखिन्छ।

फागुन १४, २०७८ शनिबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।