युक्रेनसँग भिडिरहेको रुस फेसबुकसँग पनि भिड्दै
एजेन्सीः यतिबेला युक्रेनविरुद्ध युद्धमा होमिएको रुस फेसबुकविरुद्ध पनि भिडिरहेको छ। फेसबुकले रुसका केही सञ्चारमाध्यमका अकाउण्टमा 'प्रतिबन्ध' लगाएसँगै रुस-फेसबुक युद्धले अहिले माहोल तताएको छ।
रुसले फेसबुकलाई 'सेन्सरशीप' लगाएको र 'रुसी जनताको स्वतन्त्रताको हनन्' गरेको आरोप लगाएको छ। यता फेसबुकले रुसको राज्यनियन्त्रित सञ्चारमाध्यमको 'फ्याक्ट चेकिङ' र 'लेबलिङ' गर्न छोडेको बताएको छ।
रुसले युक्रेनमाथि हमला गरेको दोस्रो दिन फेसबुकले यस्तो कदम चालेको हो। लगत्तै रुसले पनि फेसबुकको पहुँच सीमित पारिदिएको छ। तर सीमित कुन हकमा भन्नेबारे भने प्रष्ट भएको छैन। यस्तै रुसको कदमले फेसबुकको प्यारेन्ट कम्पनी मेटाबाट सञ्चालित वाट्सएप, मेसेन्जर, इन्टाग्रामहरू के कति प्रभावित हुन्छन् यो प्रष्ट भएको छैन।
यस्तै रुसले सरकारी न्युज एजेन्सी आरआईए, टेलिभिजन अभेज्डालगायतमाथि लगाइएको प्रतिबन्ध खुला गर्न फेसबुकको प्यारेन्ट कम्पनी मेटासँग माग गरेको छ। बीबीसीका अनुसार मेटाले यी मागहरू अस्वीकार गरिदिएको छ।
फागुन १४, २०७८ शनिबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।