एमसीसी ल्याउनुपर्छ भन्नेलाई केही गर्दैनन्, मलाई ढुङ्गा हान्छन् : ओली
पोखरा : एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दल भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्। शुक्रवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकार ऋणमा चुर्लुम्म डुबेको बताए।
कार्यक्रममा उनले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको बताए।
सत्तारूढ दलले नै कार्यकर्तालाई सडकमा उतारेर प्रहरीलाई ढुङ्गा हान्न लगाएको आरोप लगाएका छन्। एमसीसी ल्याउनुपर्छ भन्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुङ्गा हानिएको उनको भनाइ छ।
फागुन ८ गते संसद् बैठकबाट बालकोट जानेक्रममा शंखुमलमा ओलीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गरिएको थियो।
‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हान्दैनन्। ताली बजाउँछन्। बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुङ्गा हानेनन्। नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन्। ढुङ्गा हानिँदैन। एमसीसी ठिक छ भनेर कुरा टुङ्ग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्दा ढुङ्गा हानिँदैन,’ ओलीले भने, ‘म बाटोबाट हिँड्छु अनि ढुङ्गा हान्छन्।’
फागुन १३, २०७८ शुक्रबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।