ट्रमा सेन्टरका सि-आर्म मेशिन बिग्रिए: बिरामी कि फर्किन, कि १० दिनसम्म कुर्न बाध्य
काठमाडौः राष्ट्रिय ट्रमा सेन्टरका आठमध्ये पाँच वटा सि-आर्म मेशिन बिग्रिएको छ। मेशिन बिग्रदा दैनिक हुने शल्यक्रिया समेत घटेको छ।
अस्पताल स्रोतका अनुसार यसअघि दैनिक १५/१६ जना बिरामीको शल्यक्रिया हुने गरेको भए पनि डेढ महिना यता एकपछि अर्को सि-आर्म मेशिन बिग्रिएकाले हाल दैनिक १० वटाभन्दा बढी शल्यक्रिया हुन सकेको छैन।
सि-आर्म मेशिन बिग्रिएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीले झण्डै १० दिनभन्दा बढी पालो कुरेर शल्यक्रिया गर्नुपरेको ट्रमाका चिकित्सक बताउँछन्।
अस्पतालका प्रमुख डा. प्रमोद जोशीले भने सि-आर्म मेशीन बिग्रिएको र बनाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनले भने, ‘हाम्रै बायोमेडिकल इञ्जिनियरहरूले बनाउँदै हुनुहुन्छ। कम्पनीका मान्छे पनि बोलाएका छौं।’
अबको केही दिनमै सि-आर्म मेशिन बनिसक्ने उनको दावी छ।
के हो सि-आर्म ?
सि-आर्म एक प्रकारको एक्स–रे मेशिन हो। बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता हाल्दा सि-आर्म मेशिनको सहयोगले हालिन्छ।
सामान्य किसिमको शल्यक्रिया सि-आर्म बिनै गर्न सकिए पनि जटिल किसिमको शल्यक्रिया सि-आर्म मेशिन बिना गर्दा त्रुटी हुनसक्ने चिकित्सक बताउँछन्।
ट्रमाका एक चिकित्सक भन्छन्, ‘सि-आर्म बिना त अप्रेशन नै गर्न सकिँदैन। सि-आर्म नहुँदा केस क्यान्सिल गर्नुपरिरहेको छ।’
शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने भएपछि कतिपय बिरामी अन्यत्र जाने गरेको र विशेषगरी आर्थिक अवस्था कमजोर हुने बिरामीले पालो कुर्ने गरेको एक चिकित्सकले बताए।
उनले भने, ‘पैसा हुनेहरू फर्कन्छन्।पैसा नहुनेहरू ढिलै भए पनि पालो कुर्छन्।’
अस्पताल स्रोतका अनुसार अहिले मेजर अप्रेशन थिएटरमा दुई वटा र आकस्मिक अप्रेशन थिएटरमा एउटा गरी तीन वटा मात्रै सि-आर्म मेशिन सञ्चालित छन्।
स्रोतका अनुसार जम्मा आठ वटामध्ये दुई वटा ‘सिमाजु’ कम्पनीका मेशिन हुन्। जसमध्ये एउटाको डिस्प्ले फुटेर थन्किएको छ। अर्को मेजर अप्रेशन थिएटरमा सुचारु छ।
त्यसैगरी चार वटा ‘एलेन्जर’ कम्पनीका सि-आर्म मेशिन हुन्। यी चारै वटा बिग्रिएका छन्।
एक चिकित्सकका अनुसार बिग्रिएका चारै वटा एलेन्जर कम्पनीका सि-आर्म मेशिन ट्रमाको स्थापनाकालमा भारतले दिएको थियो। भारतबाट प्राप्त भएको हुँदा नेपालमा भएका कम्पनीसँग बनाइदिन अनुरोध गर्दा पनि नबन्दा यी मेशिन हाल थन्किएको हो।
त्यसैगरी तत्कालीन अस्पताल प्रमुख डा. सन्तोष पौडेलले एक वर्षअघि दुई वटा सि-आर्म मेशिन खरिद गरेका थिए। जुन मेशिन अहिले सञ्चालनमा रहेको अस्पताल स्रोत बताउँछ।
यी दुई सि-आर्ममध्ये एउटा मेजर अप्रेशन थिएटरमा र अर्को इमर्जेन्सीको अप्रेशन थिएटरमा छन्। डा. पौडेलको पालामा खरिद भएका यी मेशिन अमेरिकी ‘जि ई’ कम्पनीका हुन्।
फागुन १३, २०७८ शुक्रबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।