भागेर गल्ती गरिरहेछन् पलले

काठमाडौँ : नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता लगत्तै सरेन्डर गरेका भए पल शाहको हिरासत अवधि तीन दिन घटिसकेको हुन्थ्यो। तर न उनले सरेन्डर गरेका छन् न प्रहरीले नै पक्राउ गर्न सकेको छ।
पलले फेसबुक चलाएका छन्। केही युट्युबवरलाई अन्तर्वार्ता दिन भ्याएका छन्। यति गर्दा पनि उनी फेला परेका छैनन्।
पल जुन दिन पक्राउ पर्छन् अनुसन्धानको अवधि त्यही दिनबाट गनिन्छ। उता जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा सक्काउनुपर्ने प्रक्रिया अगाडि बढाई सकेको छ। प्रहरीले बलात्कार भएको घरको मुचुल्का र पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गरिसकेको छ।
पीडितको बयान,साक्षीको बयान, जाहेरीकर्ताको बयान लिने क्रम सुरु भइसकेको छ। आरोपी पल भने मोबाइल अफ गरेर भागेर हिँडेका छन्।
नेपालको कानुनमा जाहेरी दर्तापछि अदालतमा अभियोग पत्र दर्ता भएर थुनछेक बहसमा प्रवेश नगरी तारेख, धरौटी वा पूर्पक्षकालागी थुनामा पठाउने भन्ने निर्णय हुनसक्छ। प्रहरीमा जाहेरी परे लगत्तै बेलामा बाहिर बस्ने छुट छैन।
जाहेरी परेको यति समयमा अनुसन्धान सक्काउनुपर्ने भन्ने हदम्याद नहुने भएकाले पलका लागी पक्राउ पर्ने र समर्पण गर्ने बाहेक अर्को विकल्प देखिन्न।
जाहेरी दर्तापछि आफूलाई साथीहरूले फसाएको दाबी गर्दै सार्वजनिक भएका टेपले उल्टो पलको मुद्दा कमजोर बनेको छ। अझ अनुसन्धानमा सघाउनुको साटो भागेर हिँड्नुले उनले दाबी गरेजस्तो उनीबाट केही नभई फसाउन चालिएको कदम हो भन्ने उनको तर्क कमजोर बन्दै गएको छ।
अहिले पल पोखरी बाहिर पुगेको माछा जस्तो भएका छन्। छट्पटिदै प्रहरीबाट लुकेर बसेका छन्। तर बाच्नलाई त पोखरीमा फर्कनैपर्छ। भाग्दा-भाग्दा थाकेर आफै फर्कन्छन् या अन्य कसैले भन्ने मात्र हो।
फागुन १३, २०७८ शुक्रबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।