भत्किँदै गठबन्धन : एमसिसीको मत विभाजनसम्म कुर्ने, त्यसपछि आ-आफ्नो बाटो लाग्ने
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) को विषयमा मतैक्य हुन नसकेपछि पाँच दलीय गठबन्धन भत्किने चरणमा पुगेको छ।
बिहीबार विकसित घटनाक्रम र जिम्मेवार नेताको अभिव्यक्तिबाट सत्ता-गठबन्धनको विभाजनले औपचारिकता पाउन मात्र बाँकी देखिन्छ।
माओवादी केन्द्र संशोधन विना कुनै पनि हालतमा एमसिसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा गठबन्धनको औचित्य सकिने चरणमा पुगेको बताउन थालेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा टेबल भएको एमसिसीको मत विभाजनपछि आफ्नो पार्टी बाटो लाग्ने कुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई सुनाइसकेका छन्।
‘बिहीबारको भेटमा हाम्रो अध्यक्ष (प्रचण्ड) ले भोटिङ भएपछि हामी आफ्नो-आफ्नो बाटो लाग्ने हो भनिसक्नुभएको छ,’ माओवादी नेता गिरिराजमणि पोखरेलले उकेरासँग भने, ‘अब सौहार्द्रपूर्वक आ-आफ्नो बाटो लागौं भन्ने कुरा भयो।’
बिहीबार संसद् भवनमा एमालेसँगको छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन धराममा परेको बताएका थिए। उनले एमसिसीबारे गठबन्धनका दलहरूबाट देशलाई ध्रुवीकरण गराइएको बताए।
एमसिसीबाहेक अन्य विषयमा गठबन्धन एक ठाउँमा उभिनसक्ने अवस्था नआउने उनको भनाइ छ। ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन। यो गठबन्धन अघि जाँदैन। धरापमा पुगिसक्यो,’ थापाले भने।
जनमोर्चा बाहेकका दलहरु एमसिसी पारित गराउन गठबन्धनमा एकमत छन्। तर एकीकृत समाजवादी र माओवादी केन्द्र यथास्थितिमा पास गराउन नहुने पक्षमा छन्।
जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर यही अवस्थामा पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव पक्षधर यथास्थितिमा पास गराउन नहुने पक्षमा छ। यद्यपि, पार्टीको औपचारिक धारणा भने सार्वजनिक भएको छैन।
एमसिसीका कारण गठबन्धनको औचित्य कुरामा माओवादी केन्द्र पनि सहमत छ। ‘स्वभाविक ढंगले एमसिसी ल्याएपछि हामी विपक्षमा जान्छौं भनिसकेका छौं। एमसिसीको कारणले नयाँ ध्रवीकरण भएको छ। स्वभाविक ढंगले गठबन्धनको औचित्य सकिएको छ। हामीलाई पनि त्यही लाग्छ,’ माओवादी नेता पोखरेलले भने, 'सरकारको साझा कार्यक्रम र संयन्त्र बनेको थियो। त्यो बेलामै एमसिसीको बारेमा सहमति भएको थिएन। एमसिसी ल्याएर गठबन्धन फुटाउन चाहने शक्तिहरुको सिकार भयो नेपाली कांग्रेस।’
असंलग्न कूटनीति, परराष्ट्र नीति, युएनको बडापत्र र पञ्चशीलको आधारमा हिँडेको मुलुकलाई एमसिसीको नाममा कांग्रेसले एउटा राष्ट्रको सुरक्षा किल्लाभित्र लैजान खोजेको माओवादीको आरोप छ। कांग्रेसले छिमेकीसँगको सम्बन्धलाई पालना नगरेको माओवादीको दावी छ।
माओवादी केन्द्रको संसदीय दको बैठकले एमसिसीको विपक्षमा उभिने र त्यसको लागि सडक, सदन सबैबाट विरोध गर्ने निष्कर्ष निकालेको थियो।
सत्ता घटक एकीकृत समाजवादी पनि गठबन्धन जोगाउनकै निम्ति एमसिसी टेबल गर्न सहमत भएको थियो। एमसिसी टेबल गर्न दिने तर पास गर्न नदिने अडानमा सो पार्टी रहेको छ। उसले गठबन्धन फुटको दिशातर्फ गएको र फुटाउनेले औचित्य पुष्टि गर्नुपर्ने बताएको छ।
‘केपी ओली र शेरबहादुर देउवाबीच कुनै सहमति भयो भने गठबन्धन टुट्ने हो। देउवाको कुनै अजेण्डा छैन, मात्र समर्थन चाहिएको छ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने।
एमसिसी पास गर्नुभन्दा आफ्नो पार्टी सरकार छाड्न तयार रहेको उनले बताए। ‘हामी गठबन्धन तोड्न तयार छौं। यो विषयमा हामी सरकारको माया गर्दैनौं।’
फागुन १२, २०७८ बिहीबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।