हाम्रो सामाजिक चेतनाको जग : चोरलाई चौतारो, साधुलाई शुली !
म चाहन्छु , यो ब्लगको भेट/साक्षात्कार तपाईं सहज र स्वस्थ अवस्थामा रहँदा होस्। अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका हामी कतिपय अवस्थामा एकदमै असहजताहरुसँग पैठेजोरी खेलिरहेका हुन्छौं।
आ-आफ्नै प्रतिकुलता, सीमितता र व्यावहारिक अप्ठ्यारासँग जुधिरहेको अवस्थामा गम्भीर विषयहरु सुन्नु, बुझ्नु, बोल्नु अझै सकसपूर्ण हुनसक्छ। अझै बोझिलो हुनसक्छ। यद्यपि, विषयगत गाम्भीर्यतालाई हेरेर हामी घिस्रँदै भए पनि आफ्नो सम्मानजनक अस्तित्वको लडाइँमा होमिनु निर्विकल्प छ।
मैदान छोडेर भाग्नु मुक्तिको बाटो कदापि थिएन, होइन। भोलि त फेरि यहीँ उभिनु छ। यही धरातल टेक्नु छ। तसर्थ पनि प्रतिरोध गरिरहनुको विकल्प सायदै छैन।
हिन्दीमा एउटा नारा छ, 'मार्ग मुक्तिका गढना होगा, जिना है तोह लड्ना होगा!' संसारलाई उथलपुथल बनाउने आन्दोलन हाँक्ने महिलाहरुको नातिनी/पनातिनी पुस्ता आज पनि महिला हुनुको अपराध बोध गरेर बाँचिरहेको छ, किन? प्रश्नको उत्तर खोजिन जरुरी छ।
महिलाहरुलाई अन्यायमाथि अझै अन्याय गरेर रुवाइरहने हाम्रो सामाजिक अभ्यासले पल शाह जस्ता नाबालिगमाथिका हिंस्रकहरुले गरेको हिंसाका घटनाहरुमा सर्भाइबरलाई सुरक्षा र न्यायको प्रत्याभूति महसुस गराउनुको बदला उनीहरुलाई चारित्रिक प्रमाणपत्र थमाइदिन्छ। यस्तोमा एक आम छोरी मान्छे, एक आम महिला, म/हामी जस्तै भएर न्याय प्राप्तिको लडाइँ लड्नु सहज होइन/छैन।
यसर्थमा विश्वस्त रहनूस् कि, एउटा महिलाको अनुभूति, भोगाइ, बुझाइप्रति सबै महिलाले समानुभूति राख्न सक्दैनन्। महिला भएकैले तपाईंको दुखाइहरुलाई नजिकबाट छाम्न, महसुस गर्न र त्यसप्रति सौहार्द्रता देखाउने पनि छैनन्। किनभने, जसरी नारीवादी पुरुषहरु छन्, त्यसरी नै पितृसत्तात्मक महिलाहरु पनि।
उनीहरु पितृसत्तात्मक सामाजिक अभ्यासहरुद्वारा यसरी प्रशिक्षित छन् कि, महिलाका मुद्दाहरुमा सँगै नउभिएर उनीहरुकै विरुद्ध नि:सन्देह धावा बोल्छन्।
एक दिन कुरै कुरामा साथीले भनेकी थिइन्, 'पितृसत्ताद्वारा दीक्षित पुरुषहरु राजनीतिक आस्था, रुचि, झुकाव, व्यवसाय आदिले एकअर्का विरुद्ध फरक मत राखे पनि महिलालाई दबाउने सवालमा एक ठाउँ उभिन्छन्।'
यद्यपि, आफ्नो मुद्दामा महिलाहरु यसरी नै एकत्रित किन हुँदैनन्? किनकी, उनीहरुको आवाज संगठित हुनुअघि नै नियन्त्रणमा लिने प्रपन्च रच्छ पितृसत्ता। उनीहरुको सोचाइ प्रक्रियालाई कसरी 'कन्डिसन' गरिएको हुन्छ भन्नेबारे म आफ्नो अनुभूति/बुझाइ राख्छु।
केही दिनअघि मात्रै एक जना अनलाइनका सम्पादकले मलाई भेट्ने प्रस्ताव राखे। हिंस्रकलाई इन्डोर्स गर्ने सम्पादक विरुद्ध हामीले निरन्तर बोलिरहेका थियौं। उनैले भेट्न बोलाए। उनलाई भेट्नु, प्रश्न गर्नुमा मलाई समस्या थिएन। भेटमा उनी केही थान प्रलोभनहरु बोकेर आएका थिए। उनको कमी-कमजोरी/समस्यामुलक अभिव्यक्ति/इन्डोर्समेन्टहरुलाई प्रश्न नगरिदिए 'हामी तपाईंलाई स्पेस दिन्छौं, भन्ने खालको।
त्यति मात्रै भएर कहीँ कतै आत्माआलोचना, स्वीकारोक्तिको गुन्जाइससम्म नराखेको हिंस्रकको मध्यस्थकर्ता बनेर आएका उनले पुनः सम्बन्धको सम्भावना भए अघि बढाउन पहल गर्दिने किनकी, पछिल्लो समय बजारमा उसले पूरै आत्मालोचना गरेर सुध्रिन चाहेको भन्ने खबर पाएको समेत भन्न भ्याए।
यहाँनेर भन्न खोजेको के भने, हाम्रा विचारहरु नियन्त्रणमा, हाम्रा निर्णयहरु म्यानिपुलेसनमा जमात परिचालन गरिन्छ। हाम्रा प्रश्नहरु दबाउन, खुम्च्याउन प्रलोभन देखाइन्छ। हामीलाई चुप लगाउन मायावी जाल फ्याँक्नेहरुको पनि कहीं कमी छैन।
अडिग विचार लिएर आफ्नो लडाइँ लड्न सक्ने परिपक्व महिलालाई त म्यानिपुलेट गर्न अनेकन तिकडम गरिन्छ भने नाबालिग सर्भाइबरहरुलाई कति डर/धम्की/दबाबमा राखिँदो हो भनेर हामी अनुमान लगाउन सक्छौं।
हाम्रो सामाजिक संरचनाले मलजल गरिरहेको सामाजिक मनोविज्ञान कस्तो छ, वा कति घातक छ भनेर नियाल्न धेरै ठूला-ठूला अनुसन्धानका ठेलीहरु पल्टाउनु पर्दैन। वा मोटा-मोटा किताबका चाङभित्र छिर्नु पर्दैन।
बस् कोही महिलाले आफू हिंसामा परेको बोल्दा, (अ)सामाजिक सञ्जाल नियाले पुग्छ। कुनै सर्भाइबरले आफ्नो कुरा राखेपछि, नि:सर्त विश्वास गरिदिएर उसलाई सुनिदिनुको साटो उल्टो लान्छना र घृणा सहितको द्वेष बमन सुरु हुन्छ। पीडकलाई अनेकन कोणबाट जोगाउने ब्याख्या, विश्लेषणसँगै आवाज बाहिर सर्भाइबरलाई दुत्कार्ने कार्य तीव्र हुन्छ। र, यस्तोमा आफैंलाई प्रगतिशील, सचेत, क्रान्तिकारी, सामाजिक न्यायको पक्षधर भन्नेहरूको अनुहार सबैभन्दा दिगमिग लाग्दो ढङ्गले उदाङ्गिन्छ भद्दा/अपराधिक मजाक/टिप्पणीहरुमा। यसरी हामीले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वको पहिलो खुड्किलामै हामी फेल हुन्छौं।
त्यसपछि कुरा कानुनी प्रावधानको आउँछ। विभिन्न सडक आन्दोलनका हिस्सा बनेर नारा लगाउनेहरु नै अर्ती दिन्छन्, सामाजिक सञ्जालमा किन बोलेको! यो कानुनी प्रक्रियामा जाने कुरा हो। यसो भन्नेहरुलाई म भन्न चाहन्छु, कृपया तपाईं सडकमा आएर आन्दोलन गर्नुको साटो, अदालत/प्रहरी चौकी गएर उजुरी गर्नूस्! नत्र यो बुझ्नूस् कि, विद्रोह, आन्दोलन, प्रतिरोधका अनेकन स्वरुपहरु हुन्छन्। कसैको क्रान्ति कस्तो हुनुपर्छ भनेर निर्धारण गर्ने तपाईं र हामी हुनै सक्दैनौं। सबैलाई एकै साइजको जुत्ता लाग्दैन भन्ने कमन सेन्स त कमसेकम राखौं!
हाम्रो जस्तो व्यवस्थामा कानुनी उपचार दिनुपर्ने निकायका मान्छेहरु समेत हिंसक पितृसत्ताद्वारा प्रशिक्षित छन्।
अनामनगरमा रहेको एउटा ल फर्ममा म र जिवेश दाइ कानुनी प्रक्रियाहरु बुझ्न जाँदा वर्षौँको अनुभव सम्हालिसक्नुभएकी वकिल दिदीले 'लोग्ने-स्वास्नीको झगडा बाहिरको मान्छेलाई किन सुनाको त! तिम्रै गल्ती हो!' भनेको सुनेर हामी रन्थनिएका थियौं। न्यायानुभूति गर्न पाउने लडाइँको बारेमा एक जना देशमा ख्याति कमाइसक्नुभएकी वकिल दिदीको परामर्श लिन खोज्दा 'न्याय किस्तीमा ल्याएर सर्भ गरिदिने चिज होइन' भन्नुभएको पनि मलाई याद छ। यसरी तह-तहमा सर्भाइबरलाई गिजोल्ने कानुनी व्यवस्थामा एउटा महिलाले झनै धेरै प्रताडित हुने जोखिम मोल्नुपर्छ।
एउटा १६/१७ वर्षीया नाबालिग किशोरीलाई यो समाज, स्त्रीद्वेषी व्यवस्था, प्रवृत्ति, पात्रहरुले आफूलाई कहाँ, कतिखेर भड्खालोमा पार्छन् भन्ने कति नै होस हुन्छ र!
वि.सं. १९७७ मा चन्द्रशमशेरले सतLप्रथा हटाएका हुन् भनिन्छ। एक शताब्दीभन्दा अलिकअघि मात्रै हो, हाम्रा हजुरआमाहरुलाई धर्म/संस्कारका नाममा सती बनाएर पोलिन्थ्यो। खुल्लम-खुला हत्या गरिन्थ्यो। महिला भएकै कारण उनीहरु विरुद्ध अपराध गरिन्थ्यो। सकसहरुको चाङ छिचोलेर बाहिर निस्किने हिम्मत गरेका याचनाका आवाजहरु पनि यति कमजोर बनाइयो कि उनीहरुको चिच्याहट आपराधिक मानसिकताबाट दीक्षित मलामीहरुको पन्चेबाजाले दबाइरह्यो। कथित संस्कारको पैतालाले कुल्चिरह्यो र यसरी महिलाहरुलाई जिउँदै जलाएर हत्या गरिनुलाई सामान्यीकरण गरियो। त्यही स्वीकार्न बाध्य पारियो।
आमाहरूसम्म आइपुग्दा सतीप्रथा उन्मुलन भयो भनियो। तर सुक्ष्म भएर आजको सामाजिक अभ्यास हेर्ने हो भने परिमार्जित स्वरुपमा सतीप्रथा आज पनि व्याप्त छ। फरक यत्ति हो, हिजो महिलाहरु खुलेआम जलाइन्थे र त्यसलाई अपराधसम्म मानिन्नथ्यो। आज महिला दाइजोको निहुँमा मारिन्छन्, छोरी भएकैले भ्रुण हत्या गरिन्छन्, हिंसाका अनेक अवस्थाहरुमा दिनदहाडै याताना दिएर बिभत्स हत्या गरिन्छन्।
यस्तैमा, आजको आधुनिक कथित बौद्धिक समाज मौनता मात्रै साँध्दैन उल्टो सर्भाइबरलाई विचलित/प्रताडित गर्नेगरी हिंसक अपराधीहरुलाई काँध दिन्छ। उनीहरुको मनोबल अझै उच्च बनाउन हरसम्भव प्रयत्न गर्छ। चाहे पहिचानको आन्दोलन लड्नेहरु भित्रका हुन् वा आफैंलाई मानवाधिकारकर्मी भन्नेहरु हुन्, कहीँ न कहीँ, कतै न कतै हिंसक पितृसत्ताद्वारा निर्देशित/संकुचित उनीहरुको आइडियोलोजीले महिलाका मुद्दाहरु लेख्छु/बोल्छु भने पनि उनीहरुमार्फत आउने कुरा उनै पुरुषहरुको हो। अझ सिधा सिधा भन्दा पहरेदारी आउँछ।
यहाँनेर हामीले के बुझ्नुपर्छ भने, सार्वजनिक वृत्त ओगटेर उभिने धेरै महिलाले हाम्रो प्रतिनिधित्व गर्दैनन्। लैङ्गिकताले मात्रै महिला दिदी-बहिनीहरु, कुरा दाजु/भाइद्वारा निर्देशित भएर लेख्छन्/बोल्छन्। तर उनीहरुले पनि के बिर्सनु हुँदैन भने, अक्सर कुनै समुदाय, लिङ्ग, क्षेत्र र जातिको मुद्दा कमजोर बनाउन त्यही समूहलाई प्रतिनिधित्व गर्ने पात्रहरुलाई विरुद्धमा उभ्याइन्छ। यो एकल नश्लीय पितृसत्तात्मक सामाजिक व्यवस्थाको चरित्र हो। तर तपाईं कहिलेसम्म आफ्नै बर्खिलाप उभिनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो।
आत्मघाती प्रतिरक्षाले भोलि तपाईं नै जोखिममा पर्नसक्ने सम्भावनाहरु अझै बढी हुन्छ। आफूमाथि भएको उत्पीडन, हिंसा, अपराधलाई बाहिर ल्याउन हामी दिनै चाहन्नौं। अघोषित रुपमा उनीहरुको आवाजलाई प्रतिबन्ध लगाइरहेका छौँ र यो सिकाइरहेका छौँ कि, आफू विरुद्ध भएको हिंसा/अपराधबारे बोल्नु इज्जत जानु हो। तर यही डर, यही लाज हिंस्रक मनोविज्ञानको जग हो। हिंस्रकहरुको हिम्मत हो भनेर किन प्रतिरोध सिकाइरहेका छैनौं?
छोरा दुर्व्यसनीमा फस्दा, चोर-फटाहा, परिवार/समाजलाई प्रताडित गर्ने गैरजिम्मेवार हुँदा- तेरो विहे गर्दिन्छु भन्ने समाजले, बालिकाहरु/छोरीहरु हिंसामा परेर उल्टो पीडित हुँदा पनि किन तेरो विहे हुँदैन भन्छ?
हामीले अन्याय विरुद्ध बोल्दा भोलि हाम्रो विहे हुँदैन। अर्थात् छोरीहरू पुरुषहरुद्वारा रोजिने/छानिने वस्तु मात्रै हुन्? यसै पनि हाम्रो सामाजिक अभ्यासमा अधिकांश वैवाहिक सम्बन्ध भनेको महिलालाई कज्याउने संस्थागत लाइसेन्सभन्दा बढी केही हो र? वा विपरीत लिङ्गीय विवाहलाई मात्रै विवाह मानेर फरक यौनिकता अपनाउनेहरुलाई दुत्कार्दै होमोफोबिया प्रोत्साहन गर्ने संस्थाभन्दा बढी अरु के हो?
छोरीहरूलाई बच्चैदेखि, तिमी छोरी हौ, यो गर त्यो नगर। यस्तो ढङ्ग भएकीलाई कसले विवाह गर्छ भनेर विवाहकै लागि मात्रै तयार पार्नुभन्दा केही कदम अगाडि निस्किएर, तिम्रो जीवन तिमीले सम्मानजनक ढंगले स्वःनिर्णयमा बाँच्न पाउने छौं। आत्मनिर्भर, स्वाभिमानी, प्रतिरोधी बन भनेर कहिले तयार गर्छौं हामी?
छोरीहरु हिंसा, दुर्व्यवहारकी सिकार हुँदा न्याय प्राप्तिको लडाइँमा बलियो भएर उभिनुको बदला परिवारको इज्जत जान्छ भनेर गुपचुप बस्नुपर्ने गरी किन राख्छ यो सामाजिक मनोविज्ञानले महिलाको योनीमा इज्जत? मलाई लाग्थ्यो, मेरो पुस्ता प्रगतिशील छ। बिडम्वना, मेरो पुस्ता बाहिर प्रगतिशील देखिन खोज्ने तर भित्र-भित्रै ढोङ्गी, व्यभिचारी, हिंस्रक र प्रतिगमनकारी पुस्ता हो। औंलामा गन्न सकिने मात्रै छन् जो व्यावहारिक रूपमा सामाजिक न्यायप्रति प्रतिबद्ध छन्।
प्रतिगमन विरुद्ध बोल्छु/लेख्छु, सामाजिक न्याय वकालत गर्छु, समाजसेवा गर्छु भन्नेहरू हिंसा गरेर सर्भाइबरहरुमाथि धावा बोल्छन्। कहाँबाट आउँछ यो दुस्साहस? तपाईं हामी नै हिम्मत दिन्छौं उनीहरुलाई। हामीलाई थाहा छ, त्यो हिंसा गर्ने अनुहार हो। त्यो परपीडक हो। त्यो प्रतिगमनकारी हो। तर पनि हामी मौनता साँध्छौ। इन्डोर्स गर्छौं।
सामाजिक बहिष्करण त बरु सर्भाइबरलाई पो गर्न खोजिन्छ! मौनता साँधिरहदा तपाईंको स्पष्टीकरण हुनेछ, 'म त नितान्त व्यक्तिगत जिन्दगी बाँच्ने मान्छे!', 'मलाई त यस्तो लफडाहरुमा पर्नु नै छैन!' तर तपाईंहरु यो बिर्सिरहनु भएको छ कि तपाईं समाजको हिस्सा भएर बाँच्ने सामाजिक प्राणी हो। यसर्थ तपाईंको मौनताको फाइदा कसै न कसैलाई त हुन्छ। र, अक्सर यस्तो मौनताको फाइदा उत्पीडक लिङ्ग, वर्ग, जाति वा समुदायलाई जान्छ।
तपाईंको मौनताले पीडितलाई अझै पीडित बनाउँछ भने तपाईंको मौनता व्यक्तिगत रोजाइ/जीवनशैलीको हिस्सा मात्रै रहनै सक्दैन। भनिन्छ नि 'प्राइभेट इज पोलिटिक'। ठ्याक्कै यही!
हामीले हिंसक, महिलाद्वेषी, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुमाथि आफ्नो शक्ति र सत्ताको भरमा उत्पीडन गर्ने उत्पीडक दाजु-भाइहरुलाई जोगाइमात्रै रहेका छैनौं, महिलामाथि हिंसा हुनु भनेको नियति हो भन्ने भाष्यलाई बढवा दिइरहेका छौँ। हिंसकहरुको अघि आफ्नो अवसरवादी स्वभाव लम्पसार पारेर पैरवी गर्दै, व्यक्ति होइन प्रवृत्ति विरुद्ध लडौँ भनिरहँदा त्यो प्रवृत्ति विरुद्ध चाहिँ हामी कसरी लड्ने हो?
व्यक्तिले प्रवृत्तिलाई बढोत्तरी दिइरहेको छ भनेर भन्नलाई किन कुरा चपाइरहनु पर्ने? महिलामाथि हुने उत्पीडनहरुमा कहिलेसम्म आँखा चिम्लिन सक्किन्छ? अझै कति आउने पुस्ताका आमाहरू, छोरी, बुहारी, दिदी-बहिनीहरुलाई हिंसाको घानमा हालेर तमासा हेर्नुहुन्छ? तपाईंले, मैले, हामीले पहरेदारी गरुन्जेल हाम्रो पहिचान कतै नेपथ्यमा गुमनाम पारिन्छ। हामी उपभोग्य वस्तु मात्रै रहन्छौँ। अब यसमा पनि तपाईंको स्पष्टीकरण आउन सक्ला, सुध्रिन त जसले पनि पाउछ नि!
तर, यसो भन्दै गर्दा पीडितले न्यायअनुभूति पनि गर्न पाउनुपर्छ भन्ने हेक्का हामीलाई किन हुँदैन? अर्को कुरा, राम्रोसँग सम्झाउनुपर्छ, प्रेमले बुझाउनुपर्छ भन्नुहोला, उनीहरु खुलेआम हिंसा गर्छन्, क्रुर आपराधिक कार्यहरू गर्छन् , त्यसको लागि सजाय धेरै परको कुरा आत्मालोचना र स्वीकारोक्तिको गुन्जायस कहीँ कतै भेटिन्न। यस्तोमा, आफूमाथि भएको हिंसा/अन्यायलाई ठाडै प्रतिकार गर्नु हुँदैन, सम्झाइ/बुझाइ गर्नुपर्छ भनेर छोरीहरुलाई नै किन र कहिलेसम्म सिकाउने?
एक नाबालिग जसमा के सही के गलत भनेर निर्णय गर्नसक्ने क्षमता विकास भइसकेको हुँदैन, उसैमाथि ट्रमाले बिथोलेर अस्थिर भइरहँदा, उसबाट जिम्मेवार अभिव्यक्ति माग्नुको साटो पीडकबाट जवाफदेहिता खोज्नुपर्छ भन्ने चेतनाको विकास कहिले हुन्छ?
यो ढंगले पीडकको पहरेदारी गर्दै, सर्भाइबरलाई गिजोलिरहने हाम्रो सामाजिक चेतनाको जग उहीँ चोरलाई चौतारी साधुलाई शुली त हो नि, होइन र?
कृपया मनन गर्नूस्, देश, सडक, सहर ठिक पार्नु, सुधार्नु जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण स्वस्थ सह-अस्तित्वको जगमा महिलाहरुले बाँच्न पाउने समाज निर्माणका लागि, समतामूलक, न्यायिक सामाजिक मनोविज्ञानको निर्माण महत्त्वपूर्ण हुन्छ।
प्रिय दिदीबहिनीहरु, १६औँ (र प्रथम अश्वेत) अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भने जस्तो, भीडमा चोरहरु, फटाहाहरु, धोखेबाजहरु, हिंसक/अपराधीहरु मात्रै नभएर; अत्यन्तै इमान्दार, अत्यन्तै निष्ठावान सामाजिक न्यायप्रति समर्पित मानिसहरु पनि हुन्छन्। त्यसैले हिम्मत जोगाइरहनु, हाम्रो इतिहास, व्यवस्था, अभ्यास पुनर्लेखन गरुन्जेल।
फागुन १२, २०७८ बिहीबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।