एकीकृत समाजवादीको दाउ : एमसिसीमा मत नहाल्ने तर गठबन्धन जोगाउने 

एकीकृत समाजवादीको दाउ : एमसिसीमा मत नहाल्ने तर गठबन्धन जोगाउने 

काठमाडौं : सत्ता-गठबन्धनको एक घटक एकीकृत समाजवादी कुनै पनि हालतमा एमसिसी पास नगर्ने पक्षमा छ। उसले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी दबाब झेल्न नसकेर एमसिसी संसदमा टेबल गरेको आरोप लगाएको छ।

एमसिसी यथास्थितिमा पास गर्न नहुने वकालत गर्दै आएका समाजवादीका नेता झलनाथ खनाल एमसिसीमा राष्ट्रघाती प्रावधान देख्छन्।

‘हामीले लामो समयदेखि नै यो एमसीसीको बारेमा छलफल गर्दै आएका थियौँ। गठबन्धन बन्नुअघि पनि हाम्रो बीचमा विवाद थियो। गठबन्धन भएको बेलामा पनि विवादको विषय भएको हुनाले यसलाई हामीले लिएनौँ। त्यही बीचमा सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो । त्यो दबाबलाई सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सकेनन्,’ खनालले भने। दबाब खेप्न नसकेपछि देउवाले पटक-पटक पाँच दलको बैठकमा कुरा राखेको उनले बताए। 

खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसिसी संसदमा पेस गरेको आरोप लगाए। उनले एमसिसी सम्झौता दुई सरकारबीच नभई नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताए। गठबन्धन टुटे पनि एमसिसी पारित हुन नदिने उनको भनाइ छ। 

‘आ-आफ्नो बाटो हिँड्नुपर्ने स्थिति आउन सक्छ। त्यसले केही फरक पार्नेवाला छैन। त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन,’ उनले भने।

८ गतेको संसद बैठकमा एमसिसी टेबल भए पनि सो भन्दा अघिल्लो दिन सत्ता गठबन्धन जोगाउनकै निम्ति एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसिसीलाई टेबल हुन अवरोध नगर्ने निर्णय गरेको थियो।

सोमबारको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने र अरुलाई पनि विपक्षमा मतदान गर्न आग्रह गर्ने निर्णय गरेको थियो। यो विषय धेरै गिजोलिसकेको र नेपाल र अमेरिकाको सम्बन्ध राम्रो होस् भन्ने अमेरिकी चाहना हो भने एमसिसी फिर्ता लानुपर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्।

‘अमेरिकाले प्रस्ताव फिर्ता लैजान पनि सक्छ। यो पहिलोदेखि हामीले आह्वान गर्दै आएका छौं,’ खतिवडाले भने, ‘सरकारले पनि धेरै विवादित भयो भनेर फिर्ता पनि लिनसक्छ नि।’ खतिवडाले देशभन्दा सरकार ठूलो नभएको पनि बताए। समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियु सडक आन्दोलनमा छ।

‘राष्ट्रघाती एमसिसी पारित हुनु हुँदैन। यसका प्रावधानहरु नेपालको संविधानभन्दा माथि छ। हामीलाई यस्तो योजना चाँहिदैन। हाम्रो सडकबाट विरोध जारी रहन्छ र संसदमा पनि प्रक्रियामा हाम्रो विरोध भैरहन्छ,’ अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने।

पार्टीका नेता मेटमणि चौधरी समाजवादीले विपक्षमा मतदान गरे पनि सरकार नछाड्ने बताउँछन्। ‘यही अवस्थामा हामी एमसिसी पास गर्दैनौं,’ चौधरीले भने, ‘हामी सरकारबाट पनि बाहिरिदैनौं। सरकारलाई दिएको समर्थन यथावत् रहन्छ, सरकारमै रहन्छौं।’

चौधरीले एमसिसीलाई मतदानमा लैजाँदा कुनै पनि दलले सांसदलाई ह्विप लगाउन नहुने बताए। ‘यस्तो विषयमा सांसदलाई स्वतन्त्र छाडिदिनुपर्छ,’ उनको भनाइ छ, ‘दलको ह्विप लगाउनैपर्छ, मान्नैपर्छ भन्ने कुरा गलत हो। सांसदलाई स्वविवेक प्रयोग गर्न दिनुपर्छ।’ 

एकीकृत समाजवादीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउँछिन्। बुधबार चितवन पुगेकी मन्त्री झाँक्रीले भनिन्, 'कि त सरकार छोडेर सडकमा जानु पर्यो। कि सरकारमा बसेर सडकमा जानु भएन’, उनले भनिन्, 'सत्ता पनि चाहिने, सरकारको कामको पनि विरोध गर्नुपर्ने विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्छ।’ 

पार्टीले निर्णय गरेमा तत्काल मन्त्री छाड्न तयार रहेको उनलको भनाइ छ। ‘पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन,’ उनले भनिन्। अहिले आफू मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन्। आफू मन्त्रिपरिषद्मा रहुन्जेल प्रधानमन्त्रीको धारणा नै आफ्नो धरणा रहने उनले बताउँदै आएकी छिन्। 

एमसिसीको पक्ष र विपक्षमा पार्टीभित्रको मत मिलाउन एकीकृत समाजवादीलाई हम्मेहम्मे परेको छ। सोमबार सचिवालयको बैठक पूरा नहुँदै अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाल छलफलमा जुटे। अध्यक्ष नेपाल लगायतका नेताहरु मध्यमार्गी बाटो अपनाउँदै सत्ता गठबन्धन टिकाउने र एमसिसी पासमा हामी थिएनौं भन्दै आउन सक्ने अपजसबाट बच्ने विकल्पको खोजीमा छन्।

‘गठबन्धन सकेसम्म टिकाउने हो, नभए चिसै पानीले नुहाउने हो के गर्ने अरु?,’ समाजवादीका एक पदाधिकारीले भने। एमसिसी विषय पार्टीभित्र समेत मिलाउन गाह्रो भएको उनले बताए।

‘गठबन्धन विशेष परिस्थितिमा बनेको हो, प्रतिगमन परास्त गरेकाले संसदीय चुनावसम्म लाने कुरामा सबै सहमत थिए, एमसिसीले त्यो पूरा हुन नदेला जस्तो छ,’ ती पदाधिकारीले भने।

फागुन ११, २०७८ बुधबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।