नागरिक हितबमोजिम सूचनाको हक सम्बन्धी विधेयक ल्याउन आग्रह
पोखरा : गण्डकी प्रदेश सरकारले ल्याउन लागेको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि अन्तर्क्रिया गरिएको छ।
मंगलबार कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उपस्थित विभिन्न सरोकारवालाहरुले संघीयताको मर्मअनुसारको विधेयक ल्याउन सुझाव दिएका छन्।
अधिवक्ता विष्णुप्रसाद अधिकारीले प्रदेश सरकारले बनाएका कानुन कार्यन्वयन हुनुपर्ने बताए। उनले अझै पनि नागरिकहरु सूचनाबाट वञ्चित हुनु परेको र आवश्यक सूचना पाउन सम्बन्धित मन्त्रालयका कर्मचारीले आनाकानी गर्ने गरेको बताए।
उनले सरकारले प्रदेश भित्रका नागरिकको हित बमोजिमको विधेयक ल्याउनुपर्ने बताए।
पत्रकार शिवराज बास्ताकोटीले सूचना अधिकारीहरुबाट नागरिकले सही सूचना नपाउँदा समस्या खेप्नुपरेको बताए। उनले प्रदेश सरकारले ल्याउन लागेको सूचना सम्बन्धी विधेयक नागरिक अधिकारलाई कुण्ठित गर्न नहुने गरी ल्याउनुपर्ने आवश्यकता रहेको बताए।
पृथ्वीनारायण क्याम्पसका कानुन विषयका प्राध्यापक अमृत खरेलले कानुन मन्त्रालयले छलफलमा ल्याएको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा भाषागत त्रुटि भएकाले सच्याउनुपर्ने बताए।
पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले हिउँदे अधिवेशनमा पेस गर्न लागेको सूचनाको हक सम्बन्धी विधेयकमा आयोजित छलफल कार्यक्रम, छलफलमा मात्र केन्द्रीत नरही उठेका जिज्ञासाको सम्बोधन हुने गरी आउनुपर्ने बताए।
कार्यक्रममा कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विधेयकका विषयमा सबैबाट आएका सकरात्मक सुझावलाइ समेटेर संसदमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
फागुन ११, २०७८ बुधबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।