अन्तर्राष्ट्रिय विमानस्थलको हालत : तार नाघेर कतार उड्ने जहाज चढेका थिए आलम
काठमाडौँ : तीन दिन अगाडि रौतहटका १८ वर्षीय हस्पम आलम पासपोर्ट नै नलिई कतार जाने जहाज चढेको खुलेपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा बहसमा आएको छ।
फागुन ९ गते हस्पम विमानस्थलको सुरक्षा घेरा तोडेर सहजै हवाई मार्गमा पुगेर विमान चढेका थिए। पछि उनीसँग आवश्यक कागजपत्र माग्दा उनीसँग पासपोर्ट समेत थिएन।
पासपोर्ट समेत नभएको व्यक्ति एकाएक विमानमा पुगेपछि विमानस्थलमा हङ्गामा मच्चिएको थियो। बेलुका साढे १० बजे विमानमा फेला परेका उनीसँग कुनै कागजपत्र नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका उनी अन्तर्राष्ट्रिय हवाई यात्रामा लागि अपनाइने सुरक्षा स्थलबाट नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फको बार नाघेर सहजै विमानस्थलभित्र पुगेको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन विभागका प्रवक्ता टेकनाथ सिटौलाले उनी लच्किएको बार नाघेर विमानस्थल प्रवेश गरेको पुष्टि भएको बताए।
‘विमानस्थल वरपरका एक-दुई स्थानको तारबार लच्केको पाइयो,’ उनले भने, ‘दक्षिणतिरको तारबार धेरै नै लच्केको रहेछ। उनी त्यतैबाट प्रवेश गरेछन्।’
सिटौलाका अनुसार फागुन ९ गते राति पौने १० बजे उनी दक्षिणतिरबाट प्रवेश गरेका थिए। उनी कसरी प्रवेश गरे भन्नेबारे अनुसन्धान भइरहेको सिटौलाले उकेरालाई जानकारी दिए।
बाहिरी घेराबाट प्रवेश गरेका थिए आलम
विमानस्थलको बाहिरी घेराको सुरक्षा नेपाली सेनाले गर्छ। विमानस्थलको पेरिमिटरको सुरक्षा गर्न विभिन्न स्थानमा नेपाली सेनाको पोस्ट राखिएको छ।
अध्यागमन क्षेत्र लगायतको भित्री क्षेत्रको सुरक्षामा नेपाल प्रहरी खटिने गरेको छ। प्रवेश गर्ने ढोकादेखि अध्यागमनको अन्तिम विन्दुसम्म एसएसपीको कमान्डमा प्रहरी परिचालित छन्। आवश्यक कागजपत्रको चेकजाँच अध्यागमनका कर्मचारीले गर्छन्।
गोल्डेन गेटबाट विमानस्थल प्रवेश गर्दासम्म नेपाल प्रहरी, अध्यागमन विभागका कर्मचारी, नागरिक उड्डयनका कर्मचारीको जिम्मामा हुन्छ। आलम भने बाहिरी घेराबाट प्रवेश गरेको उड्डयन विभागको दावी छ।
विमानस्थलका एसपी हिमालय श्रेष्ठ आलम बाहिरी घेराबाट विमानस्थलभित्र प्रवेश गरेकाले आफूहरूको जिम्मेवारी नहुने बताउँछन्।
‘हामीले त गोल्डेन गेटदेखि सुरक्षा चेकजाँचसम्मको काम गरेका हुन्छौ,’ उनले भने ‘बाहिरी सुरक्षाको काम हाम्रो जिम्मामा पर्दैन। थाहा पनि हुँदैन।’
नेपाली सेनाको पोस्ट हुने बाहिरी घेराबाट कसरी प्रवेश गरे आलम?
नागरिक उड्डयन विमानस्थलका प्रवक्ता सिटौला त्यसै विषयमा खोजी भइरहेको बताउँछन्।
‘नेपाली सेनाले पनि आफ्नो ड्युटी गरेको छ। ८ किलोमिटरको फरकमा छ पोस्ट। घाँसघारी पनि छन्। केही पर्याप्त लाइटको अभाव देखिएको छ,' उनले भने, ‘छानबिन गर्न अन्तरls कमिटी बनाएका छौँ। त्यसपछि मात्रै के भएको हो विस्तृतमा भन्न सकिन्छ।’
पहिले पनि चढेका थिए विमान
आलमले पहिलो पटक अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेरा तोडेका हैनन्। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार उनी यसअघि पनि त्यसरी नै जहाज चढेका थिए।
यसअघि उनलाई प्रहरीले मानसिक समस्या भएको भन्दै कुनै कारबाही नगरी रिहा गरेको थियो। रौतहटका उनी गौशाला वरपर नै बस्दै आएका छन्। प्रहरीका अनुसार उनीबारे प्रहरीमा उजुरी आइरहन्छ। प्रहरीसँग पनि उनी विदेश जाने हो भनिरहन्छन्।
नागरिक उड्डयनका प्रवक्ता सिटौलाका अनुसार आलमको स्वास्थ्य अवस्था चेकजाँच गरेर उनलाई के कारबाही गर्ने निर्णय गरिने छ।
‘उनको स्वास्थ्य अवस्था ठिक नभएको सूचना पाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे जाँच गरेर के कारबाही गर्ने निर्णय गर्छौँ' उनले भने।
फागुन ११, २०७८ बुधबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।