२४ घण्टाभित्र युक्रेनमाथि पूर्ण हमला हुनसक्छ: अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन

२४ घण्टाभित्र युक्रेनमाथि पूर्ण हमला हुनसक्छ: अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन

एजेन्सीः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्ने बताएका छन्। उनले बुधबार आगामी २४ घण्टाभित्रै रुसले हमला गर्नसक्ने बताएका हुन्। 

बुधबार मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक राखेर प्रधानमन्त्री मरिसनले रुस-युक्रेनबीच बढ्दो तनावबारे छलफल गरेका थिए। 

त्यसपछि अष्ट्रेलियाले रुसमाथि 'यात्रामा प्रतिबन्ध' र विभिन्न आर्थिक नाकाबन्दी लगाएको छ। अष्ट्रेलियाले रुसको कदमलाई अनुचित र अस्वीकार्य भएको बताएको छ।

यसअघि नै अमेरिका र बेलायतले रुसमाथि नाकाबन्दी लगाइसकेको छ भने जर्मनीले पनि ग्यास पाइपलाइन प्रोजेक्टलाई स्थगित गरेको छ। यता अष्ट्रेलियाले अमेरिकाको पछि लाग्दै पाँच वटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाएको छ। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका डोनबास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसँगै त्यहाँ शान्ति कायम गर्न भनेर रुसी सेना पठाएका थिए। त्यस यता अहिले अन्तर्राष्ट्रिय राजनीतिको माहोल गरम भएको छ।

फागुन ११, २०७८ बुधबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।