राप्ति स्वास्थ्य प्रतिष्ठानको उपकुलपति छान्ने बैठकमा गएनन् भगवान कोइराला, देउवाको इच्छामा उपकुलपति भए विकास

राप्ति स्वास्थ्य प्रतिष्ठानको उपकुलपति छान्ने बैठकमा गएनन् भगवान कोइराला, देउवाको इच्छामा उपकुलपति भए विकास

काठमाडौँ : राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपतिमा डा. विकास लामिछानेलाई नियुक्त गरेका छन्। डा. लामिछानेलाई प्रधानमन्त्री देउवाले सोमबार नै प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दियो।

डा. लामिछानेले प्रधानमन्त्री कार्यालयबाट मङ्गलवार दिउँसो नियुक्ति पत्र पनि लिइसकेको जानकारी दिए। डा. लामिछानेले उकेरासँग भने,‘आज नै पत्र बुझेको हो मैले। सायद निर्णय हिजो भएको हो की।’

त्यसै गरी प्रतिष्ठानको सह-कुलपतिको भूमिकामा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको समितिले एक हप्ता अघि उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिमा सदस्य स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला थिए।

डा. विकास लामिछाने, डा. ऋषिकेश नारायण  श्रेष्ठ र डा. नारायण विक्रम थापाको नाम उपकुलपति नियुक्तिका लागि कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस भएको थियो। मन्त्रालय स्रोतका अनुसार सिफारिस समिति सदस्य डा. कोइरालाको सहभागिता बिनै बसेको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिमा डा. कोइराला भए पनि पछिल्ला तीन जनाको नाम सिफारिस गर्ने बेलामा उनी नभएको मन्त्रालय स्रोतले बतायो। स्रोतले भन्यो,‘पहिले त धेरै छलफल भएको हो। तर, पछिल्लो तीन जनाको नाम सिफारिस गर्ने बेलामा भगवान् डाक्टरसाब हुनुहुन्थेन।’

मन्त्रालय स्रोतले थप्यो,‘प्रधानमन्त्रीकोमा नाम दिने बेलामा उहाँ (डा. भगवान्) हुँदै हुन्नथ्यो। दुई जना(मन्त्री र सचिव)ले दिनु भयो होला। त्यो अर्को प्रक्रिया भए जस्तो लाग्छ।’

प्रतिष्ठानको उपकुलपतिको नियुक्तिका लागि आवेदन दिने १६ मध्ये तीन जानको नाम अन्तिम सिफारिस भएको थियो। स्वास्थ्य मन्त्री खतिवडाको सचिवालयका अनुसार आवेदन दिनेमध्ये समितिले उपकुलपति सिफारिसका लागि पाँच जनाको नाम सर्टलिष्ट गरेको थियो।

सचिवालय स्रोतले भन्यो,‘पहिला पाँच जनामा डा. विकास लामिछाने, डा. ऋषिकेश नारायण  श्रेष्ठ, डा. रामेश कोइराला, डा. नारायण विक्रम थापा, डा. प्रदीप घिमिरे थिए।’

पाँच जनाको सिफारिस मध्ये कुलपतिसमक्ष समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने थियो। जसमा डा. लामिछाने, डा. श्रेष्ठ र डा. डा. थापाको नाम सिफारिस भएको थियो।

प्रधानमन्त्री देउवाकै जोडबलमा डा. लामिछाने प्रतिष्ठानको उपकुलपति नियुक्त भएको मन्त्रालय स्रोतको तर्क छ। उपकुलपति नियुक्त गर्ने अन्तिम निर्णय पनि प्रधानमन्त्रीकै हुन्छ। ‘कुलपतिकै जोडबलले उहाँ (डा. लामिछाने) छानिनु भयो,’मन्त्रालय स्रोतले भन्यो,‘पाँच जनामध्ये राजनीतिक नेतृत्व (प्रधानमन्त्री देउवा)ले रुचाएको मान्छे भिसी हुनुभयो।’

फागुन १०, २०७८ मंगलबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।