प्रचण्डको राजनीतिक लाइन: निर्णायक चरणमा सधैँ ढलपल,सधैँ अलमल

प्रचण्डको राजनीतिक लाइन: निर्णायक चरणमा सधैँ ढलपल,सधैँ अलमल

काठमाडौँ : सोमबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘उहाँले अरू कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो। मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुङ्गिन्छ भने त्यही हो।’

संसद्मा पुगेको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संशोधन नभए विपक्षमा मतदान गर्ने माओवादीले निर्णय गरिसकेको छ। उता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मङ्गलवार यदि एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने हो भने सरकारमा बस्ने नैतिक अधिकार नहुने बताइसकेका छन्।

माओवादी पार्टीभित्रै एमसिसी सम्झौताबारे संसद्मा मतदान प्रक्रिया सुरु हुनु अगाडि नै सरकार छाड्न दबाब बढे पनि प्रचण्ड भने अझै पर्ख र हेरको नीतिमा देखिएका छन्। उनी आफ्नो संलग्नता विना नै एमसिसी पास होस् भन्ने चाहन्छन्। अनि गठबन्धन पनि जोगियोस् भन्ने उनको इच्छा देखिन्छ। तर सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरू एमसिसीको विपक्षमा मतदान गरेको हकमा सकरकारमा रहेका दलसँग सहकार्य गर्ने मुडमा देखिँदैन।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस महामन्त्री थापाले 'सत्तारुढ दलले नै सरकारले संसद्मा पेस गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताइसकेका छन्।

अहिलेको अवस्था हेर्दा पनि माओवादी केन्द्रले कि निर्णय बदलेर  एमसिसीको पक्षमा मतदान गर्ने वा पास हुने वातावरण बनाउने अथवा सरकारबाट बाहिरिने बाहेक तेस्रो विकल्प देखिन्न। तर प्रचण्ड एमसिसीको विपक्षमा मतदान गर्ने अनि गठबन्धनमा पनि बस्ने असम्भव योजनामा देखिन्छन्।

सधैँ ढलपलसधैँ अलमल

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमसिसी टेबल गर्न खोज्दा नै माओवादी केन्द्र राजी थिएन। उसले जवर्जस्ती टेबल गरे सरकारमा नबस्ने निर्णय गर्यो। सरकारले संसद्मा टेबल गर्यो। माओवादीका भातृ सङ्गठनका नेताहरू नयाँबानेश्वरमा विरोधमा प्रहरीलाई ढुङ्गा हान्न खटिए।

सम्झौता संसद्मा टेबल गर्ने निर्णयमा असहमति जनाउन अर्थमन्त्री संसद्मा आएनन् र सञ्चारमन्त्रीले टेबल गराएका थिए। कार्य व्यवस्था समितिमा माओवादीका तीन सांसदहरू टेबल गर्ने विपक्षमै उभिएका थिए। तै पनि प्रधानमन्त्रीले अगाडि बढाइछाडे।

संसद्मा टेबल भए पनि माओवादीले सरकारबाट बाहिरिने निर्णय भने गरेन। उसले यस अगाडि नै गत पुसमा सम्पन्न ८ औं राष्ट्रिय महाधिवेशनबाट एमसिसी संशोधन बिना पास हुनु हुँदैन भन्ने निचोड निकालेको थियो। पछिल्ला निर्णयहरू पनि महाधिवेशनको निर्णयकै निरन्तरता हो।

प्रधानमन्त्री जसरी पनि एमसिसी पास गर्ने पक्षमा छन्। त्यसका लागि प्रमुख प्रतिपक्षी दल एमालेको सहयोग लिनुपरे पनि उनी तयार देखिन्छन्। पक्षमा मतदान गर्न एमालेको सर्त गठबन्धन छाड्नुपर्ने छ। यो बेलामा एमसिसी पारित गर्न माओवादी केन्द्रले सहयोगी भूमिका नखेले गठबन्धन भत्कने पक्कापक्की छ। तर प्रचण्डमा भने एमसिसी असफल बने पनि गठबन्धन भने कायमै रहनेमा अस्वाभाविक आत्मविश्वास देखिन्छ।

तर उनकै पार्टीका नेताहरू भने तत्काल सरकार छाड्नुपर्ने पक्षमै छन्। माओवादी केन्द्रका सचेतक देव गुरुङले माओवादी केन्द्रले जुनसुकै बेलमा सरकार छाड्ने बताउँछन्।

एमसिसी टेबल भए सरकारमा नबस्ने भन्नुहुन्थ्यो अब कहिले सरकार छाड्नुहुन्छ भन्ने प्रश्नमा सचेतक गुरुङ भन्छन्,‘सरकारको बारेमा पार्टीले निर्णय गरिसकेको छ। त्यो भनेको सरकारबाट हट्ने हो। कुन दिन हट्ने, कुन दिन नहट्ने आवश्यकता अनुसार जुनसुकै दिनमा निर्णय गर्छ।’

माओवादी स्रोतका अनुसार पार्टीबाट सरकारमा गएकाहरूलाई पनि गुरुङकै शैलीमा निर्देशन गइसकेको छ। एक मन्त्रीका अनुसार पार्टी जुनसुकै बेला सरकारबाट हट्न सक्ने भन्दै मानसिक रूपमा तयार रहन मन्त्रीहरूलाई निर्देशन गइसकेको छ। माओवादी सरकारबाट बाहिरिँदा कांग्रेसले एमसिसी पास गराउन एमालेको सहयोग लिनै पर्ने अवस्था छ।

एमालेको सहयोग लिन गठबन्धन नभत्काई एमाले अध्यक्ष केपी ओली सहमत हुने देखिन्न।

एमसिसीको विपक्षमा मत दिन्छु पनि भन्ने अनि आगामी निर्वाचनमा अहिलेकै गठबन्धन कायम राख्नुपर्ने माओवादी केन्द्रको धारणाले कांग्रेसका नेताहरू उल्टो रिसाइरहेका छन्।

‘हामीले पहिलेदेखि भन्यौँ नेपालका कम्युनिस्ट पार्टीहरू जिम्मेवार छैनन् उहाँहरू द्वैध मनस्थितिमा हुनुहुन्थ्यो भन्ने हाम्रो पहिले देखिको विश्लेषण हो,’ कांग्रेस सांसद एवं केन्द्रीय सदस्य सञ्जय गौतमले भने।

उनले माओवादी केन्द्रसँग सत्ता सहयात्रा गर्नु बाध्यता रहेको तर आगामी निर्वाचनमा गठबन्धन गर्न बाध्यता नभएको बताए। माओवादी केन्द्रका नेता हितबहादुर तामाङको धारणा भने गुरुङको भन्दा भिन्न आयो। उनले एमसिसी र सरकारमा सहयात्रालाई अलग दृष्टिले हेर्नुपर्ने तर्क गरे।

एमसिसी र सरकार फरक पाटो भएको दाबी गर्दै उनले भने 'एमसिसी पास गर्ने सर्तमा गठबन्धन गरिएको हैन।' उनको लाइन प्रचण्डसँग मिल्यो।

उनले भातृ सङ्गठनले सडक प्रदर्शन पार्टीको आदेशले नगरेको भन्दै सडक आन्दोलनको समेत बचाउ गरे। आवश्यक परे आन्दोलन नगर्न निर्देशन दिन सकिने तामाङको भनाइ छ।

‘आन्दोलनले ठुलो असर पार्न आँट्यो, शान्ति सुरक्षामा समस्या हुन लाग्यो भने पार्टीले अध्ययन गरेर उपयुक्त निर्णय लिन सक्छ,' उनले भने।

आन्दोलनरत वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा भने माओवादीकै कारण एमसिसी रोकिएको दाबी गर्छन्। माओवादीले सडक, सदन र सरकारका ३ वटै मोर्चाबाट एमसिसिको विपक्षमा लड्ने उनले बताए।

‘केही शक्ति एमसिसि पारित गर्ने, गठबन्धन टुटाउने र माओवादीलाई अलगावमा पार्दै चुनावमा लगेर राजनीतिक हत्या गर्ने योजनामा छन्, भ्रमित नहोऔँ,’ उनले दाबी गरे। 

राजनीतिक विश्लेषक महेश भट्टराई माओवादी केन्द्रका तल्लो तहका कार्यकर्तामा पनि अहिलेको गठबन्धन जोगियोस् भन्ने रहेको बताउँछन्। एमसिसीको विपक्षमा देखिएको जनमत आकर्षित गर्न माओवादी अहिले विपक्षमा उभिएको उनको मत छ।

‘माओवादीका तल्ला तहका कार्यकर्तालाई पनि सत्ता गठबन्धन जोगाउन पाए हुन्थ्यो भन्ने छ। एमसिसी जे सुकै होस् भन्ने छ,’ विश्लेषक भट्टराई भन्छन्'चुनावको मुखमा सत्ता छाड्दा जिरो भइन्छ, हिजो पनि कांग्रेस र एमालेको साथमा हैसियत जोगाएको हो। त्यही साख जोगाउन पनि उनीहरूले हरेक खालका हत्कण्डा, वक्तव्यवाजी र राजनीतिक चरित्र देखाइरहेका छन्।’

फागुन १०, २०७८ मंगलबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।