लागु औषध मुद्दामा ५० हजार धरौटीमा छुटे र्‍यापर ‘लाउरे’, अन्य गए जेल

लागु औषध मुद्दामा ५० हजार धरौटीमा छुटे र्‍यापर ‘लाउरे’, अन्य गए जेल

पोखरा : लागूपदार्थसम्बन्धी मुद्दामा हिरासतमा रहेका चर्चित र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा छुटेका छन्। मङ्गलवार कास्की जिल्ला अदालत न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई ५० हजार धरौटीमा रिहाइ गर्न आदेश दिएको हो।

लाउरेसँगै पक्राउ परेका अन्य तीन जना भने पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। खैरो हेरोइनसहित पक्राउ परेका लाउरेको जिल्ला अदालत कास्कीमा सोमबार बयान भएको थियो। बयान सकिएपछि थुनछेकको बहसमा उनलाई धरौटी मागेको हो।

र्याप ब्याटलबाट उदाएका ‘लाहुरे’ ब्राउन सुगरसँगै पतन

गत पुस १४ गते साँझ सिर्जना चोकबाट प्रहरीले ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८ सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगरसहित पक्राउ गरेसँगै अदालतले प्रहरीलाई पहिलो पटक आठ दिन, दोस्रो पटक १७ र तेस्रो पटक थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

प्रहरीले पक्राउ गरेपछि सुस्मिताको पोखरा सभागृह नजिकै रहेको कोठा खानतलासी गर्दा  थप १२.५० ग्राम ब्राउन सुगर भेटिएको थियो।

रियालिटी सो हिमालय रोडिजका जज समेत रहेका लाउरे ‘रअ बाज’ र्याप ब्याटलपछि चर्चामा आएका थिए। पछि उनले 'लाहुरे', 'मेरो सोल्टा', 'हाउडे', 'केस नं ४२०', 'पोखरा', 'चुप लाग चुप', लगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय भएका थिए।

फागुन १०, २०७८ मंगलबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।