महन्थ नेतृत्वको लोसपा पनि फुट्यो, वृषेशलाल समूह लाग्यो तमलोपामा

महन्थ नेतृत्वको लोसपा पनि फुट्यो, वृषेशलाल समूह लाग्यो तमलोपामा

जनकपुरधाम : जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी पनि विभाजित भएको छ। पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल समूहले लोसपा छाडेका हुन्।

उनीहरूले मङ्गलवार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर लोसपा परित्याग गरेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताए। तमलोपा महन्थ ठाकुरको नेतृत्वमा मधेस आन्दोलनताका दर्ता भए पनि पछि एकिकरणहुँदै गएर जनता समाजवादी पार्टी भएको थियो। पछि यो पनि विभाजित भएर लोसपा भएको थियो।

लोसपामा रहेका लालसँगै मङ्गलवार संविधानसभा सदस्य डा. विजय कुमार सिंह, रामजी राय, सतिश लाल दास, राज किशोर मण्डल, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, धिरेन्द्रबहादुर सिंह, विन्दु देवी, पनि तमलोपामा सहभागी हुने घोषणा गरे।

लालले पार्टीको नेतृत्वले जनताको विद्रोहपूर्ण सङ्घर्षको ऐतिहासिक अजेन्डालाई थाम्ने सामर्थ्य नदेखाएकाले पार्टी छाडेको बताएका थिए।

मधेसमा स्वशासन र सङ्घीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दल आवश्यक भएको उनले दाबी गरे।

ठाकुर नेतृत्वको तमलोपाले राष्ट्रिय जनता पार्टीमा परिवर्तन भएपछि जनकपुरधामका शिवशङ्कर लाल कर्णले तमलोपा दर्ता गराएका थिए। तमलोपा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा समेत दर्ता भइसकेको छ।

फागुन १०, २०७८ मंगलबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।