असिना-पानीले पोखरा क्षेत्रमा ११ करोडभन्दा बढीको क्षति
पोखरा : आइतबार दिउँसो परेको असिना-पानीले पोखरा क्षेत्रमा ११ करोडभन्दा बढीको क्षति पुर्याएको छ। हावाहुरीसहित अकस्मात परेको बाक्लो असिना-पानीले कृषकले लगाएको तरकारी तथा फलफूलसहित बाली-नाली नष्ट गरेको छ भने केही पशुपक्षी समेत मरेका छन्।
असिना-पानीका कारण पोखरामा करिब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताए।
पोखराका वडा नम्बर ३, ९, ११, १२, १३, १४ र १८ मा बढी क्षति पुगेको उनको भनाइ छ। असिना-पानीले तोरी, गहुँ, फापर, घाँस, विभिन्न जातका फलफूल, काउली, साग, आलु, घिँरौला, काँक्रो, प्याज, लसुन लगायत खेतीमा क्षति पुगेको छ।
कडरियाले कृषकहरुले पशुपक्षी र कृषि फर्महरुको बिमा नगरेका कारण आर्थिक नोक्सानी ब्यहोर्नुपरेको बताए।
असिनाका कारण पोखरा-११ मा फलमान गुरुङको ‘उदय अर्गानिक कृषि फार्म’का २ वटा भैँसी मरेका छन्। भैंसीका लागि बनाइएको गोठको छानोमा असिना थुप्रिएर छाना खसेर किच्दा २ वटा भैँसी मरेका हुन्।
पोखरा- ११ का अर्का कृषक मेकबहादुर गुरुङले सञ्चालन गर्दै आएको ‘दीपगंगा कृषि फार्म’ असिना-पानीले भत्किंदा २ वटा भैंसी घाइते भएका छन्। नर्सरी र कृषि गरी फार्ममा करिब १५ लाखको क्षति पुगेको गुरुङले बताए।
त्यसैगरी कृषकहरुले तरकारी खेतीका लागि निर्माण गरेका टनेलहरु भत्किएर ठूलो क्षति पुगेको छ। केहरमान गुरुङले पोखरा-११ मा सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीको ४ रोपनी क्षेत्रफलको टनेल भाँचिदा २० लाख रुपैयाँको क्षति पुगेको बताए।
असिनाले किसानले लगाएको हिउँदे तरकारी बालीका साथै नगदे बाली काउली, आलु, साग, तोरी लगायतमा ठूलो क्षति पुर्याएको बिरौंटाकी सरिता केसीले बताइन्। उनले भनिन्, ‘असिना-पानीका कारण ठूलो क्षति भएपछि किसानहरु मर्कामा परेका छन्। कृषकलाई सरकारले समयमै उचित राहतको व्यवस्था गर्नुपर्छ। बिउ-बिजन र मलजलमा राहत दिनुपर्छ।’
पोखरा क्षेत्रमा २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ। फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ।
पोखरामा गते आइतबार दिउँसो भिषण असिना-पानी परेको थियो। असिना-पानीले पोखराको सडक समेत लामो समयसम्म अवरुद्ध भएको थियो।
पोखराको न्युरोड, चिप्लेढुंगा, नदिपुर, फूलबारी, बगर, पृथ्वीचोक, बिरौटा, अमरसिंह चोक लगायतका ठाउँहरुमा बाक्लो असिना जमेकाले सवारी साधनहरु रोकिएका थिए। महेन्द्रपुलका सडकमा असिनाको थुप्रो लागेकाले जोडर नै प्रयोग गरेर सडक खुलाइएको थियो।
फागुन १०, २०७८ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।