पोखरा क्षेत्रमा असिना पानीले ११ करोडभन्दा बढीको क्षति, कसैको भैंसी मरे कसैको टनेल भाँचियो
पोखराः पोखरा क्षेत्रमा आइतबार दिउँसो परेको असिना पानीले ११ करोडभन्दा बढीको क्षति पुर्याएको छ। हावाहुरीसहित आकस्मात परेको बाक्लो असिना पानीले कृषकहरूले लगाएको तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट गरेको छ भने केही पशुपक्षी समेत मरेका छन्।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार आइतबारको असिना पानीले करिब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। पोखराका वडा नम्बर ३, ९, ११, १२, १३, १४ र १८ मा बढी क्षति पुगेको उनको भनाइ छ।
असिना पानीले तोरी, गहुँ, फापर, घाँस, विभिन्न जातका फलफूल, काउली, साग, आलु, घिंरौला, काँक्रो, प्याज, लसुन लगायतमा क्षति पुगेको छ। कडारियाले कृषकहरूले पशुपक्षी र कृषि फर्महरूको बीमा नगरेका कारण आर्थिक नोक्सानी ब्यहोर्नु परेको बताए।
असिनाका कारण पोखरा–११ मा फलमान गुरुङको ‘उदय अर्गानिक कृषि फार्म’का दुई वटा भैंसी मरेका छन्। भैंसीका लागि बनाइएको गोठको छानोमा असिना थुप्रिएर छाना खसेर किच्दा २ वटा भैंसी मरेका हुन्।
यस्तै पोखरा- ११ कै मेकबहादुर गुरुङले सञ्चालन गर्दै आएको ‘दीपगंगा कृषि फार्म’ असिना पानीले भत्किँदा दुई वटा भैंसी घाइते भएका छन्। नर्सरी र कृषि गरी फार्ममा करिब १५ लाखको क्षति पुगेको गुरुङले बताए।
यस्तै तरकारी खेतीका लागि निर्माण गरेका टनेलहरू भत्किएर ठूलो मात्रामा क्षति पुगेको छ। केहरमान गुरुङले पोखरा–११ मा सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीको चार रोपनी क्षेत्रफलको टनेल भाँचिदा २० लाख रुपैयाँको क्षति पुगेको बताए।
असिनाले किसानले लगाएको हिउँदे तरकारी बालीका साथै नगदे बालीमा पनि ठूलो क्षति पुर्याएको विरौंटाकी सरिता केसीले बताइन्। उनले भनिन्, ‘असिना पानीका कारण ठूलो क्षति भएपछि किसानहरू मर्कामा परेका छन्। कृषकलाई सरकारले समयमै उचित राहतको व्यवस्था गर्नुपर्छ। बीउबिजन र मलजलमा राहतको व्यवस्था गर्नुपर्छ।’
पोखरा क्षेत्रमा दुई हजार एक सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ। फलफूल तीन सय २० हेक्टर क्षेत्रफलमा, आलु एक हजार दुई सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ।
पोखरामा आइतबार दिउँसो भीषण असिना पानी परेको थियो। असिना पानीले पोखराको सडक समेत लामो समय अवरुद्ध भएको थियो। पोखराको न्यूरोड, चिप्लेढुंगा, नदीपुर, फूलबारी, बगर, पृथ्वीचोक, विरौंटा, अमरसिंह चोक लगायतका ठाउँमा बाक्लो असिना जमेकाले सवारी साधनहरू रोकिएका थिए।
महेन्द्रपुलका सडकमा असिनाको खात लागेकाले जोडर नै प्रयोग गरेर सडक खुलाइएको थियो।
फागुन १०, २०७८ मंगलबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।