ह्यापी ब्याड डे पल शाह : जन्मदिनमै खुल्यो नायकको खलनायक चरित्र

 ह्यापी ब्याड डे पल शाह : जन्मदिनमै खुल्यो नायकको खलनायक चरित्र

काठमाडौँ : आज चलचित्रका नायक पल शाहको जन्मदिन। आजै नायकको आवरणमा लुकेको उनको खलनायक चरित्र उदाङ्गो बनायो सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अडियोले। 

धेरै भयो पल र नाबालिग गायिका समीक्षा अधिकारीको सम्बन्धबारे चर्चा सुरु भएको। यी दुवैको सम्बन्धमा उतारचढाव आइरहे। विद्यालयमा गीत गाएको भिडियो क्लिप सार्वजनिक भएसँगै सङ्गीतकारको नजरमा परेको समीक्षाले सानै उमेरमा सुरिलो स्वरका कारण श्रोताको मनमा बस्न सफल भइन्। आफूले गाएको गीतको म्युजिक भिडियोमा आफैँ अभिनय गर्ने शौक पुरा गर्नेक्रममा पलसँगको भेट भने उनको करिअरका लागि मात्रै हैन व्यक्तिगत जीवनका लागि समेत घातक भयो।

कलिलो मस्तिष्कलाई प्रभावमा पारेर नाबालिगसँग प्रेम सम्बन्ध बनाएका नायक पलपछि टाढा हुन थालेपछि यी दुवैको सम्बन्धमा खटपट सुरु भयो। खटपट सामाजिक सञ्जालमा पोखिदा समाचारमा विषय बन्यो। १८ वर्षभन्दा कम उमेरको सहमति पनि शारीरिक सम्बन्ध हुनु भनेको अपराध हो। नायकको छविमा रहेका पलले त्यो वास्ता गरेनन्।

सार्वजनिक भएको समीक्षाको अडियोमा उनले दाबी गरे अनुसार पल उनको धेरै पछि लागेपछि उनको मनमा पनि माया पलायो। दुवैको सम्बन्ध सुमधुर रूपमा अगाडि बढ्दै गएको थियो। तर एकाएक पलले मेरो अर्कै गर्लफ्रेन्ड छ जे हुनु भइगयो भनेपछि कलिलो मन नराम्ररी भाँचियो। अनि उनीहरूको सम्बन्ध बजारमा छताछुल्ल भयो।

अडियो अनुसार पलले धोका दिएपछि समीक्षाले कानुनी उपचार खोज्ने प्रयास नगरेकी हैनन्।  उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा गएर त्यहाँका प्रहरी प्रमुखसँग पनि भेटिन्। उनी कानुनी प्रक्रियामा जाने तयारीकै क्रममा काठमाडौँबाट एक हुल पत्रकार पोखरा पुगेर उजुरी गर्दा त्यसले उनको करिअरमा पर्न सक्ने नकारात्मक प्रभाव देखाउँदै उनलाई तत्काल उजुरी दिनबाट ब्याक गराएर काठमाडौँ फर्किए। स्रोतको दाबी पत्याउने हो भने यसका लागि पलले सात लाख बढी खर्च गरेका थिए।

पल-समीक्षाको अडियो अनि च्याटहरू बाहिरिने तयारीमा रहेकै बेला पलका म्यानेजर समीक्षाको व्यक्तिगत जीवन छताछुल्ल बनाउने अडियो र च्याटको रेकर्ड बोकेर केही सञ्चारकर्मीमाझ पुगेका थिए। घटना बढ्दै गएपछि पल समीक्षाको परिवारसँग भेटेर कानुनी रूपमा समीक्षाको विवाह योग्य उमेर भएपछि विवाह गर्ने मौखिक वाचा गरेर फर्किएका थिए।

तर यो सबै प्रकरणबारे जानकार श्रोत पलको समूह सहमतिमै सम्बन्ध हुँदा पनि बलात्कार ठहरिने समीक्षाको उमेर पार हुने प्रतीक्षामा छ।

सार्वजनिक भएका २ अडियोमध्ये एकमा समीक्षाले पलसँगको आफ्नो सम्बन्धबारे कसैसँग विस्तृतमा कुरा गरेकी छिन्। अर्कोमा पल र समीक्षाबिचको झगडा मिलाउन मध्यस्थता गरिरहेको समूहमा पल र समीक्षाले गरेका कुराकानी छ।

तर पल ती अडियो फिल्मको अभ्यास गर्नेक्रममा डायलग हुन् भन्ने दाबी गरिरहेका छन्। अडियो सुन्दा उनले सरासर झुट बोलेको प्रस्टै हुन्छ। उनले आफ्नो अडियो रेकर्ड नै हैन कि भन्ने शङ्का लागेको समेत दाबी गरेका छन् फेसबुक स्ट्याटसमा। यदी उनको दाबी सत्य हो भने अपिल जारी गर्ने हैन जाहेरी बोकेर प्रहरी कार्यालय पुग्नुपर्ने हो। तर उनी यस विषयलाई प्रहरी कार्यालयमा पूर्याउने मुडमा देखिएका छैनन्।

एक वयस्क उमेरका कलाकारले नेम र फेमको आधारमा उदाउँदै गरेकी एक नाबालिग उमेरकी गायिकालाई गरेको व्यवहारले मनोरञ्जन क्षेत्रमा रहेकाहरू कस्तासम्म छन् भन्ने प्रस्टिएको छ। जन्मदिनको दिन यी सबै प्रकरण बाहिर आउँदा नायक शाहलाई पक्कै दुख लागेको होला। तर फल्ने त जे रोप्यो त्यही त हो। पर्दामा नायकको अभिनय गरे पनि व्यवहार खलनायक भएपछि कसको के लाग्छ र!

 यो घटनाले नेपाली चलचित्र क्षेत्रको एक अनुहार सार्वजनिक गर्यो नै। सँगै नेपालको रङ्ग पत्रकारहरूमा मौलाएको सिन्डिकेट पनि छताछुल्ल भएको छ। एक वयस्क उमेरको कलाकारले एक नाबालिगलाई मायाको ट्र्यापमा पारेर होस्टायल बनाइरहँदा त्यसलाई सार्वजनिक गर्नुको साटो केही रङ्ग पत्रकारहरू उल्टो समझदारी गर्न मध्यस्थता गरेको घटनाले रङ्ग पत्रकारितामा मौलाएको कालो रङ समेत सार्वजनिक गरेको छ।

फागुन १०, २०७८ मंगलबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।