प्रदेश १ को नाम ‘किराँत–लिम्बुवान–मधेश–शेपालुङ प्रदेश’ राख्न जसपाको प्रस्ताव
काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किराँत–लिम्बुवान–मधेश–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ। जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा राखिनुपर्ने बताउँदै यस्तो प्रस्ताव गरेको हो।
जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्ने बताएका छन्।
जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेश प्रदेशमा कार्यान्वयन समेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ।
आज नै प्रदेश नं १ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। मुख्यमन्त्रीको कार्यालय विराटनगरमा बस्ने सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, संसदीय दलका नेताहरू सहभागी हुँदैछन्।
फागुन १०, २०७८ मंगलबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।