पूर्वी युक्रेनमा सेना पठाउन पुटिनको आदेश, संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक बस्दै
पूर्वी युक्रेनको लुहान्स्क र डोनेस्कमा 'शान्ति कायम गर्ने' रुसी राष्ट्रपति पुटिनले जारी गरेको आदेशमा उल्लेख छ। लुहान्स्क र डोनेस्क पूर्वी यक्रेनका क्षेत्र थिए। केही घण्टाअघि मात्र रुसले यी क्षेत्रलाई स्वतन्त्र राष्ट्रको रूपमा पहिचान गरेको छ।
रुसको यो कदमपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ।
यता अमेरिकाले पुटिनको यो कदम युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हनन् भएको भन्दै थप नाकाबन्दी गर्ने तयारी गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जनसनले पनि सरकारको आपत्कालीन कमिटीको बैठक राखेर थप नाकाबन्दी गर्ने तयारी गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीले भने युक्रेनको अन्तर्राष्ट्रिय सीमा अपरिवर्तित हुने बताएका छन्। पुटिनले लुहान्स्क र डोनेस्कलाई छुट्टै राष्ट्रको रूपमा पहिचान गरे पनि यसको प्रतिवाद गर्दै जिलेन्स्कीले युक्रेनको सीमामा कुनै पनि परिवर्तन नआउने प्रष्ट पारेका हुन्।
यता पुटिनले दुई क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने काम निकै अघि गर्नुपर्ने बताउँदै युक्रेनलाई यी क्षेत्रमाथि शत्रुतापूर्ण व्यवहार नगर्न चेतानवी दिएका छन्। यस्तै उनले भनेका छन्, " अन्यथा, सम्भावित रक्तपातको जिम्मा युक्रेनको शासकमाथि आइपर्नेछ।'
फागुन १०, २०७८ मंगलबार ०९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।