'भिजिट भिसामा विदेश पठाएर पछि वर्किङ भिसामा कन्भर्ट गरिनु गैरकानूनी हो'
काठमाडौंः कोरोना सङ्क्रमणको जोखिम रहेको बेला एक महिनामा १५ हजार नेपाली घुम्न भनेर यूएईको भिसा लिएर गए। विमानस्थलमा रहेका गृहअन्तर्गतको अध्यागमन विभाग अनि वैदेशिक रोजगार विभागको श्रम डेस्कले देखेको नदेख्यै गरे।
केही वैदेशिक रोजगार व्यवसायीको श्रममन्त्री र गृहमन्त्रीसँगको कनेक्सनबारे चर्चा भइरहेको छ। केही तथ्य आएका पनि छन्। यी लगायतका विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलसँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी:
भिजिट भिसामा दुबई लगेर काम लगाइदिन्छु भन्दै कामदार ठगिन थालेछन्। विभागमा उजुरी पनि आएका छन्। गृहले बनाएको छानबिन समितिको सदस्य पनि हुनुहुन्छ। खास यो समस्या कसरी बल्झियो?
भिजिट भिसामा दुबईमा लगेर काम लगाइदिन्छु भनेर, व्यक्ति, मेनपावर व्यवसायी, ट्राभल एजेन्सी, होटल लगायतका सञ्चालकले भिजिट भिसा बाड्न थालेछन्। अहिले दुबईमा यूएई एक्सपो चलिरहेकाले सहजै भिसा दिएको छ। यसैको चरम दुरुपयोग भएको हो।
अर्काे, भिजिट भिसामा दुबई गएकाहरूलाई सुरुमा त वर्किङ भिसामा कन्भर्ट पनि सजिलै गरिदिए। त्यसपछि थेगिनसक्नु कामदारको ओइरो लाग्न थाल्यो। अनि समस्या बल्झिएको हो। कामदार ठगी पर्नुको अर्काे कारण, भिजिट भिसामा गएपछि काम गर्न पाइँदैन भन्ने थाहा छ। त्यो थाहा भइभई धेरै पैसा किन दिने? कामदारको पनि कमजोरी देखिएको छ।
सजिलै कन्भर्ट गरिदिने भन्दैमा भिजिट भिसामा विदेश पठाएर पछि वर्किङ भिसामा कन्भर्ट गरिनु हाम्रो लागि गैरकानूनी हो। त्यसैले त भिजिट भिसा रोकिएको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले त भिजिट भिसामा दुबई गएकालाई उतै सेटल गराउन राजदूतलाई दबाब दिएको बाहिरिएको थियो। गैरकानूनी भइभई मन्त्रीले नै किन सेटल गराउने भन्नुभएको होला?
व्यावहारिक रूपमा पैसा खर्च गरेर गइसकेपछि उतै काम गर्न पाउन् भन्ने उहाँको उद्देश्य होला भन्ने मैले बुझेको छु। मन्त्रीज्युले अन्य उद्देश्यले भन्नुभयो भन्ने मलाई लाग्दैन।
श्रममन्त्रीकै मिलमतोमा भिजिट भिसामा दुबई पठाउने र केही प्रतिशत रकम मन्त्रालय लगायत विभागमा आउने गरेको खुलासा भएको छ नि!
यस्तो त होइन। मन्त्रीज्युले हामीलाई मजाले काम गर्नुस् कुनै रोकतोक छैन भन्नुभएको छ। मलाई रोकतोक पनि आएको छैन।
गृह मन्त्रालयले अस्वाभाविक रूपमा भिजिट भिसामा जानेको संख्या बढेपछि छानबिन समिति बनाएको थियो। त्यो समितिको सदस्य तपाईं पनि हुनुहुन्छ। किन मेनपावर व्यवसायीले समेत भिजिट भिसामा दुबई पठाएका प्रतिवेदन सार्वजनिक भएको छैन?
केही दिनमा हामीले प्रतिवेदन बुझाउँछौँ। पहिले कुरा विदेशमा काम गर्न जाँदा लाग्ने प्रक्रिया एकदमै झन्झटिलो छ। यो झन्झटिलो प्रक्रियाले गर्दा कामदारले पनि छिटो काम हुन्छ भने किन भिजिट भिसामा नजाने भनेर गएको देखियो। मलाई लाग्छ हाम्रो नीतिमा नै परिर्वतन गर्नुपर्छ।
प्याराडाइज इन्टरनेशनल प्राली लगायतका मेनपावरले रकम व्यक्तिको खातामा जम्मा गराउने अनि वर्किङ भिसामा दुबई पठाउँदा समेत ठगी गरेको पाइयो। पीडितका अनुसार विभागका कर्मचारीले प्याराडाइज कम्पनी ‘पावरफुल’ व्यक्तिको भएको कारण कारबाही हुँदैन भन्नुभएछ। विभागले नै ठगी गर्ने मेनपावर कम्पनीलाई संरक्षण गर्छ हो?
ठगी गर्ने कुनै पनि मेनपावर कम्पनीलाई विभागले छाड्दैन। कारवाहीको दायरामा ल्याएकै छ। विभागका कर्मचारीले त्यसो भन्न मिल्दैन। हामीले कुनै पनि मेनपावर कम्पनीलाई संरक्षण गरेका छैनौँ।
फागुन ९, २०७८ सोमबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।